सुरुङमार्ग सञ्चालन, मर्मत र टोल दस्तुर उठाउने जिम्मेवारीसहित आयोजनाले एकवटा सेवाप्रदायक छनौट गर्ने प्रक्रिया अघि बढाएको थियो ।
आयोजनाले गत पुस ३० गतेसम्म आवेदन दिन सकिने गरी सूचना प्रकाशित गरेकोमा विभिन्न १० कम्पनी तथा संयुक्त उपक्रम (जेभी) बाट आवेदन परेको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।

उनका अनुसार, आवेदन दिएकामध्येबाट प्राविधिक र आर्थिक प्रस्ताव हेरेर एकवटा कम्पनी छनौट गरिनेछ । जनवरीभित्र सेवाप्रदायक कम्पनी छनौटका काम टुंग्याउने उनले बताए ।
४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७६ कात्तिक ४ गतेदेखि निर्माण सुरु भएको सुरुङमार्ग निर्माण भने विभिन्न कारण ढिलाइ भइरहेको छ । नेपाल सरकारको ६ अर्ब र जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा सुरुङमार्ग निर्माण गर्न थालिएको थियो । हालसम्म आयोजनाको ९७ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।
कुन–कुन कम्पनीले हाले आवेदन
आयोजनाले गत नोभेम्बर २ अर्थात २०८२ कात्तिक २ मा सेवाप्रदायक छनौट गर्न पहिलो पटक आवेदन खुला गरेको थियो । यसमा अनुभवी सेवा प्रदायक कम्पनीहरुले आवेदन बुझाउन सक्ने व्यवस्था गरिएको थियो । आवेदन बुझाउने म्याद सुरुमा १७ डिसेम्बर कायम थियो । पछि, म्याद पुनः विस्तार गरी २०२६ जनवरी १४ अर्थात २०८२ पुस ३० गतेसम्म पुर्याइएको थियो ।
उक्त अवधिमा विभिन्न १० वटा कम्पनी तथा संयुक्त उपक्रम(जेभी) बाट आवेदन परेको छ । आवेदन दिनेहरुमा काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि र गान्सु हेङतोङ रोड एन्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेडको जेभी(काष्ठमण्डप–गान्सु हेङतोङ), कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालिको (केएसएनएस–अल्टिनोक–बीसीपीएल जेभी), सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र स्वच्छन्द निर्माण सेवा प्रालिको जेभी (सेग्मेन्टल–स्वच्छन्द) जेभी रहेका छन्।
यस्तै, बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स संयुक्त उपक्रम (बावरी कन्स्ट्रक्सन प्रालि, एसएक्सआरबी–ब्राइट बुल जेभी (सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड र ब्राइट बुल निर्माण सेवा), जेटीसीजी–दान्फे जेभी (जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि)र टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड) तथा ईएमएसएल–पीएससीपीएल जेभीले पनि आवेदन दिएका छन ।
चौथोपटकको म्याद बैशाखसम्म, सञ्चालनमा आउँला ?
आयोजनाका अनुसार, यसअघि तेस्रो पटक थपिएको म्याद गत २०८२ कात्तिक १२ गतेसम्म थियो । त्यसअवधिसम्म आयोजनाको निर्माण सम्पन्न हुन नसकेपछि थप ६ महिना म्याद थप गरिएको छ ।
चौथो पटक थपिएको ६ महिनाको म्याद आगामी बैशाख अर्थात २०२६ अप्रिल भित्र सकिँदैछ । आयोजनाको सम्पूर्ण काम आगामी बैशाखभित्र सम्पन्न गरेर सुरुङ सञ्चालनमा ल्याउने योजना रहेको सिनियर डिभिजनल इन्जिनियर पन्थीले बताए ।
उनका अनुसार, नागढुंगा सुरुङ आयोजनाको पश्चिम खण्डमा पहिरो रोक्नेलगायतका काम सुरु भइसकेका छन् । तीसहित बाँकी फिनिसिङका काम २-३ महिनाभित्र सम्पन्न हुने उनको भनाइ छ ।
‘आगामी अप्रिलसम्म सम्पूर्ण काम सकेर सुरुङ आयोजना सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘त्यसअनुसार, आयोजनाको पश्चिमखण्डमा पहिरो रोकथामका लागि काम सुरु भइसकेको छ ।’ पहिरो हटाएर सिस्नेखोलामा तीनवटा टोल प्लाजा बनाइनेछ ।
निर्माणकर्ता जापनीज कम्पनी हाज्मा आन्दो कर्पोरेसनले कोरोना महामारीलगायतका कारणले विगतमा तीन–तीन पटक म्याद थप गरे पनि निर्धारित अवधिमा आयोजना सम्पन्न गर्न भने सकेको छैन् । बरु उल्टै, सुरुङमार्गको डिजाइन परिवर्तन, स्थानीयको अवरोध र डलरको भाउ वृद्धि भएको भन्दै निर्माण कम्पनीले क्षतिपूर्ति माग दाबी गरेको छ ।