उनले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गरे । विशेष महाविधशनले गरेको निर्णय अनुरुप आयोगले अद्यावधिक गर्नुपर्ने उनको भनाई छ । उनले काँग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धि कुनैपनि कानून आकर्षित नहुने उल्लेख गरे । विशेष महाधिवेशन प्रतिनिधिहरुले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उनको भनाई छ । उनले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाए । उनले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरु पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनितिक चरित्र भएको बताए। आयोगले निष्पक्ष रुपमा निर्णय गर्ने उनको विश्वास छ । उनले विधानअनुरुप नै महामन्त्रीको हैसियतले आफूहरुको विशेष महाधिवेशन गरेको बताए ।
उनले भने, ‘यो अहिले भएको प्रक्रियालाई नै लोकतन्त्र माथीको षड्यन्त्रको संज्ञा दिँदै गरेको देख्दाखेरी दुख व्यक्त गर्न चाहन्छु । किनभने विशेष महाधिवेशन भुँई तहका सदस्यहरुको, प्रतिनिधिहरुको सार्थक, वैधानिक र लोकतान्त्रिक प्रक्रिया हो । यसमा अलिकति भ्रम परेको जस्तो लाग्यो । यसलाई स्पष्ट गर्न चाहन्छु । किनभने केही बेर अगाडी पार्टी केन्द्रिय समितिको केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दैगर्दापनि निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने देशभर आन्दोलन गर्छौं भन्ने प्रकृतिको अभिव्यक्ति आएको छ । निर्वाचन आयोगले विधिसम्वत ढंगले नै निर्णय गर्दछ । विधिमा विश्वास गर्ने नेपाली काँग्रेस पार्टीले यसप्रति भरोसा गर्नुपर्छ । त्यो भ्रमका साथ आयो कि भन्ने लाग्छ, दल विभाजन भयो । दल विभाजन भईसकेपछि दाबी गर्न जानुपर्छ भन्ने लागेजस्तो लाग्यो । यद्यपि यो विभाजन भएको होइन । पार्टीको विधिसंवत प्रक्रियाबाट भएको विशेष महाधिवेशन हो । त्यसैले यसमा दल विभाजन सम्बन्धि कुनैपनि दफाहरु आकर्षित हुँदैन । हामीले विधिसंवत प्रक्रियाले विशेष महाधिवेशन गरेका छौँ । विशेष महाधिवेशनले केही नितिगत निर्णय गरेको छ । नेतृत्व परिवर्तन गरेको छ । त्यसलाई अद्यावधिक गर्नको लागी मात्रै हामी निर्वाचन आयोग आएका हौँ ।’
उनले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालिन कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गराए। नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उनको भनाई छ । नियमित अधिवेशन नभएपछि विशेष अधिवेशनको आह्वान आफूहरुले गरेको उनले बताए । विधान कार्यन्वयनको लागि पनि विशेष महाधिवेशन आवश्यक भएको उनले बताए।