यसअघि शाहले आजै मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिन लागेको उनी निकट स्रोतहरूले बताएका थिए। तर, उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी प्रावधान र वर्तमान राजनीतिक अस्थिरताका कारण उनले अन्तिम समयमा राजीनामा रोकेका हुन्।
शाह निकट एक नेताका अनुसार, नेपाली काँग्रेस अदालत गएको र निर्वाचन सर्ने वा अन्य कुनै प्राविधिक कठिनाइ आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो। "राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने भन्न खोजिएको होइन, तर अहिलेको अनिश्चितताका कारण अन्तिम समयसम्म होल्ड गर्ने नीति लिइएको हो," ती नेताले भने।
निर्वाचन आयोगले आगामी माघ ६ गतेका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने तयारी गरेका शाहले उम्मेदवारी दर्ताको दिनसम्म पर्खने रणनीति बनाएका हुन्।
यसैबिच, रास्वपाले आफ्ना उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन आज दिउँसो २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ। मेयर शाह राजीनामा नदिई नै दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ।
पार्टी कार्यालयमा अहिले नेता तथा कार्यकर्ताहरूको उल्लेख्य भिड लागेको छ। बैठक सकिएपछि आजै साँझ ५ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। रास्वपाले यस पटकको निर्वाचनमा बालेन शाहलाई प्रभावशाली उम्मेदवारको रूपमा अघि सार्दै झापा–५ मा कडा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।