चुनावी माहोलले बढाउनै सकेन अटोमोबाइल बजार, नयाँ किन्नेभन्दा भाडाका गाडीमा बढ्दो आकर्षण

Jan 31, 2026 11:19 AM Merolagani



हरिप्रसाद शर्मा

विगतमा देशभित्र चुनावी माहोल सुरु हुँदा बढ्ने गरेको नेपालको अटोमोबाइ बजार यसपाली भने उत्साहजनक रुपमा बढ्न सकेको छैन् । 

चुनावका बेला आम नेता, कार्यकर्ता र उम्मेदवारहरुले प्रचार प्रसार, ढुवानी र आवतजावत गर्न नयाँ गाडी किन्ने गरेका कारण अटोमोबाइल क्षेत्र निकै चलायनमान हुने गरेको थियो । तर, यसपाली  निर्वाचनको माहोल बढे पनि विगतमा जस्तो अटोमोबाइलको व्यापार उत्साहजनक रुपमा नबढेको अटो व्यवसायी बताउँछन् ।

अन्य समयको तुलनामा चुनावका बेला सवारी साधनको माग फरक ढंगले हुने गर्छ । अर्थात, व्यक्तिगत प्रयोजनका लागि भन्दा पनि प्रचार प्रसार र व्यवस्थापन गर्न मिल्ने सवारी साधनको बिक्री वितरण चुनावका बेला बढी हुने गर्छ ।

उम्मेदवारले दुर्गम गाउँसम्म जान मिल्ने जीप, डबल क्याब पिकअप, माइक्रोबस, हाइस, पिकअप भ्यानहरु बढी खोज्ने र रोज्ने गरेका छन् । जसबाट अटो क्षेत्र चलायमान गराउन मदत पुग्थ्यो । त्यस्ता सवारीहरु कार्यकर्ता र युवाहरुमाझ बढी रुचाइने गरिएको छ ।

हुन्डाइका लागि नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रवन्धक दिपक थपलियाले चुनावी माहोल बल्ल सुरु भएकाले अहिले नै पिकअप गाडीहरुको धेरै माग आउने बेला नभएको बताए । उनले विगतको जस्तो यसपालीको चुनावमा गाडीको माग नआएको तर, बिक्रीको अवस्था भने ठिकठिकै रहेको बताए ।

‘चुनावका बेला पिकअप भ्यानको बढी माग आउने गर्छ । अहिले नै धेरै माग आउने बेला नभएर हो कि । विगतको जस्तो राम्रो पनि छैन् । ठिकठिकै छ,’ उनले मेरो लगानीसँग बताए ।

एमजी गाडीको नेपालमा आधिकारीक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिका महाप्रवन्धक सुनिल क्षेत्रीले चुनावले अटोमोबाइल क्षेत्रमा उत्साह जनाएको जस्तो देखिए पनि ग्राहकहरु भने गाडी किन्ने-नकिन्ने भनेर पर्ख र हेरको अवस्थामा रहेको बताए । कतिपय ग्राहकहरुले गाडी लिने नलिने भनेर डिसिजन पोस्टपोन्ड गर्ने गरेको उनी बताउँछन् ।

‘विगतमा जस्तै चुनावले एक हिसावले अटोमोबाइल क्षेत्रमा उत्साह जगाएको जस्तो देखिन्छ । तर, त्यसले गाडीको हकमा लिने नलिने भनेर ग्राहकले डिसिजन पोस्टपोन्ड गरेको देखिन्छ,’ उनले भने, ‘गाडी किन्ने सोच भएका ग्राहकहरु पनि यतिबेला पर्ख र हेरको अवस्थामै हुनुहुन्छ ।’

उनका अनुसार, अन्य समयभन्दा माघ लागेसँगै गाडीको माग बढ्नुपर्ने समय हो । चुनावी माहोल बढेपनि त्यति धेरै गाडीको माग भने नआएको उनी बताउँछन् । चुनावका बेला विगतमा एमजीको एस फाइभ इभी गाडी सबैभन्दा बढी माग हुने गरेको उनी बताउँछन् ।

नयाँमा भन्दा भाडाका गाडीको रोजाइँ

अटो व्यवसायीहरुका अनुसार, चुनावका बेला नयाँ सवारी खरिद गर्नभन्दा भाडाका गाडीहरु धेरै चल्ने गरेका छन् । चुनावी प्रसार प्रसार र अन्य प्रयोजनका लागि उम्मेदवार तथा नेता कार्यकर्ताहरुले स्थानीय स्तरमै भाडामा गाडी लिने गरेका छन् ।

केही दिनका लागि भाडामा लियो र त्यसपछि अर्को निर्वाचन क्षेत्रमा पुगेपछि त्यहाँ पनि गाडी भाडामा लिने प्रवृत्ति बढेको देखिन्छ । चुनावका बेला अधिकांश उम्मेदवारकाे रोजाइँ पनि भाडाकै गाडीमा पर्ने गरेको अटोक्षेत्रका जानकारहरु बताउँछन् ।

जीप र भ्यान भाडामा लिँदा दैनिक रुपमा ५ देखि १० हजार, हाइस र माइक्रो १० देखि १५ हजार र मोटरसाइकल भने १ देखि २ हजार रुपैयाँ भाडा तिर्नुपरेको कतिपय उम्मेदवारले बताएका छन् । तर, क्षेत्र, दिन र मागअनुसार कतिपय अवस्थामा भाडादर फरक पर्ने गरेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।