सामान्य बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, प्रतिशेयर आम्दानी कति?

Jan 29, 2026 06:26 AM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.७४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६९ प्रतिशत र सञ्चालन मुनाफा १.७२ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा रहेको छ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।