बिग मर्जरपछि बैंकहरु अब शहरी क्षेत्रको शाखा मर्जरमा सक्रिय

Feb 11, 2026 06:07 PM Merolagani



नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय शाखा कार्यालयहरूको पुनर्संरचना तीव्र गतिमा अघि बढिरहेको छ। डिजिटल कारोबारको विस्तार, लागत व्यवस्थापनको आवश्यकता र नेपाल राष्ट्र बैंकको निर्देशनले गर्दा वाणिज्य बैंकहरूले शाखा समायोजनलाई प्राथमिकता दिन थालेका छन्। पछिल्लो समय ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक नबिल बैंकलगायतले पनि सूचना जारी गरेर शाखा कार्यालय पुनर्संरचना गर्ने जनाएका हुन ।

ग्लोबल आइएमई बैंकले हालै जारी गरेको सूचना अनुसार शहरी क्षेत्रमा रहेका केही शाखा एकीकृत गर्दै ग्रामीण क्षेत्रमा नयाँ शाखा खोल्ने रणनीति अपनाइएको छ। यसले वित्तीय पहुँचलाई सहज बनाउने मात्र होइन, बैंकिङ सेवामा दक्षता र लागत नियन्त्रणलाई पनि सुदृढ गर्ने अपेक्षा गरिएको छ । बैंकले काठमाडौंका ४ र ललितपुरका ४ गरेर ८ वटा शाखा समायोजन गर्न लागेको हो ।

बैंकका अनुसार काठमाडौंको ज्ञानेश्वरमा रहेको शाखा समायोजन भएर सानो गौचरन, नयाँबानेश्वर र शंखमुल शाखा समायोजन भएर शंखमुल कायम हुने भएको छ । यस्तै इन्द्रचोक र असन शाखा समायोजन भएर असनको शाखा कायम हुने, बाफल कलंकी र कलंकी शाखा समायोजन भएर कलंकी शाखा कायम हुने भएको छ । खुमलटार र सातदोबाटो शाखा मर्ज भएर सातदोबाटो कायम हुने, सुन्धारा ललितपुर र ग्वार्को शाखा मर्जर भएर ग्वार्को शाखा, धोबीघाट र एकान्तकुना शाखा मर्ज भएर एकान्तकुना र कुमारीपाटी र लगनखेल शाखा मर्ज भएर ललगनखेल शाखा कायम हुने भएको छ । यी शाखाहरुको दुरी २०० देखि ३ किलोमिटरसम्म रहेको थियो । यी शाखाहरु आगामी वैशाख २८ गतेदेखि एकआपसमा समायोजन तथा एकीकरण गरि कारोबार सञ्चालन गर्ने बैंकले जनाएको छ।

नबिल बैंकले काठमाडौं उपत्यकामा रहेका तीन शाखा मर्ज गरेर नयाँ वानेश्वरमा शाखा कार्यालय खोल्ने भएको छ । बैंकको नयाँ बानेश्वर शाखा, बिजुली बजार र शङ्खमुल शाखा मर्ज भई समायोजन गरी नयाँ बानेश्वर शाखा खाेल्ने भएकाे हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वटा शाखा कार्यालय समायोजन गर्ने घोषणा गरेको छ। राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ साल बैसाख १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत रूपमा सेवा सञ्चालन गर्न लागेको हो। बैंकका अनुसार बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका केही शाखाहरू आपसमा समायोजन गरी कारोबार सञ्चालन गरिनेछ ।

बागमती प्रदेशमा बागबजार शाखा पुतलीसडक शाखामा, गौशला शाखा बत्तिसपुतली शाखामा, कपुरधारामा रहेको ठमेल शाखा, पाटन शाखा लगनखेल शाखामा तथा कुलेश्वर शाखा कालीमाटी शाखामा गाभिनेछ । यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणगढ शाखालाई वडा नम्बर ३ मा समायोजन गरिने बैंकले जनाएको छ । मधेश प्रदेशतर्फ वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको शाखा वडा नम्बर १० मा स्थानान्तरण हुनेछ भने कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नम्बर ८ को शाखा वडा नम्बर ७ मा गाभिनेछ । गण्डकी प्रदेशमा पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको बझापाटन शाखा वडा नम्बर १० मा रहेको अमरसिंह शाखामा समायोजन गरिनेछ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको लेखनाथ शाखा वडा नम्बर २७ स्थित तालचोक शाखामा गाभिने भएको छ ।

कुमारी बैंकले विस्तारित काउण्टर र शाखा कार्यालयहरूको एकीकरणबारे सूचना सार्वजनिक गर्दै ग्राहकलाई नयाँ संरचनाबारे जानकारी दिएको छ। बैंकले विभिन्न ५ जिल्लाका १५ वटा शाखा समायोजन तथा एकीकरण गर्ने भएको छ । बैंकले काठमाडौं, चितवन, पर्सा, कास्की र मोरङ जिल्लाका विभिन्न १५ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले महानगरपालिका भित्र नजिकका स्थानमा रहेका शाखा कार्यालय तथा विस्तारित काउण्टरहरु चैत १५ गते देखि एक आपसमा समायोजन तथा एकीकरण गरि कारोबार सञ्चालन गर्ने जनाएको छ । बैंकले सबैभन्दा धेरै काठमाडौंका ७ वटा शाखा बन्द तथा सामायोजन गराउन लागिएको छ । यस्तै चितवनको ३ वटा, पर्साको २ वटा, मोरङको १ शाखा रहेको छ । विभिन्न बैंकहरुको शाखा समायोजनको घटनाक्रमले देखाउँछ शाखा समायोजन अब बैंकिङ क्षेत्रको सामान्य प्रवृत्ति मात्र नभई रणनीतिक आवश्यकता बनिसकेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ। यसले ग्रामीण ग्राहकलाई औपचारिक वित्तीय प्रणालीमा ल्याउने उद्देश्य राखेको छ। तर, शहरी क्षेत्रमा शाखा संख्या घटाएर डिजिटल बैंकिङलाई प्राथमिकता दिनुपर्ने दबाब पनि बढेको छ। मोबाइल बैंकिङ, क्युआर भुक्तानी, इन्टरनेट बैंकिङको प्रयोग बढ्दै जाँदा शाखा कार्यालयहरू खर्चिलो बनेका छन्। यसैले बैंकहरूले शाखा सञ्चालनमा लाग्ने भाडा, कर्मचारी खर्च, र अन्य प्रशासनिक खर्च घटाउन शाखा समायोजनलाई प्राथमिकता दिएका छन्।

ग्रामीण क्षेत्रमा नयाँ शाखा खोल्दा स्थानीय व्यवसाय, कृषि, र साना उद्यमलाई ऋण सुविधा सहज हुनेछ। यसले वित्तीय समावेशीकरणलाई बल पुर्याउनेछ। तर, शहरी क्षेत्रमा शाखा संख्या घट्दा केही ग्राहकलाई असुविधा हुन सक्छ। यसलाई डिजिटल बैंकिङ सेवाले पूर्ति गर्ने अपेक्षा गरिएको छ। बैंकहरूले मोबाइल बैंकिङ एप्सलाई ग्रामीण क्षेत्रमा विस्तार गर्ने, भुक्तानी प्रणालीलाई स्थानीय बजारमा लागू गर्ने, र इन्टरनेट बैंकिङलाई सहज बनाउन ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्ने योजना बनाएका छन्।

तर, यस प्रक्रियामा चुनौतीहरू पनि कम छैनन्। ग्रामीण क्षेत्रमा पूर्वाधार अभाव, दक्ष जनशक्ति व्यवस्थापन, ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्न सिकाउने आवश्यकता, र नियामक निकायसँग निरन्तर समन्वय अनिवार्य छ। यी चुनौतीहरूलाई सम्बोधन नगरेसम्म शाखा समायोजनको प्रभावकारीता सीमित रहन सक्छ।

नेपालको बैंकिङ क्षेत्र शाखा कार्यालय समायोजनमार्फत नयाँ अध्यायमा प्रवेश गर्दैछ। यसले वित्तीय पहुँचलाई ग्रामीण क्षेत्रमा विस्तार गर्नेछ भने शहरी क्षेत्रमा लागत घटाउनेछ। तर, डिजिटल पूर्वाधार र जनशक्ति व्यवस्थापनमा चुनौती कायम रहनेछ। बैंकहरूले यसलाई अवसरका रूपमा लिन सके भने वित्तीय समावेशीकरण र डिजिटल बैंकिङको भविष्य अझ उज्ज्वल बन्नेछ।