६ तर्क अगाडि सार्दै विज्ञहरु भन्छन्-यसकारण 'सिंगल आइजीन' नै उपयुक्त हुन्छ

Feb 13, 2026 06:00 AM merolagani



पछिल्लो समय पूँजी बजारमा कुनै कम्पनीको संस्थापक र साधारण शेयरको छुट्टाछुट्टै पहिचान दोहोरो आइजीन ठिक कि एउटै पहिचान सिंगल आइजीनको व्यवस्था ठिक भनेर निकै चर्चा तथा छलफल हुने गरेको छ । दोहोरो आइजीन ठिक कि सिंगल आइजीन ठिक भन्ने बिषयमा शेयर बजार नियामक निकायका कर्मचारीबीच पनि घम्साघम्सी पर्ने गरेको छ ।

केही समय अघि नेपाल धितोपत्र बोर्डमा दोहोरो आइजीन ठिक कि सिंगल आइजीन ठिक भन्ने बिषयमा निजी क्षेत्रका चारवटै संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सिएनआई), नेपाल चेम्बर अफ कमर्श तथा ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र धितोपत्र बोर्डबीच छलफल भएको थियो । उक्त छलफलमा चारवटै निजी क्षेत्रका प्रतिनिधी र धितोपत्र बोर्डका कर्मचारी समेत सिंगल आइजीनको पक्षमा उभिएका थिए । सो छलफलमा सिंगल आइजीन ठिक भएको निष्कर्ष निकालिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । ‘तर पछि यो बिषय किन हो कुन्नी गिजोलियो थाहा भएन ?,’ उनले भने ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै आइजीन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि यस बिषयले फेरि चर्चा पाएको हो । सीडीएससी यस्तो प्रस्ताव लैजानुको मुख्य कारण विदेशी कम्पनी र विदेशी लगानीकर्ता नभित्रिउन भन्ने मानसिकता देखिएको इप्पानका अध्यक्ष कार्कीले बताए । उनका अनुसार, दोहोरो आइजीनले ऊर्जा क्षेत्र, निजी क्षेत्रको लगानी र वैदेशिक लगानीमा समेत असर गर्नेछ । सीडीएससीको प्रस्तावले लगानीकर्तामा अन्योल बढ्ने र पुँजी बजारमा नकारात्मक असर पर्ने इप्पानका अध्यक्ष कार्कीको भनाइ छ ।

इप्पानले पहिलेदेखि नै दोहोरो आइजीनको व्यवस्था खारेजीको माग गर्दै आएको छ । उसले दोहोरो आइजीन नम्बर राख्ने व्यवस्था हटाउन माग गर्दै अर्थमन्त्रालय, सेबोन र सीडीएससीको ध्यानाकर्षण गराइसकेको छ ।

सीडीएससीको उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, शेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौल बढाएकाे र बढी निराशा पैदा हुने अवस्था सिर्जना भएको भन्दै यो प्रस्ताव कार्यान्वयन भएमा नेपालको पुँजी बजारमा लागु भइरहेको प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरीतको कार्य भई नेपालको पुँजी बजारमा दीर्घंकालिन प्रभाव पर्नुका साथै नेपालप्रति अन्तर्राष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने इप्पानका अध्यक्ष कार्कीको भनाइ छ ।

यस्तो व्यवस्थाले नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्नुका साथै स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीहरूमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत ठूलो कठिनाइ हुने पनि इप्पानले जनाएको छ ।
यसले नेपालमा निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीमा विश्वास गुम्नुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नेपालको लगानी वातावरणप्रति गम्भीर आशंका उत्पन्न भएको इप्पानको भनाइ छ ।

सीडीएससीको यो प्रस्तावले नेपालको एउटा कानुनलाई हेरेर लगानी गरेको विदेशी लगानीकर्ताले आफ्नो शेयर बेचेर लगानी फिर्ता लिन नै नसक्ने अवस्था बन्ने र यसले सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति, पूँजीबजारको सुदृढीकरण र समग्र आर्थिक सुधार लक्ष्यप्रति नै नकारात्मक प्रभाव पार्ने इप्पानका अध्यक्ष कार्कीलेबताए ।

‘अहिले संस्थापक र सर्वसाधारणको शेयर एउटै आइजीनमा हुँदा शेयर बजार चलायमान भइरहेको छ तर छुट्टाछुट्टै आइजीन राख्दा पुँजी बजारको कारोबारमा नै संकुचनआई यसले सरकारको आम्दानीमा समेत ठूलो गिरावट आउनेछ,’ उनले भने ।

दोहोरो आइजीनले ऊर्जा क्षेत्र मात्र नभई, निजी क्षेत्रको लगानी रहेका पर्यटन, स्वास्थ्य, पूर्वाधारलगायतका उत्पादनमूलक उद्योगमा पनि पुँजी संकलन हुन नसक्ने विज्ञहरु बताउँछन् ।

दोहोरो आइजीनको व्यवस्थाले आईपीओ जारी गरी शेयर अभौतिकरण प्रक्रियामा रहेका कम्पनीहरू, आईपीओ जारी गरी लकिङ अवधि सकिन लागेका कम्पनीहरू र आईपीओको पाइप लाइनमा रहेका कम्पनीहरुसमेत नराम्ररी प्रभावित भई यसले समग्र पुँजी बजारलाई दीर्घकालसम्म नकारात्मक प्रभाव पार्दै नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने उनीहरुको भनाइ छ ।

विज्ञहरुको तर्क गर्छन्-यसकारण दोहोरो आइजीन आवश्यक छैन्

१. विज्ञहरु भन्छन्-आइजीन कुनै पनि धितोपत्र (शेयर, डिबेन्चर आदि) लाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गर्ने एक मात्र विशिष्ट नम्बर हो । एउटा धितोपत्रलाई पहिचान गर्न एउटा मात्र अद्वितीय नम्बर पर्याप्त हुन्छ । दोहोरो नम्बर आवश्यक पर्ने प्रावधान सामान्यतया हुँदैन ।

२. दोहोरोपनले अन्योल सिर्जना गर्ने तर्क पनि विज्ञहरुको छ । यदि एउटै कम्पनीको एउटै किसिमको शेयरका लागि दुईवटा आइजीन दिइयो भने लगानीकर्ता, ब्रोकर र क्लियरिङ सिस्टममा अन्योल, प्राविधिक समस्या र लेखा–जोखा त्रुटि हुन सक्छ ।

३. प्राविधिक र नियामक दृष्टिले पनि आवश्यक नभएको पनि विज्ञहरुको तर्क छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससी प्रणालीमा प्रत्येक धितोपत्रलाई एक मात्र आइजीनको आधारमा कारोबार, ट्रान्सफर र रेकर्ड राखिन्छ । प्रणाली नै एकल आइजीन संरचनामा आधारित भएकाले दोहोरो आइजीन प्राविधिक रुपमा आवश्यक नहुने उनीहरुकाे तर्क छ ।

४. पारदर्शिता र सजिलो ट्र्याकिङले गर्दा पनि दोहोरो आइजीनको आवश्यका नपर्ने विज्ञहरुको तर्क छ । एउटा मात्र आइजीन हुँदा शेयरको स्वामित्व, बोनस, हकप्रद, मर्जर, डिमर्जर जस्ता क्रियाकलाप ट्र्याक गर्न सजिलो हुन्छ । दोहोरो आइजीन हुँदा डाटा व्यवस्थापन जटिल हुन सक्ने उनीहरुकाे तर्क छ।

५. अन्तर्राष्ट्रिय अभ्यासमा पनि दोहोरो आइजीनको व्यवस्था नभएको पनि विज्ञहरु बताउँछन् । विश्वव्यापी रुपमा एउटै धितोपत्रका लागि एउटै आइजीन हुन्छ । फरक वर्ग (जस्तैः अडिनरी शेयर, प्रिफरेन्स शेयर) भएमा मात्र फरक आइजीन दिइन्छ । एउटै वर्गको शेयरमा दोहोरो आइजीन दिने अभ्यास सामान्यतया कुनै पनि देशमा नभएकाे उनीहरुकाे तर्क छ ।

६. लागत र प्रशासनिक भार बढी हुने भएकाले पनि दोहोरो आइजीन आवश्यक नहुने विज्ञहरुको भनाइ छ । दोहोरो आइजीन व्यवस्थापन गर्दा अतिरिक्त प्रशासनिक प्रक्रिया, रिपोर्टिङ र समन्वय आवश्यक पर्छ, जसले अनावश्यक लागत बढाउन सक्ने तर्क पनि उनीहरुले गर्ने गरेका छन् 

कम्पनीको शेयर एउटै प्रकारको हो भने त्यसका लागि एकल आइजीन पर्याप्त र उपयुक्त हुन्छ । फरक वर्ग वा संरचनात्मक परिवर्तन नभएसम्म दोहोरो आइजीन आवश्यक नपर्ने पनि विज्ञहरुले निष्कर्ष निकालेका छन् ।