विभिन्न चाडपर्व, मेला, नयाँ वर्षका अवसरमा जसरी अटो कम्पनीहरुले सवारी साधनको खरिदमा ग्राहकलाई आकर्षित गर्न विभिन्न अफरहरु ल्याउने गरेका थिए । यसपाली भने भ्यालेन्टाइन डेलाई लक्षित गरेर केही अटो कम्पनीले त्यस्ता अफरहरु सार्वजनिक गरेका हुन् ।
जसमध्ये टाटा मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभीको खरिदमा आकर्षक छुट अफर सार्वजनिक गरेको छ । कम्पनीले यसअघि २७ लाख ४९ हजार रुपैयाँ मूल्य पर्ने टाटाको टियागो इभीलाई भ्यालेन्टाइन डेलक्षित अफरअन्तर्गत २४ लाख ९९ लाख रुपैयाँ मूल्य कायम गरेको छ । यो अफर कम्पनीले भ्यालेन्टाइन डेका दिनसम्म लागू हुने जनाएको छ ।
त्यस्तै, बिवाइडी कम्पनीले पनि भ्यालेन्टाइन डे लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीको नेपालको आधिकारीक बिक्रेता साइमेक्स इंकले बिवाइडी अट्टो–१ को खरिदमा छुट सुविधा दिएको छ ।

कम्पनीले यसअघि २८ लाख ९५ हजार रुपैयाँ मूल्य पर्ने बिवाइडी अट्टो–१ (डाइनामिक) को अफर अन्तर्गत २६ लाख ९५ हजार रुपैयाँ मूल्य कायम गरेको छ । त्यस्तै अट्टो–१ प्रिमियमको मूल्य यसअघि ३२ लाख ९९ हजार रुपैयाँ रहेकोमा अफर अन्तर्गत ३० लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीले उक्त एसयूभी खरिदमा दुई लाख रुपैयाँसम्म छुट सुविधा दिएको छ ।
त्यस्तै, ओमोडा एण्ड जेको गाडी खरिदमा लभ इन एभ्री ड्राइभ अफरअन्र्तगत एक्सचेन्ज बोनस, एक वर्षको अटो बीमा, ७ किलोवाटको वाल चार्जर निःशुल्क, आकर्षक नगद छुट, पाँच जना लक्की ग्राहलाइ हलिडे प्याकेजलगायतका सुविधासहित उपलव्ध गराएको छ ।
त्यस्तै, सुजुकी गाडीको खरिदमा समेत कम्पनीले अफर सार्वजनिक गरेको छ । आधिकारीक बिक्रेता सिजी मोटोकर्पले सुजुकीको गाडी खरिदमा ६ लाखसम्म नगद छुट, २ लाखसम्मको एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बीमाजस्ता सुविधा दिएको छ ।
त्यस्तै, होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले पनि भ्यालेन्टाइन डेलक्षित अफर ल्याएको छ । मायाको सफर योजना अन्तर्गत कम्पनीले मोटरसाइकल र स्कुटरको खरिदमा ५ हजारसम्मको क्यासब्याक र फाइनान्सको सजिलो सुविधा सार्वजनिक गरेको छ । त्यस्तै, हिरो र यमाहाका सवारी खरिदमा पनि कम्पनीले भ्यालेन्टाइन डेलक्षित अफर ल्याएका छन् ।
त्यस्तैगरी, डिपल गाडीको खरिदमा पनि कम्पनीले वारेन्टी अफर ल्याएको छ । त्यस्तैगरी, टीभीएसका मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले हरेक दिन सुनको सिक्का जित्ने अफर कम्पनीले सञ्चालन गरिरहेको छ । सवारी खरिदमा ग्राहकले १ लाखसम्मको नगद छुट पनि पाउन सक्ने कम्पनीको दाबी छ ।