आजदेखि औपचारिक रुपमा निर्वाचन प्रचार–प्रसार गर्न पाइने

Feb 16, 2026 09:04 AM Merolagani



फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (फागुन ४ गते) देखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ।

मतदान हुन अब १५ दिन बाँकी छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न सकिने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार, आजदेखि राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सक्नेछन्।

दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले फागुन १८ गते राति १२ बजेसम्म निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी चुनाव प्रचार–प्रसार गर्न सक्ने र औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।

निर्वाचन आयोगले दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्ने जनाएको छ। निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।

निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठित रूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले जनाएको छ।