आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न सक्दैन : गगन थापा

Feb 18, 2026 02:13 PM merolagani



नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरु उभिएको बताएका छन् । बुधवार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरु आएको बताए ।

उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए । त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उनको भनाई छ । उनकाअनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उनले प्रतिवद्धता जनाए । सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताए । देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

उनकाअनुसार राजनीतिक दलहरुसंग विमति हुन्छन्, प्रतिष्पर्धा हुन्छ तर देश बनाउन सबै दल चाहिन्छन् । उनले देशमा रहेका सबै राजनितिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भुमिका नेपाली काँग्रेसले निर्वाह गर्ने दाबी गरे । आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उनको भनाई छ । उनले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उनले बताए ।

परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै उनले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने बताए । उनका अनुसार विश्वका एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि पपुलिज्मको शिकार भएका छन् । तर त्यहाँ संस्थाहरू बलिया भएकाले पपुलिज्म केही महिनामै ढल्ने गरेको उनले बताए । नेपालमा संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी बोकेर आएमा त्यसको परिणाम गम्भीर हुने उहाँले चेतावनी दिए ।

उनले भने, ‘यो निर्वाचन अगाडीको हाम्रो ठूलो प्रश्न भनेको चाहीँ के नेपाललाई हामी एक्सट्रिनिजमबाट जोगाउन सक्छौँ भन्ने हो । अहिले एकसेएक परिपक्व डेमोक्रेसीहरु पनि जसरी पपुलिजमको सिकार भएको छ, हेर्दाहेर्दे एउटा वेभजस्तो आएको छ, त्यो पपुलिजमको आक्रमणबाट के नेपालको डेमोक्रेसीलाई जोगाउन सक्छौँ ? हाम्रो डेमोक्रेसी त्यति परिपक्व पनि भइसकेका छैनौँ । हाम्रो ईकोनोमीको आफ्नै च्यालेन्सहरु छ । डेमोक्रेसी परिपक्क भईसकेको संस्थाहरु बनिसकेको ठाउँमा पपुलिजम के हुँदो रहेछ भने पपुलिजम ५÷६ महिना आउँछ, त्यो ढल्छ । किनकी संस्थाहरु बलियो छ । हाम्रो सन्दर्भमा ती संस्थाहरु बलियो बनिसकेको नै छैन । हामीले बनाएनौँ, हामीले भत्कायौँ । संस्थाहरु बलियो नबनेको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामी थेग्न सक्छौँ भन्ने हाम्रो अगाडी एउटा प्रश्न छ । यसको हामीले ठिक ढंगले उत्तर खोज्नुपर्नेछ । नागरिकहरुको तहमा ठुलो छटपटाहट छ, खासगरि नौजवानहरुको बीचमा छ, देश जसरी चलिरहेको थियो, अहिले पनि चलिरहेको छ । यस विषयमा उनीहरुको ठूलो कम्प्लेन छ, त्यो जायज छ । उनीहरुको मागलाई सम्बोधन गर्ने नै हो । अहिलेको मुद्धा यही नै हो । नेपाललाई अहिले सुधार चाहिएको हो । सुधारको ग्यारेन्टी लिएर हामीहरु उभिएका छौँ । संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने ? नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न, गएको १०÷१२ वर्ष जसरी विकास हुनुपथ्यो, त्यो हुन सकेन । हामीले मान्यौँ, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौ । यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी समालिनुपनि पर्छ । देश उत्तेजनाले मात्रै बदलिन्न । देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न । म असल, बाँकी रहेका सबै खराब भनेर देश बन्दैन । बन्नै सक्दैन । हाम्रा विमति छन्, राजनितिक दलहरुसँग, हामी फरकफरक राजनितिक दल हौँ, हामी प्रतिष्पर्धा गर्छौं । तर हामी सबैको आफ्नो स्पेश छ । यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ । सबैलाई मिलाएर लिएर जानुपर्छ । त्यो मिलाएर लैजाने राजनिति आजको दिनमा नेपाली काँग्रेसले गर्छ ।’

उहाँले बौद्धिक व्यक्तित्व तथा पेशाकर्मीहरुलाई पपुलिजमको विरुद्धमा बोल्न पनि आग्रह गरे । उनले हाल पपुलिजम शक्तिहरुको विरुद्धमा  बोल्न समेत डराउनुपर्ने अवस्था रहेको उल्लेख गरे । तर प्रश्न गर्न पछि नहट्न उनले आग्रह गरे । सत्तामा नपुग्दा नै प्रश्न गर्न नपाईने शक्तिहरु सत्तामा पुगे प्रश्न गर्ने अधिकार सुरक्षित नहुने उनको भनाई छ ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।