पार्टीहरुको पुनर्गठनको बहसः एजेण्डा केन्द्रित कि व्यक्ति केन्द्रित भन्नेमै अन्योल

Mar 11, 2026 05:37 PM mero lagani



फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा लज्जाजनक पराजयसँगै कांग्रेस, एमालेसहितका अधिकांश पार्टीमा पुनर्गठनको आवाज उठ्न थालेको छ । 

चुनावको मुखमा विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व लिएका कांग्रेस सभापति गगन थापाले पराजयको नैतिक जिम्मेवारी लिदैँ ‘राजीनामा दिन चाहेको तर पार्टीका अन्य नेताले त्यस्तो नगर्न अनुरोध गरेको’ कुरा सार्वजनिक भएको छ भने एमाले, नेकपादेखि राप्रपा र मधेशवादी दलहरुमा समेत नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको आवाज उठ्न थालेको छ ।

 

चुनावमा पार्टी पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने र पार्टीमा नयाँ नेतृत्व स्थापित गर्ने प्रचलन विश्वका धेरै जसो लोकतान्त्रिक देशहरुमा देखिन्छ । नेपालमा पनि एकाध पटक त्यस्ता दृष्टान्त देखिएका छन् । तर, अहिले नेपालका राजनीतिक पार्टीको नेतृत्वमा रहेकाहरुको मनस्थिति त्यस्तो देखिदैन । बरु उनीहरु पार्टी सकिए सकिओस्, आफ्नो कुर्सी बचाउन पाए पुग्यो भन्ने चिन्तनबाट ग्रसित भएको देखिन्छ ।

सयौं जन्मदिन मनाउन केही वर्ष मात्र बाँकी रहेका मोहन विक्रम सिंह, ८४ पुजा गर्ने उमेर भइसकेका महन्थ ठाकुर, ८० वर्ष पुगेका शेरबहादुर देउवा, असाध्य रोगले ग्रसित र साढे सात दशक पुग्न लागेका केपी ओली, चारदशक देखि पार्टी सुप्रिमो रहेका प्रचण्डको साथै माधव नेपाल, झलनाथ खनाल, उपेन्द्र यादवलगायतका नेताहरुको मनोवृत्ति हेर्दा उनीहरु आफूसँगै पार्टी र पार्टी नेतृत्वको कुर्सी आर्यघाटमा लैजान तयार छन् तर अर्काे व्यक्तिलाई नेतृत्व सुम्पन्न तयार छैनन् भन्ने देखिन्छ ।

यस्तो अवस्थामा ती पार्टीहरु भित्र उठेको पुनर्गठनको मुद्दाले कसरी सार्थकता पाउला ? के ती पार्टीहरु भित्र रहेका ‘पिण्ड खाने उमेर’का नेताहरुले सामुहिकरुपमा एक साथ अवकास लिन वाध्य पार्ने हैसियत ती पार्टीका युवा भनिएका नेताहरुमा होला ? अनि त्यसबाट पार्टीका कार्यकर्ताको साथै मतदाताहरुमा रहेको आक्रोसलाई मत्थर पारेर अर्काे चुनावमा सत्तामा फर्किने हैसियत कसरी बनाउलान् ? अहिले चुनाव जितेको रास्वपाबाहेक अन्य सबै पार्टीका नेता कार्यकर्ताहरुबीच बहसको विषय बनेको छ ।

यही प्रसंगमा उठ्नै पर्ने तर ओझेलमा परेको र पर्न सक्ने अर्काे गम्भिर प्रश्न के हो भने चुनावमा ती पार्टीहरु पराजित हुनुमा तिनका नेताहरुको अनुहार र व्यवहार मात्रै कारण हो कि पार्टीका नीति कार्यक्रमहरु जनताबाट अस्वीकृत भएका हुन् ? निश्चिय पनि चुनावमा कुनै पार्टी पराजित हुन्छ भने त्यसको पछाडि ती पार्टीका नेताहरुको चरित्र र व्यवहार मुख्य कारण हुन्छ । तर, कारण त्यति मात्रै हुँदैन, ती पार्टीहरुले उठाएका एजेण्डा, उनीहरुका नीति र कार्यक्रमहरु प्रति आम जनताको विश्वास नहनु पनि मुख्य कारण हो, हुन्छ । त्यसैले यदि पार्टीहरुले साँच्चै आफूलाई रुपान्तरण गर्ने हो, पुनर्गठन गर्ने हो भने जनतामा बदनाम अनुहारहरुलाई पार्टीको कुनै तहको नेतृत्वबाट हटाएर तुलनात्मकरुपले स्वच्छ अनुहारहरुलाई स्थापित गर्नु जति जरुरी छ, त्यत्तिकै मात्रामा पार्टीले अवलम्बन गरेका नीति र कार्यक्रमहरुमा पनि पुनर्विचार गर्नु जरुरी छ । त्यसो भएमा बल्ल ती पार्टीहरुप्रतिको जन विश्वास बढ्न सक्छ र अहिले विस्थापित भएका पार्टीहरु फेरि प्रतिस्पर्धामा आउन सक्ने देखिन्छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।