सात महिनामा ११ प्रतिशतले बढ्यो शेयर धितो कर्जा, ठुलाे कर्जाको हिस्सा उच्च, कुन कति ?

Mar 11, 2026 06:34 PM merolagani



सुवास निरौला

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको वित्तीय विवरणले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर बजारमा प्रवाह हुने मार्जिन नेचर लोन (शेयर धितो कर्जा) मा ११ प्रतिशतको वृद्धि भएको देखाएको छ। 

 

२०८२ साउनदेखि २०८२ फागुनसम्ममा मार्जिन कर्जा १५ अर्ब ४५ करोड २६ लाख रुपैयाँले बढेर कुल १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ पुगेको छ। यो तथ्याङ्कले पूँजीबजारमा लगानीकर्ताको बढ्दो सक्रियता र वित्तीय संस्थाहरूको सक्रियता बढेको पुष्टि गर्छ।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा मार्जिन कर्जामा २७.८ प्रतिशतको उच्च वृद्धि भई कुल २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ थपिएको थियो। तुलनात्मक रूपमा यस वर्षको वृद्धिदर (११ प्रतिशत) कम देखिए पनि, कर्जा प्रवाहको कुल आकार र त्यसले बजारमा पार्ने प्रभाव भने अझै महत्त्वपूर्ण हुने देखिन्छ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार, मार्जिन नेचर लोनलाई चार मुख्य श्रेणीमा विभाजन गरिएको छ। जसमध्ये १ करोड रुपैयाँभन्दा बढीका कर्जाको हिस्सा सबैभन्दा ठुलो छ। चालु आर्थिक वर्षको सात महिनामा १ करोड रुपैयाँभन्दा बढीका कर्जामा १० अर्ब ७५ करोड २७ लाख रुपैयाँको वृद्धि देखिएको छ। यसले ठुला लगानीकर्ताहरू र संस्थागत खेलाडीहरूले शेयर बजारमा बढी ऋण लिएर लगानी गरिरहेको स्पष्ट सङ्केत गर्दछ। 

यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मका कर्जामा २ अर्ब ४८ करोड २७ लाख रुपैयाँको वृद्धि भई कुल १८ अर्ब ५१ करोड २५ लाख रुपैयाँ पुगेको छ। यो १५.५ प्रतिशतको वृद्धि हो। जुन कुल वृद्धिमध्ये दोस्रो ठुलो हिस्सा हो। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मका कर्जा ९.५ प्रतिशतले बढेर १९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसमा १ अर्ब ६६ करोड ८३ लाख रुपैयाँको वृद्धि देखिएको छ। साना लगानीकर्ताहरूले लिने २५ लाख रुपैयाँभन्दा कमका कर्जा ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ पुगेको छ। यसमा ५४ करोड ८९ लाख रुपैयाँको वृद्धि भएको छ।

मार्जिन कर्जामा ठुला कर्जाको बाहुल्यताले शेयर बजारमा केही महत्त्वपूर्ण प्रभाव पार्छ। एकातिर, यसले बजारमा तरलता बढाउन र कारोबारको मात्रा वृद्धि गर्न मद्दत गर्छ। अर्कोतर्फ, ठुला लगानीकर्ताहरूले बढी ऋण लिएर कारोबार गर्दा बजारमा अस्थिरता र जोखिम पनि बढ्न सक्छ। 

मार्जिन कर्जामा ११ प्रतिशतको वृद्धिदर अघिल्लो वर्षको तुलनामा कम भए पनि, कुल कर्जाको आकारमा निरन्तर वृद्धि हुनुले बजारमा लगानीकर्ताको सक्रियता निरन्तर बढ्दै गएको देखाउछ। शेयर बजारको विकासका लागि कर्जा प्रवाह आवश्यक भए पनि,यसको उचित व्यवस्थापन र जोखिम न्यूनीकरणमा ध्यान दिनु पनि वित्तीय स्थायित्वका लागि उत्तिकै अपरिहार्य छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले शेयर बजारमा मार्जिन कर्जा प्रवाहको निरन्तर वृद्धि, विशेष गरी ठुला कर्जाको प्रमुख हिस्सा र त्यसले बजारको गतिशीलतामा पार्ने प्रभावलाई उजागर गरेको छ। 

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।