तर, बजारमा प्रवेश गर्नु मात्र सफलता होइन, सही रणनीति अपनाए मात्रै लगानीकर्ताले स्थायी रूपमा लाभ लिन सक्छन्। अनियोजित लगानीले नाफाभन्दा बढी घाटा पनि गराउन सक्छ। त्यसैले शेयरबजारमा सफल हुन स्पष्ट रणनीति आवश्यक हुन्छ। नेपाली शेयरबजारको सन्दर्भमा पैसा कमाउन मद्दत गर्ने पाँच प्रमुख रणनीतिहरू विशेष रूपमा उल्लेखनीय छन्।
पहिलो रणनीति हो दीर्घकालीन लगानी। धेरै अनुभवी लगानीकर्ताले शेयरबजारलाई छोटो समयको जुवा होइन, दीर्घकालीन लगानीको माध्यम मान्छन्। राम्रो वित्तीय अवस्था भएका कम्पनीहरू, मुल्यवृद्धिको सम्भावना बोकेका कम्पनीको शेयर लामो समयका लागि लगानी गर्दा पूँजी वृद्धिसँगै लाभांशको लाभ पनि पाइन्छ। इतिहासले देखाएको छ कि बजारमा उतार चढाव भए पनि दीर्घकालीन रूपमा राम्रो कम्पनीका शेयरको मूल्य बढ्ने प्रवृत्ति हुन्छ। त्यसैले धैर्य र दीर्घकालीन सोच नै शेयरबजारमा सफलता प्राप्त गर्ने आधार हो।
दोस्रो रणनीति हो आधारभूत विश्लेषण। कुनै पनि कम्पनीमा लगानी गर्नु अघि त्यसको वित्तीय विवरण, नाफा–नोक्सान, व्यवस्थापन क्षमता, भविष्यको सम्भावना तथा उद्योगको अवस्था जस्ता पक्षहरूको अध्ययन गर्नुपर्छ। कम्पनीको आम्दानी, ऋणको स्थिति, पूँजीको अवस्था, लाभांश इतिहास तथा व्यवसाय विस्तार योजना जस्ता सूचकहरूले लगानी निर्णयलाई बलियो बनाउँछन्। आधारभूत रूपमा बलियो कम्पनीको शेयर बजारमा अस्थायी रूपमा घटे पनि भविष्यमा पुनः बढ्ने सम्भावना धेरै हुन्छ।
तेस्रो रणनीति हो प्राविधिक विश्लेषण। शेयरको मूल्य, कारोबारको मात्रा र कारोबारको इतिहास हेरेर भविष्यको सम्भावित प्रवृत्ति अनुमान गर्ने विधिलाई प्राविधिक विश्लेषण भनिन्छ। चार्ट, ट्रेन्डलाइन, समर्थन र प्रतिरोध स्तर, कारोबारको मात्रा जस्ता संकेतहरूको अध्ययनले उचित समयमा शेयर किन्ने र बेच्ने निर्णय गर्न मद्दत गर्छ। नेपालमा पछिल्ला वर्षहरूमा धेरै सक्रिय लगानीकर्ताले यो रणनीति प्रयोग गर्न थालेको पाइन्छ। यद्यपि यसका लागि अन्यकुरा यथावत रहेमा प्राविधिक विश्लेषणले राम्ररी कार्य गर्न सक्ने यसका प्रयोगकर्ताहरूले बताउछन्। बजारको निरन्तर अध्ययन र अभ्यास यस किसिमको विश्लेषणमा अति आवश्यकीय शर्त हुन्छ।
चौथो रणनीति हो विविधीकरण। सबै पैसा एउटै कम्पनी वा एउटै क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ। यदि त्यो क्षेत्र कमजोर भयो भने लगानीकर्ताले ठूलो घाटा व्यहोर्नुपर्छ। त्यसैले बैंक, बीमा, जलविद्युत्, उत्पादन तथा अन्य गरि विभिन्न क्षेत्रका कम्पनीहरूमा लगानी फैलाउनु राम्रो मानिन्छ। विविधीकरणले जोखिम घटाउँछ र स्थिर प्रतिफल प्राप्त गर्न सहयोग पुर्याउँछ।
पाँचौं रणनीति हो भावनात्मक नियन्त्रण र अनुशासन। शेयरबजारमा धेरै लगानीकर्ताले डर वा लोभका कारण गलत निर्णय लिन्छन्। बजार घट्दा आत्तिएर बेच्ने र बढ्दा हतारमा किन्ने प्रवृत्ति घाटाको प्रमुख कारण बन्न सक्छ। सफल लगानीकर्ताले भने स्पष्ट योजना बनाउँछन्, लक्ष्य निर्धारण गर्छन् र त्यसै अनुसार अनुशासनपूर्वक कारोबार गर्छन्। बजारको हल्ला वा अफवाहको भरमा निर्णय लिनु जोखिमपूर्ण हुन्छ।
समग्रमा हेर्दा शेयरबजारमा सफलता पाउन भाग्यभन्दा बढी ज्ञान, धैर्य र रणनीति आवश्यक हुन्छ। नेपालको पूँजीबजार अझै विकासशील अवस्थामा भएकाले यहाँ अवसर पनि धेरै छन्। तर, ती अवसरको सही उपयोग गर्न लगानीकर्ताले बजारको अध्ययन गर्नुपर्छ, जोखिम बुझ्नुपर्छ र दीर्घकालीन सोच राख्नुपर्छ। उचित रणनीति अपनाइएमा शेयरबजार व्यक्तिगत सम्पत्ति वृद्धिको प्रभावकारी माध्यम बन्न सक्छ। यसैले शेयरबजारलाई छोटो समयमै धनी बन्ने माध्यमभन्दा पनि योजनाबद्ध लगानीको क्षेत्रका रूपमा हेर्नु आवश्यक छ। सचेत, अनुशासित र अध्ययनशील लगानीकर्ताले मात्र यसको वास्तविक लाभ लिन सक्छन्। नेपालको शेयरबजारमा दिगो रूपमा पैसा कमाउने मार्ग यही पाँच रणनीतिमा निहित रहेको देखिन्छ।
(लेखक गुरागाँइ पूँजीबजार जानकार व्यक्तित्व हुन्।)