नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ सूचीकरण नियमावली लागू गर्दै ओपनिङ रेन्जमा कडाइ गरेपछि यो कम्पनीका लगानीकर्ता १२ कारोबार दिनसम्म लगातार घाटामा शेयर बेच्न बाध्य भएका थिए।
८२० को शेयर ३०० बाट सुरु हुँदाको सकस
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्रति कित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ जारी गरेको थियो। तर, शेयर सूचीकरणका क्रममा नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज दिने पुरानो नियम परिमार्जन गरेर १ सय भन्दा बढी नेटवर्थ भएको कम्पनीलाई अधिकतम ३ सय रुपैयाँ सम्म मात्र बेच्न पाउने नियम लगाउँदा यसको कारोबार माघ ४ गते (फेब्रुअरी १६, २०२६) मा प्रति कित्ता मात्र ३०० रुपैयाँबाट सुरु भयो।
लगानीकर्ताले सुरुमै आफ्नो लगानीको आधाभन्दा बढी मूल्य गुमाएर कारोबार थाल्नुपरेको थियो। नेप्सेको यो अव्यवहारिक व्यवस्थाका कारण लगानीकर्ताले १२ औँ दिनसम्म पनि आफ्नो खरिद मूल्य (ब्रेक इभन) भन्दा तलै रहेर शेयर कारोबार गर्नुपरेको थियो।
लगातारको सकारात्मक सर्किटले दियो राहत
कारोबार सुरु भएको पहिलो दिनदेखि नै कम्पनीको शेयरमा लगातार सकारात्मक सर्किट (करिब १० प्रतिशत वृद्धि) लाग्दै आएको थियो। १० औँ कारोबार दिनमा बजारमा आएको उतारचढावका कारण सामान्य गिरावट देखिए पनि अन्य दिनहरूमा शेयर मूल्य उकालो लागिरह्यो।
मूल्य यात्राको केही झलकः
पहिलो दिन (फागुन ४) : ३०० रुपैयाँ (सुरुवात)
नवौँ दिन (फागुन १९) : ६८५.५० रुपैयाँ (अझै घाटामा)
१२ औँ दिन (फागुन २८) : ८१२.१० रुपैयाँ (खरिद मूल्य नजिक)
आज १३ औँ दिन (फागुन २९) : ८९३.३० रुपैयाँ (बल्ल नाफा सुरु)
नेप्सेको नीतिमाथि प्रश्न
सर्वसाधारणले ८२० रुपैयाँ हालेको शेयरलाई ३०० रुपैयाँको रेन्ज तोकिदिँदा सुरुवाती दिनमा शेयर बेच्न बाध्य भएका लगानीकर्ताहरूले ठुलो आर्थिक क्षति बेहोरेका छन्। ‘जुन मूल्यमा हामीले शेयर किन्यौँ, त्यो मूल्यसम्म पुग्नै दुई हप्ता कुर्नुपर्ने अवस्था नेप्सेले सिर्जना गरिदियो,’ एक लगानीकर्ताले गुनासो गरे। कम्तिमा पनि प्रिमियम र बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरेकाे आईपीओ लगानीकर्ताले किनेकाे मुल्यमा शुरु काराेबार गर्नुपर्ने लगानीकर्ताले बताए।
बिहीबार १३ औँ दिनमा शेयर मूल्य ८९३ रुपैयाँ ३० पैसा पुगेसँगै बल्ल लगानीकर्ताहरू प्रति कित्ता करिब ७२ रुपैयाँ नाफामा देखिएका छन्। तर, अझै पनि संस्थागत लगानीकर्ताहरू (जसले ९१२ रुपैयाँमा शेयर किनेका थिए) भने घाटा नै झेलिरहेका छन्।