सरकार गठनको ‘सस्पेन्स’ कायमै, मन्त्री बन्ने-बनाउने विधिबारे रास्वपाकै नेताहरु बेखबर, मन्त्रीका दावेदारहरु बिलखबन्दमा

Mar 17, 2026 10:58 AM mero lagani



फागुन २१ गतेको भएको निर्वाचनमा प्रचण्ड बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारोहण गर्न लागेको छ ।

उक्त पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सरकारको नेतृत्व गर्ने अर्थात प्रधानमन्त्री बन्ने निश्चित प्रायः रहेपनि अरु मन्त्रीहरु को को बन्छन् भन्ने बारेमा अन्योल कायम छ ।

रास्वपाकै उच्च नेताहरु र मन्त्रीको रुपमा दावी गरिरहेकाहरुले समेत नयाँ सरकार गठन कहिले कसरी, कुन विधिबाट हुन्छ भन्ने बारेमा मेसो पाउन सकिरहेका छैनन् । उनीहरु स्वंयम अन्योलमै परिरहेका छन् । रास्वपाले विगतमा मन्त्री छान्ने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिने गरेको थियो । तर, यस पटक चुनाव अगाडि नै प्रधानमन्त्रीका उम्मेदवार भनेर घोषणा गरिएका शाह र सभापति लामिछानेको आन्तरिक सहमतिमा मन्त्री छनौट गरिने बताइएको छ । तर, अहिलेसम्म सहमति भए वा नभएको बारेमा केही बताइएको छैन ।

 

‘विगतमा भएको भए यसाे अनुमान गर्न सकिन्थ्यो, पार्टीका नेता कार्यकर्ताहरुका बीचमा सम्भावित नामहरुको बारेमा चर्चा परिचर्चा हुन्थ्यो,सक्नेहरुले सभापतिलाई प्रभावित गर्न लविङ पनि गर्दथे । तर, यसपटक मन्त्री छान्दा सभापतिभन्दा निर्णायक वरिष्ठ नेता शाह हुनुहुन्छ, उहाँसँग हामीले एक पटक पनि एक्लै वा सामुहिकरुपमा बसेर छलफल गर्न पाएका छैनौं । त्यसैले तपाई जस्तै हामी पनि अन्योलमा छौं,’ रास्वपाबाट निर्वाचित एक सांसदले मेरो लगानीसँग भने ।

स्मरण रहोस् केही दिनअघि रास्वपा नेता तथा भूतपूर्व सांसद असिम साहले वरिष्ठ नेता बालेन शाह  आफैँले मन्त्री छान्ने जानकारी दिँदै मन्त्री पदका लागि दौडधुप नगर्नु भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ । जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टीम आफैँ छनोट गरेर बनाउनु हुने छ । उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ,’ फेसबुकमा उनले लेखेका छन् । आफूमाथि अनावश्यक दबाब नबढोस भनेर ‘हुन लागेका प्रधानमन्त्री’ बालेनकै निर्देशन असिमले उक्त कुरा लेखेको रास्वपाका नेता कार्यकर्ताहरु दावी गर्छन् ।

रास्वपाका एक नेताकाअनुसार ‘हुन लागेका प्रधानमन्त्री’ बालेन सांसदहरुबाट भन्दा पनि सांसद नरहेका र विभिन्न क्षेत्रमा विशेषज्ञता लिएका व्यक्तिहरुलाई मन्त्री बनाउने पक्षमा छन् । स्वंयम रास्वपा पार्टी पनि कार्यकारी प्रत्यक्ष प्रधानमन्त्रीसँगै संसद्‌ बाहिरका विज्ञहरूलाई मन्त्री बनाउने कुराको वकालत गर्दै आएको छ । तर अहिलेको संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्‌बाहिरबाट छ महिनाका लागि मात्रै कुनै विज्ञलाई मन्त्री बनाउन सकिन्छ। विगतमा त्यसरी ६ महिनाको लागि मात्रै मन्त्री बनाइएका घटनाहरु पनि छन् । के त्यहीअनुसार के सांसद नरहेका विज्ञहरुलाई समेटेर मन्त्रीमण्डल गठन होला ? यो अहिलेको लागि अनुमानको विषय मात्रै हो ।

त्यसो त रास्वपाबाटै पनि विभिन्न क्षेत्रका विज्ञहरु सांसद निर्वाचित भएका छन् । उनीहरुलाई नै समावेश गरेर पनि मन्त्री बनाउने सम्भावना रहेको बताइन्छ । तर, त्यसो गर्दा सभापति लामिछाने र ‘हुन लागेका प्रधानमन्त्री’ बालेन निकट कतिपय व्यक्तिहरु मन्त्री बन्न पाउने छैनन् । उनीहरुलाई समेट्नको लागि पनि विज्ञ र आफू निकटका व्यक्तिहरुलाई समावेश गरेर मन्त्री परिषद् बनाइने सम्भावना रहेको सभापति लामिछाने निकट एक नेता दावी गर्छन् ।

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।