पुराना सवारीलाई इभीमा रुपान्तरण गर्ने सरकारको तयारी, बनाउँदैछ नयाँ मापदण्ड

Apr 18, 2026 11:03 AM merolagani



पेट्रोल तथा डिजेलबाट चल्ने २० वर्षभन्दा पुराना सवारी साधनलाई विद्युतीय (इभी) मा रूपान्तरण गर्ने गरी सरकारले नीति बनाउने भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक मापदण्ड (स्ट्यान्डर्ड) तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूका अनुसार, हाल नेपालमा केही निजी वर्कशपहरूले अनौपचारिक रूपमा सवारी रूपान्तरण गरिरहेका भए पनि स्पष्ट कानुनी व्यवस्था नहुँदा यसलाई व्यवस्थित रूपमा विस्तार गर्न कठिन भइरहेको छ । प्रस्तावित मापदण्डले यस्तो रूपान्तरणलाई सुरक्षित, दर्तायोग्य र नियमनभित्र ल्याउने लक्ष्य राखेको छ ।

हालसम्म सवारी साधनको इन्जिन हटाएर इलेक्ट्रिक मोटर र ब्याट्री जडान गर्ने काम भइरहे पनि त्यसको गुणस्तर, सुरक्षा र कार्यक्षमताबारे कुनै आधिकारिक परीक्षण प्रणाली छैन । नयाँ मापदण्डले रूपान्तरणका लागि योग्य सवारीको वर्गीकरण,प्रयोग हुने मोटर, ब्याट्री र उपकरणको मापदण्ड, प्राविधिक परीक्षण र प्रमाणिकरण प्रक्रिया स्पष्ट गर्ने अपेक्षा गरिएको छ ।

कानुनी जटिलता हटाउने प्रयास

विद्यमान सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा इभी कन्भर्सन सम्बन्धी स्पष्ट प्रावधान नभएकाले रूपान्तरणपछि दर्ता, इन्जिन नम्बर परिवर्तन र कर संरचनामा अन्योल देखिएको छ । मन्त्रालयले नयाँ मापदण्डसँगै आवश्यक कानुनी संशोधनको तयारी समेत गरिरहेको जनाएको छ ।

कति लाग्छ लागत ?

विशेषज्ञहरूका अनुसार साना सवारीमा रूपान्तरण सम्भव भए पनि लागत अझै उच्च छ । मोटरसाइकल र स्कुटर रूपान्तरणमा करिब १–२ लाख रुपैयाँ खर्च हुने अनुमान छ भने कारको हकमा ५ लाख रुपैयाँभन्दा माथि जान सक्छ । यस्तो अवस्थामा नयाँ इभी खरिद नै कतिपयका लागि व्यावहारिक विकल्प हुन सक्छ ।

वातावरणीय लाभको अपेक्षा

सरकारले इभी रूपान्तरणलाई वायु प्रदूषण घटाउने र पेट्रोलियम पदार्थको आयात कम गर्ने उपायका रूपमा हेरेको छ । विशेषगरी काठमाडौं उपत्यकामा पुराना सवारीबाट हुने प्रदूषण घटाउन यसले सहयोग पु-याउने अपेक्षा गरिएको छ ।

इभी कन्भर्सन विस्तारका लागि चार्जिङ पूर्वाधार, दक्ष प्राविधिक जनशक्ति र गुणस्तरीय उपकरणको उपलब्धता आवश्यक पर्ने देखिन्छ । यी पक्षमा अझै सुधार गर्नुपर्ने चुनौती सरकार र निजी क्षेत्र दुवैका लागि रहेको छ ।

सरकारले इभी रूपान्तरणलाई औपचारिक रूपमा अघि बढाउने संकेत दिए पनि यसको प्रभावकारी कार्यान्वयन मापदण्डको स्पष्टता, कानुनी संशोधन र प्राविधिक तयारीमा निर्भर रहनेछ ।

 




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।