यो देशमा शेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? सुधन गुरुङको स्पष्टीकरण

Apr 20, 2026 01:57 PM Merolagani



गृह मन्त्री सुदन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर भइरहेका विभिन्न आरोप र चर्चाबारे स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हल्ला र वास्तविकताबीच फरक छुट्याउन आग्रह गरेका छन्।

उनले '२५ लाख रुपैयाँ बराबरको शेयर लुकाइएको” भन्ने आरोपको खण्डन गर्दै धितोपत्र बजारमा कारोबार हुने शेयरअन्तर्गत २ करोडभन्दा बढी लगानी आफूले सम्पत्ति विवरणमा खुलाएको बताए। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही श्रेणीभित्र पर्ने उनको दाबी छ। “लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन,' उनले उल्लेख गरेका छन्।

मन्त्री गुरुङले आफू मन्त्री बन्नुअघि गरिएको शेयर लगानीलाई पनि सामान्य आर्थिक गतिविधि भएको भन्दै प्रश्न उठाएका छन्। सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको स्पष्ट अभिलेख रहेको उनले बताए। लगानीको स्रोत ऋणमार्फत जुटाइएको जनाउँदै उनले २०८० भदौ २९ गतेको लिखित तमसुक र बैंक रेकर्डले त्यसलाई पुष्टि गर्ने बताएका छन्।

'विवादित व्यक्तिसँग साझेदारी' भन्ने आरोपप्रति उनले एउटै कम्पनीमा धेरै शेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको स्पष्ट पारे। त्यस्तो तर्क लागू गर्ने हो भने सोही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने अवस्था आउने उनले टिप्पणी गरे।

स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) आरोपबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग भएको उल्लेख गर्दै प्रक्रिया अघि बढिरहेको बताए। आफूले कुनै हस्तक्षेप नगरेको दाबी गर्दै उनले छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

गुरुङले लगानी गर्दा सबै जोखिम पूर्वानुमान गर्न नसकिने भन्दै पछिका घटनालाई आधार बनाएर निर्णयमाथि प्रश्न उठाउनु उचित नभएको धारणा राखे। कानुनी रूपमा संवेदनशील विषय भएकाले तत्काल प्रतिक्रिया नदिएको पनि उनले स्पष्ट पारे।

अन्त्यमा उनले आरोप र सत्य फरक हुने भन्दै प्रमाणका आधारमा निर्णय हुनुपर्ने बताए। पार्टीले गर्ने निर्णय स्वीकार गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जिम्मेवार ढंगले सत्यमा उभिन आग्रह गरेका छन्।

 




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।