आज देशभर असिना पानी र चट्याङ्गको सम्भावना, सातै प्रदेशमा सतर्क रहन आग्रह

May 03, 2026 09:15 AM Merolagani



देशभर आज मौसम बदली भई विभिन्न स्थानमा असिना पानीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणाली सक्रिय रहेको छ।

यसको प्रभावका कारण अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसोको अवस्था

आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र कोशी प्रदेशको तराईका केही स्थानमा पनि वर्षा हुन सक्नेछ।

रातिको पूर्वानुमान
आज राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि यस्तै किसिमको मौसम देखिन सक्छ। विशेषगरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

सावधानी अपनाउन सुझाव
मौसममा अचानक परिवर्तन आउन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन, विशेषगरी चट्याङ्ग र असिनाबाट जोगिन सुरक्षित स्थानमा बस्न तथा यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको छ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।