यसअघि आयोजना पक्षले बताएअनुसार, चैतमा सुरुङमार्ग सञ्चालनको परिक्षण गर्ने र बैशाखदेखि सञ्चालनमा ल्याउने योजना थियो । तर, उक्त योजनाभन्दा थप तीन महिना ढिलो गरी सञ्चालनमा आउन लागेको हो ।
आगामी जेठभित्र सुरुङमार्गको परीक्षण सञ्चालन गर्ने र साउनदेखि सर्वसाधारणका लागि पूर्ण रुपमा खुला गर्ने तयारी भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । उनका अनुसार, यसअघि बैशाखभित्र सञ्चालन ल्याउने लक्ष्य राखिए पनि केही सम्पन्न गर्नुपर्ने काम र प्रकृयागत रुपमा केही समय ढिलो भएको उनले बताए ।
‘आयोजना आगामी जेठभित्र परिक्षण ट्रायलका रुपमा सञ्चालनमा ल्याउने र साउनबाट पूर्ण रुपमा सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिरहेका छौं,’ उनले भने । उनका अनुसार, हालसम्म नागढुंगा सुरुङमार्गको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । हाल आयोजनाको भौतिक प्रगति ९९.५ प्रतिशत रहेको छ । सुरुङमार्ग सञ्चालनमा ल्याउन सुरक्षाकर्मी तैनाथ, आपतकालीन उद्धार, तालिमलगायतका काम बाँकी रहेका छन् ।
सुरुङमार्गको सञ्चालन चिनिँया कम्पनीले गर्ने
नागढुंगा सुरुङमार्ग सञ्चालन भने चिनियाँ कम्पनीले पाएको छ । यसअघि छनौट भएका १० वटामध्ये आर्थिक र प्राविधिक मुल्यांकनका आधारमा नेपाली–चिनियाँ संयुक्त उपक्रम युसिन–एआरटी ज्वाइन्ट भेन्चर्सले ठेक्का प्राप्त गरेको हो । यो संयुक्त उपक्रमले आगामी ५ वर्षका लागि १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा सञ्चालनको जिम्मा पाएको हो ।

४२ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी जापानी ठेकेदार हाज्मा एन्दो जेभीले २०७६ कात्तिक २६ गतेदेखि निर्माण सुरु गरेको थियो। विगतमा ६ पटकसम्म म्याद थप गर्दै कम्पनीले आयोजना निर्माण सम्पन्न गरेको हो ।
यसअघि तोकिएको अवधि २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, विभिन्न कारणले परियोजना निर्माणमा ढिलाइ हुँदा हालसम्म पनि सुरुङमार्ग सञ्चालनमा आउन सकेको छैन् ।