३६ वर्षे प्रधानमन्त्री र ५० वर्षे अर्थमन्त्रीले देश हाँक्नु नै ठूलो परिवर्तन हो, अब निजी क्षेत्रले पनि सोच बदल्नुपर्छ’: अर्थमन्त्री डा. वाग्ले

May 04, 2026 01:52 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको बताए । अर्थमन्त्री वाग्लेले नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा रहेको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि बर्तमान सरकार अझ निर्मम हुने बताए । पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएको समेत उनले बताए । ब्युरोक्रेसी र रेगुलेटरी संयन्त्रले इमानदार भएर व्यवसाय गर्छु भन्नेहरूका लागि वातावरण लगभग असम्भव विगतमा रहेपनि अब यो अवस्था नरहने उनको भनाइ छ ।

वाग्लेले भने–‘चार–पाँच महिना अगाडि पनि कल्पना गर्नुभएको थियो यो देशमा ३६ वर्षका प्रधानमन्त्रीले दमदारसित यो देशलाई हाक्नुहुन्छ भन्नेकुरा कसैले कल्पना गर्नुभएको थियो ? भर्खर ५० नाघेको अर्थमन्त्री यो क्याबिनेटको सबैभन्दा वृद्ध सदस्य भनेर कसैले कल्पना गर्नुभएको थियो ? हामी त ८० वर्ष नपुगी हैन मन्त्री, प्रधानमन्त्री, वरिष्ठ नेता के–के के–के भन्ने त हुँदैन भन्या थियौँ नि । यो त ठूलो परिवर्तन हो नि । त्यसैले प्राइभेट सेक्टरले पनि यो अभूतपूर्व जनादेशलाई शिरोपर गर्नु बाहेकको विकल्प छैन । तर कहिलेकाहीँ पुराना बानीहरू बिर्सनलाई, परिवर्तन गर्नलाई समय लाग्न सक्छ । मेरो एकदम तपाईँहरू प्रतिको ‘फन्डनेस’ र कसरी हामी सँगै अब जाने हो । अघि मैले भनिसकेँ यो देश बनाउनको लागि निजी क्षेत्र बिना हामी सक्दै सक्दैनौँ र अलिकति प्राइभेट सेक्टरको माइन्डसेट र एप्रोचमा पनि चेन्ज गर्नुपर्ने हुन्छ । र मैले त्यहाँ भनेको थिएँ कि धेरै उद्यमी व्यवसायीहरूलाई हाम्रो यो डिस्क्रसन ओरिएन्टेड ब्युरोक्रेसी, रेगुलेटरीको यो क्रियाकलापले गर्दा खेरी इमानदारपूर्वक उद्यम व्यवसाय गर्छु भन्नलाई लगभग असम्भव बनाइदिएको छ ।’

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको महत्वबारे चर्चा गर्दै अर्थमन्त्रीले निजी क्षेत्रको सहभागिता बिना देशको विकास असम्भव रहेको स्पष्ट पारे । उनले सरकारले नयाँ जनादेश पाएको सन्दर्भमा निजी क्षेत्रले पनि पुराना बानीहरू त्यागेर पारदर्शी र उद्यमशील बाटो रोज्नुपर्ने सुझाव दिए । उनले प्रविधिको प्रयोग र सदाचारलाई बढावा दिँदै व्यवसायिक वातावरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले रास्वपाले ल्याएको वाचापत्रमा टेकेर सरकार अघि बढ्ने समेत बताए।