आइपीओ अनुमति माग्दै चार कम्पनी पुगे सेबोनमा

May 04, 2026 05:26 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नयाँ वर्ष २०८३ को सुरुवातसँगै साधारण शेयर निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरूको संख्या थपिएको छ। बोर्डको पछिल्लो तथ्यांक अनुसार, वैशाख लागेपछि मात्रै विभिन्न क्षेत्रका ४ वटा नयाँ कम्पनीहरूले आइपीओ निष्कासनका लागि निवेदन दर्ता गराएका छन्।

बैशाख महिनामा होटल तथा पर्यटन क्षेत्रबाट डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड र केटीएम हस्पिटालिटी लिमिटेडले आवेदन दिएका छन् । डोलेश्वरले १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ भने कम्पनीको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै केटीएम हस्पिटालिटीले पनि १५ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ भने कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

त्यस्तै उत्पादन तथा प्रशोधन क्षेत्रतर्फ भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा १५ लाख कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको कम्पनीले प्रिमियम सहित २ सय ३३ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै एशियन कन्क्रिटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता साधारण शेयरका लागि आवेदन दर्ता गराएको छ र यसको बिक्री प्रबन्धक पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै रहेको छ।

हाल धितोपत्र बोर्डको पाइपलाइनमा कुल ४४ करोड २१ लाख ७२ हजार १३२ कित्ता शेयर निष्कासनको प्रक्रियामा रहेको छ, जसको कुल रकम ६६ अर्ब २३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबर हुन्छ। बोर्डले कम्पनीहरूले पेश गरेका कागजात र वित्तीय विवरणहरूको अध्ययन गरी मापदण्ड पूरा भएपछि मात्र निष्कासनको अन्तिम अनुमति प्रदान गर्नेछ।




एनआईसी एशियालाई हकप्रद शेयर जारी गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति

May 04, 2026 10:47 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ। बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो।