तर, शेयरको मूल्य निर्धारण गर्ने प्रारम्भिक तथा निर्णायक चरणमै देखिएको अन्योलले अहिले यो प्रक्रिया जटिल मोडमा पुगेको छ। नर्भिकले आफ्नो ब्रान्ड भ्यालु, वित्तीय हैसियत र भविष्यको प्रक्षेपण अनुसार उच्च मूल्यको अपेक्षा गरेको थियो। तर योग्य संस्थागत लगानीकर्ताहरूबाट प्राप्त भएको आशय मूल्यले कम्पनी व्यवस्थापनलाई नराम्ररी झस्काएको छ। विशेष गरी बुक बिल्डिङ विधिमा संस्थागत लगानीकर्ताको भूमिका शेयरको वास्तविक बजार मूल्य तय गर्नका लागि निर्णायक मानिन्छ। तर नर्भिकको हकमा उनीहरूले प्रस्ताव गरेको मूल्य कम्पनीको आन्तरिक मूल्याङ्कन र अपेक्षाभन्दा निकै तल झरेपछि यो विषय पेचिलो बनेको हो।
नर्भिक अस्पतालले आफ्नो आईपीओ प्रक्रिया अन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूसँग ‘आशय मूल्य’ (Intent Price) माग गरेको थियो। उक्त प्रक्रियामा २९ वटा योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाए। सहभागी ती कम्पनीहरूले नर्भिकको वित्तीय विवरण र बजारको सम्भावनालाई हेरेर विभिन्न दरमा आफ्नो आशय मूल्य पेस गरे। लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरूका अनुसार संस्थागत लगानीकर्ताहरूले पेस गरेको आशय मूल्यका आधारमा नर्भिकको शेयरका लागि प्रतिशेयर ४६० रुपैयाँ ‘कटअफ’ मूल्य कायम भएको छ।

लक्ष्मी सनराइज क्यापिटलका अधिकारी बिजेन्द्र प्रधानका अनुसार संस्थागत लगानीकर्ताहरूबाट प्राप्त भएको कटअफ मूल्यबारे कम्पनीलाई आधिकारिक रूपमा जानकारी गराई सकिएको र उक्त मूल्यमा शेयर निष्कासन गर्ने वा नगर्ने निर्णय कम्पनीमा निहित रहने छ। "क्यापिटलले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिसकेको छ र अब उक्त मूल्यमा शेयर जारी गर्ने वा नगर्ने भन्ने कुरा नर्भिकको सञ्चालक समितिको निर्णयमा भर पर्छ," प्रधानले भने।
यद्यपि, नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने क्यापिटलको दाबीलाई खण्डन गर्दै अहिलेसम्म आफूहरूलाई कुनै पनि आधिकारिक जानकारी प्राप्त नभएको बताए। उनले बाहिर आएका मूल्यका कुराहरू आधिकारिक नभएको दाबी गरे पनि मूल्यप्रति कम्पनीको असन्तुष्टि भने लुक्न सकेन। आउने सोमबार अस्पतालको सञ्चालक समितिको बैठक बस्न लागेको र उक्त बैठकमा आईपीओकै विषयमा गम्भीर छलफल हुने मिश्रको भनाई छ।
उच्च स्रोतका अनुसार नर्भिक अस्पताल व्यवस्थापनले आफ्नो प्रतिशेयर मूल्य कम्तीमा ११०० रुपैयाँको हाराहारीमा हुनुपर्ने दाबी र अपेक्षा राख्दै आएको थियो। कम्पनीको बुझाइमा ११०० रुपैयाँको शेयरलाई जम्मा ४६० रुपैयाँमा बिक्री गर्नु भनेको कम्पनीको प्रतिष्ठामा आँच पुग्नु मात्र नभई संस्थाको वास्तविक सम्पत्तिको अवमूल्यन हुनु पनि हो। स्रोतले भनेको छ, "११ सयको माल ४६० मा बिक्री गर्न कम्पनी कुनै पनि हालतमा तयार छैन।" सोही कारण यो मूल्यमा सम्झौता गरेर अघि बढ्नुभन्दा प्रक्रियालाई नै केही समय रोकेर विकल्पहरू खोज्ने मुडमा कम्पनी पुगेको देखिन्छ।
मूल्य निर्धारणको यो विवादमा ‘बुक बिल्डिङ निर्देशिका, २०७७’ को कानुनी व्यवस्थाले कम्पनीलाई थप दबाब दिएको छ। निर्देशिकाको परिच्छेद ५ को दफा १४ मा एउटा यस्तो व्यवस्था छ, जसले कम्पनीलाई सस्तो मूल्यमा शेयर बेच्न बाध्य पार्न सक्छ। उक्त दफा अनुसार सर्वसाधारणलाई धितोपत्र जारी गर्दा संस्थागत लगानीकर्ताको बोलकबोलबाट निर्धारित भएको कटअफ मूल्यमा अनिवार्य रूपमा १० प्रतिशत छुट दिनुपर्ने हुन्छ। यदि संस्थागत लगानीकर्ताका लागि ४६० रुपैयाँ कटअफ कायम भयो भने नर्भिकले सर्वसाधारणका लागि प्रतिशेयर जम्मा ४१४ रुपैयाँमा आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ। ११०० रुपैयाँको अपेक्षा गरेको कम्पनीका लागि ४१४ रुपैयाँमा शेयर निष्कासन गर्नु भनेको ठुलो आर्थिक धक्का हो। यही कानुनी प्रावधानका कारण नर्भिक अहिले ४६० को मूल्यलाई कुनै पनि हालतमा स्वीकार नगर्ने अडानमा छ।
कुराकानीका क्रममा सिइओ अजय मिश्रले एउटा नयाँ सम्भावना र रणनीतिको पनि संकेत गरेका छन्। उनले वर्तमान प्रक्रियामा मूल्य अपेक्षित नआएमा पुनः ‘रोड शो’ गर्न पाइने कानुनी प्रावधान रहेकोतर्फ संकेत गरे। मिश्रले भनेका छन्, "मैले बुझ्दा र प्रक्रिया हेर्दा रोड शो गर्न पनि पाइने रहेछ, हामी सबै विकल्पमा छलफल गर्छौँ।" यसको अर्थ कम्पनीले ४६० को मूल्यलाई आधिकारिक रूपमा अस्वीकार गरेर पुनः नयाँ मूल्य निर्धारण प्रक्रिया सुरु गर्न सक्छ। कम्पनीले लगानीकर्ताहरूलाई आफ्नो वित्तीय क्षमता, अस्पतालको विस्तार योजना र भावी मुनाफाको सुनिश्चितताबारे फेरि बुझाएर उच्च मूल्य प्राप्त गर्न सकिने आसा गरेको छ। यदि सोमबारको बोर्ड बैठकले पुनः रोड शो गर्ने निर्णय गर्यो भने यो आईपीओ प्रक्रिया केही महिना पर धकेलिन सक्छ।
अबको सबैभन्दा ठुलो प्रतीक्षा आगामी सोमबारको सञ्चालक समितिको बैठकलाई नै गरिएको छ। उक्त बैठकले ४६० रुपैयाँको 'तितो' सत्यलाई स्वीकार गर्छ वा आफ्नै अडानमा रहेर पुनः रोड शोको बाटो रोज्छ। उच्च स्रोतको दाबी र म्यानेजमेन्टको हाउभाउलाई आधार मान्ने हो भने, नर्भिक आफ्नो ब्रान्डलाई अवमूल्यन गरेर सस्तोमा शेयर बेच्ने पक्षमा देखिँदैन र पुनः रोड शोमा जाने सम्भावना नै प्रबल देखिएको छ।
नर्भिक इन्टरनेसनल हस्पिटल नेपालको स्वास्थ्य क्षेत्रमा एउटा प्रतिष्ठित नाम हो। हाल कम्पनीको जारी पूँजी १ अर्ब २ करोड रुपैयाँ रहेको छ र यसले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् कुल २० लाख ४१ हजार २०० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।