सन् २०१६ (वि.सं. २०७३) मा स्थापित यस कम्पनीले देशको जलस्रोतको समुचित प्रयोग गरी दिगो ऊर्जा उत्पादनमार्फत राष्ट्रिय समृद्धिको लक्ष्य अघि सारेको छ ।
कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलाबाट कुल १५.४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडेर यस कम्पनीले आफूलाई एक सफल उत्पादकको रूपमा स्थापित गरिसकेको छ ।
कम्पनी परिचय र स्थापना
विन्ध्वबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्थापना २०७३ साल पुस ३ गते निजी क्षेत्रको कम्पनीको रूपमा भएको थियो । पछि यसलाई २०७४ चैत २९ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको हो । यसको मुख्य कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ। कम्पनीले मुख्यतया जलविद्युत आयोजनाहरूको पहिचान, निर्माण र सञ्चालन गर्ने उद्देश्य राखेको छ।
दुईवटा आयोजना निर्माणमा सफलता
कम्पनीले हाल कास्की र लमजुङ जिल्लाको सिमानामा बग्ने रुदी खोलामा दुईवटा जलविद्युत आयोजनाहरू निर्माण गरी सञ्चालन गरिरहेको छ । रुदी खोला ’ए’ जलविद्युत आयोजना (८.८ मेगावाट) क्षमताको यो कम्पनीको पहिलो व्यवसायिक आयोजना हो । यसले २०७५ चैत ५ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको थियो।
त्यस्तै कम्पनीले रुदी खोला ’बी’ जलविद्युत आयोजना (६.६ मेगावाट) पनि २०७६ फागुन २५ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीले प्रवर्द्धन गरेको दुवै आयोजनाबाट कुल १५.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ती दुईवटा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बिक्री नै कम्पनीको मुख्य आम्दानीको स्रोत बनेको छ ।
नेप्सेमा सूचीकरण
विन्ध्वबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पहिलो प्रारम्भिक सेयर निष्कासन(आइपीओ) स्वीकृत भएको थियो भने नेपाल स्टक एक्सचेञ्जमा भने २०७९ साल असार २७ गते सूचीकृत भएको हो । नेप्सेमा यसको कारोबार (बीएचडीसी) संकेतबाट हुने गर्दछ । सूचीकरणको समयमा कम्पनीको १ करोड कित्ता साधारण शेयर (संस्थापक र सर्वसाधारण गरी) सूचीकृत भएको थियो ।
सूचीकरणपछि यसको पहिलो कारोबारको लागि नेप्सेले १११.३४ रुपैयाँदेखि ३३४.०२ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । यो कम्पनी ’जलविद्युत’ (हाइड्रोपावर) समूह अन्तर्गत पर्दछ । दोस्रो बजारमा यो कम्पनीको शेयर कारोबार मध्यम स्तरको र नियमित हुने गरेको छ । दैनिक रूपमा उल्लेख्य संख्यामा कित्ताहरू खरिद–बिक्री हुने गर्दछन् ।
कम्पनीको वित्तीय अवस्था सुधारिँदो
कम्पनीको वित्तीय अवस्था स्थापनाकालदेखि हालसम्म क्रमिक सुधारोन्मुख देखिएको छ । आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गर्न थालेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ११ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.३२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ६ करोड ६३ लाख रुपैयाँ थियो।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३० करोड ७४ लाख रुपैयाँबाट बढेर ३५ करोड ३१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ३० करोड १ लाख रुपैयाँबाट बढेर ३४ करोड ४८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १० करोड ८ लाख रुपैयाँबाट घटेर ९ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ भने बुकभ्यालु ११७ रुपैयाँ ४३ पैसा रहेको छ।

चुक्ता पूँजी र लाभांश वितरणको अवस्था
कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई नियमित लाभांश दिने प्रयास गरिरहेको छ । पछिल्लो पाँच वर्षको आर्थिक वर्षमा कम्पनीले नगद लाभांश र बोनस सयर प्रदान गर्दै आइरहेको छ । जसअनुसार, आव २०७७/०७८ मा १० प्रतिशत नगद लाभांश वितरण गरिएको थियो ।
त्यस्तै, आव २०७८/०७९ मा कम्पनीले ५.२६ प्रतिशत बोनस शेयर, आव २०७९/०८० मा कम्पनीले ५.२६ प्रतिशत नगद लाभांश, आव २०८०/८१ मा ८ प्रतिशत बोनस शेयर र आव २०८१/०८२ मा भने कम्पनीले ५.२६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
हरेक वर्ष कम्पनीले आफ्ना लगानीकर्तालाई खाली हात पठाउन नपरेको कम्पनीका संस्थापक अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन् । ‘हरेक वर्ष ’आइदर डिभिडेन्ड अर शेयर’ दिँदै आएका छौँ, क्यास र शेयरमा । सुरुवातदेखि अहिलेसम्म पनि हामीले त्यसलाई निरन्तरता दिएका छौं,’ आचार्य बताउँछन् ।
को–को छन् कम्पनीको नेतृत्वमा ?
कम्पनीको नेतृत्व अनुभवी र व्यावसायिक व्यक्तिहरूले गरिरहेका छन्। प्रतिवेदन अनुसार सञ्चालक समितिमा देहायका सदस्यहरू रहेका छन् । जसमा कम्पनीको संस्थापक अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेका छन् । त्यस्तै, कम्पनीको सञ्चालकहरुमा सिता आचार्य, धनकुमारी अधिकारी, सुदिप आचार्य, लक्ष्मण पौडेल, तम प्रसाद गुरुङ, इन्द्र देवी गुरुङ, सुजन बाँनिया र स्वतन्त्र सञ्चालकहरुमा शतिस शर्मा र सुशिल खड्का रहेका छन् ।

भविष्यका योजना र लगानी विविधिकरण
कम्पनीले आफ्नो व्यवसाय विस्तारका लागि विभिन्न अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएको छ । कम्पनीले नयाँ जलविद्युत आयोजनाहरू (जस्तैः तल्लो रुदी खोला र अन्य सम्भावित आयोजनाहरू) पहिचान गरी लगानी गर्ने योजना बनाएको छ ।
कम्पनीका संस्थापक अध्यक्ष आचार्यका अनुसार, कम्पनीले कम्तीमा १००० मेगावाटको विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल कम्पनी ५०० मेगावाट बिजुली उत्पादन गर्ने चरणमा अघि बढिरहेको छ । कम्पनीले नदी प्रवाहमा आधारित(आरओआर) प्रकृतिका आयोजनाबाट अब पीआरओआर र रिजर्भवायर प्रोजेक्ट बनाउन खोजिरहेको आचार्यले बताए । विन्ध्वबासिनीको मुख्य कम्पनी एमआर ग्रुप हो । जसअन्तर्गत विभिन्न ५ वटा भगिनी कम्पनी छन् । जसमध्ये विन्ध्वबासिनी हाइड्रोपावर कम्पनी एक हो ।
‘एक-दुई वर्षमा कम्तीमा एक हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएका छौं । अहिले नै ५०० मेगावाट पुर्याउने अवस्थामा छौं,’ उनले भने, ‘भविष्यमा हामी पीआरओआर र रिजर्भवायर प्रोजेक्ट खोजिरहेका छौँ ।’ जलविद्युतबाहेक कम्पनीले अन्य नवीकरणीय ऊर्जा (सौर्य ऊर्जा) का क्षेत्रमा पनि सम्भाव्यता अध्ययन गर्ने लक्ष्य राखेको छ ।
निष्कर्ष
विन्ध्वबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड नेपालको जलविद्युत क्षेत्रमा एक सफल र स्थिर कम्पनीको रूपमा स्थापित हुँदै गएको छ । दुईवटा आयोजनाहरू सफल सञ्चालनमा हुनु, नियमित आम्दानी हुनु र शेयरधनीलाई प्रतिफल दिन सक्नु यसका सबल पक्ष हुन् ।
यद्यपि, खोलाको बहावमा आउने उतारचढाव र बैंकको ब्याजदर जस्ता बाह्य कारकहरूले नाफामा केही प्रभाव पार्न सक्ने भए तापनि भविष्यमा नयाँ आयोजनाहरूमा गरिने लगानीले कम्पनीको वृद्धि अझ सुनिश्चित गर्ने देखिन्छ ।