पिपुल्स इनर्जी लिमिटेडको प्रवर्द्धनमा निर्माण भइरहेको उक्त जलविद्युत् आयोजनाको अधिकांश निर्माणकार्य अन्तिम चरणमा पुगेको हो।

हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ८५ प्रतिशत रहेको छ । ७ किलोमिटर लामो सुरुङ(टनेल) खन्ने काम सकिएको छ । त्यस्तै, बाँधस्थलमा सिभिल संरचनाको काम सम्पन्न भएको छ । अहिले विद्युतगृह निर्माण, हाइड्रो मेकानिल र इलेक्ट्रो मेकानिकलको काम भइरहेको छ । टनेलभित्र कंक्रिटिङ र फिनिसिङको काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
हालसम्म ७५ देखि ८० प्रतिशत हाराहारीमा खर्च भएको आयोजनाले जनाएको छ । सुरुङभित्र अन्तिम लाइनिङ र सर्पोटको काम, विद्युतृगृहमा इलेक्ट्रो मेकानिकल उपकरणहरु जडान र परिक्षणको काम बाँकी रहेको छ ।
खिम्ती–२ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको र आगामी दशैं अगाबै बिजुली बाल्ने तयारी भएको पिपुल्स इनर्जी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
‘खिम्ती–२ को काम लगभग अन्तिम चरणमा छ । आगामी असोज अर्थात दशैं अगाडि नै हामीले बिजुली बाल्छौं,’ अध्यक्ष आचार्यले भने । उनका अनुसार, आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक १३२ केभीए प्रसारण लाइन र टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाले सुरुमा तोकिएको समयमा बाढी, कोभिड–१९ र अन्य प्राविधिक कारणले केही ढिलाइ भोग्नुपरेको थियो । पछिल्लो संशोधित तालिका अनुसार, यो आयोजनाबाट सन् २०२६ को मार्च (वि.सं. २०८२ चैत) सम्ममा व्यावसायिक रूपमा बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर, त्यो अवधि पनि गुज्रिसकेको छ ।
नदी प्रवाहमा आधारीत(एक ’रन अफ रिभर) प्रकृतिको यो आयोजनाको विद्युत खरिद सम्झौता(पीपीए) २०७४ असोज १४ मा भएको थियो । दोलखाको जिरी र रामेछापको ठोसे क्षेत्रमा यो आयोजना अवस्थित छ । ४८.८ मेगावाट क्षमताको यो आयोजना निजी क्षेत्रले निर्माण गरिरहेका ठूला आयोजनामध्ये एक हो ।
कुल ८ अर्ब ६४ करोड लागत अनुमान गरिएको यो आयोजना विभिन्न कारणले निर्माणमा ढिलाइ हुँदा त्यसको लागत समेत बढ्ने देखिएको छ । उक्त आयोजना निर्माणमा सानिमा बैंकको नेतृत्वमा विभिन्न ७ वटा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेका छन् ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७४ मंसिरमा चिनिँया कम्पनी सीडब्लुटीडब्लुले आयोजना निर्माणको जिम्मेवारी लिएको थियो । तोकिएको समयसीमाभित्र आयोजना निर्माण सम्पन्न नहुँदा लागत १० अर्ब पुग्ने अनुमान गरिएको छ ।