म्यारियटसँगको साझेदारीले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउने अध्यक्ष विनोद चौधरीको उद्घोष

Jun 07, 2026 05:46 PM Merolagani



चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारियट इन्टरनेसनल’सँगको साझेदारीले नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।

म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो सहकार्य नेपालको समृद्धिका लागि एक ऐतिहासिक ‘स्टेटमेन्ट’ भएको बताए । आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको यात्रा स्मरण गर्दै चौधरीले सन् १९९८ मा नेपालमा होटल शुरु गर्ने प्रयास प्राविधिक कारणले सफल हुन नसकेको उल्लेख गरे । दुई वर्षअघि सिंगापुरमा म्यारियटको नेतृत्वसँग भएको भेटवार्ताले यो साझेदारीलाई मूर्तरुप दिएको उनको भनाइ थियो ।

म्यारियटको ९ हजार ९ सयभन्दा बढी होटल र १.७ मिलियन कोठाहरू सहितको विश्वव्यापी सञ्जालसँगको सहकार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाकै पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे । समारोहमा चौधरीले नेपालको वर्तमान राजनीतिक नेतृत्व र युवा संसदप्रति आशावादी हुँदै सरकारको विकासको मार्गचित्रमा निजी क्षेत्रको साथ रहने प्रतिवद्धता जनाए । रित्ज–काल्र्टनको शिलान्यास नयाँ सरकार गठनकै दिन हुनु र छोटो समयमै म्यारियट ग्रुपका अध्यक्ष डेभिड म्यारियट स्वयं नेपाल आउनुलाई उनले सुखद् संयोग र ठूलो उपलब्धिका रूपमा चित्रण गरे ।

उनले भने, ‘नेपालमा रित्ज–काल्र्टन, वेस्टिन र जेडब्लु म्यारियट जस्ता प्रतिष्ठित ब्रान्डहरूको प्रवेशले विश्व जगतमा सकारात्मक सन्देश प्रवाह गर्नेछ । यसले नेपाल अब उच्चस्तरको आतिथ्य सेवा प्रदान गर्न पूर्ण रूपमा तयार छ भन्ने प्रमाणित गर्दछ । म्यारियटको विश्व मानचित्रमा नेपाल अब एक प्रमुख गन्तव्यको रूपमा स्थापित भएको छ ।’

नेपालमा म्यारियटका लगभग सबै प्रमुख ब्राण्डहरू भित्र्याउन सफल भएको बताए । यसका साथै, भारतमा पनि म्यारियटसँगको साझेदारीमा ५०० वटा होटल सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको र हरेक हप्ता एउटा होटल थप्ने गरी तिब्र गतिमा विस्तार भइरहेको जानकारी उनले दिए । नेपाल सरकारले सन् २०२७ लाई वेलनेस पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा यो साझेदारीले पर्यटन पूर्वाधार र इकोसिस्टम निर्माणमा थप बल पुग्ने उनको विश्वास छ ।