यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् ।

त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरूलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो ।
‘यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्त्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भने ।
बैंकका अनुसार नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भा.रु १५ हजार र मासिक अधिकतम भा.रु १ लाखसम्म पठाउन सक्नेछन् । त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भा.रु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन ।
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको हो, जसले दुई देशबीच सुरक्षित तथा सहज डिजिटल लेनदेन सुनिश्चित गर्नेछ।