कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डको निर्णायक मण्डलमा पुग्ने उनी पहिलो नेपाली हुन्।
कर्पोरेट फिल्म, दृश्य कथन तथा ब्रान्डेड मिडिया क्षेत्रको अन्तर्राष्ट्रिय अवार्डमा नेपाली प्रतिनिधित्व भएको यो पहिलो अवसर भएको बताइएको छ।

सन् २०१० मा स्थापना भएको कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्डको मुख्यालय अष्ट्रियाको भियनामा छ। यो अवार्ड प्रत्येक वर्ष फ्रान्सको कान्समा आयोजना हुन्छ।
कर्पोरेट फिल्म, अनलाइन मिडिया, वृत्तचित्र तथा प्रतिवेदन निर्माणसँग सम्बन्धित यो अन्तर्राष्ट्रिय महोत्सवले विश्वस्तरमा मापदण्ड निर्धारण गर्दै आएको छ।
यसमा गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफी प्रदान गरिन्छ। सन् २०२६ को संस्करणमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश छन्।
विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, प्रसारण संस्था, ग्राहक संस्था तथा विद्यार्थीको सहभागिता रहनेछ। पहिलो पटक एक नेपाली सिर्जनशील व्यक्तित्व विश्वस्तरीय दृश्य मिडिया मुल्यांकनको उच्च तहमा पुगेका छन्। जुरी सदस्यका रूपमा आचार्यले विश्वभरबाट प्राप्त फिल्म, विज्ञापन तथा प्रसारणसम्बन्धी प्रविष्टिको मूल्यांकन गर्नेछन्।
नेपाली अनुभव, वाचन शैली, विकासशील बजारको यथार्थ र सिर्जनशील दृष्टिकोणलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि उनले पाएका छन्।
यसले नेपाली विज्ञापन तथा सिर्जनात्मक उद्योगको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
मनोनयनबारे प्रतिक्रिया दिँदै आचार्यले सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट नहुने बताए।
सत्य र उत्कृष्ट प्रस्तुतीकरणसहित सुनाइने हरेक कथाले विश्वमञ्च पाउन योग्य हुने उनको भनाइ छ।
यो मनोनयन आफ्नो मात्र नभई सीमाभन्दा पर सपना देख्न साहस गर्ने प्रत्येक नेपाली सिर्जनशील व्यक्तिको उपलब्धि भएको उनले बताए।
विज्ञापन, ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म निर्माण तथा जनसम्पर्क क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव हासिल गरेका आचार्य नेपालको सञ्चार तथा विज्ञापन उद्योगका परिचित व्यक्तित्व मानिन्छन्।
उनको नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले विज्ञापन क्षेत्रको कृति अवार्डमा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि प्राप्त गरेको छ।
आचार्यका चर्चित अभियानमध्ये कोका–कोला नेपालको ‘मन खोलौँ कोकसँग’ अभियान र ‘मेरो मोबाइल’ लाई ‘एनसेल’ मा पुनर्ब्रान्डिङ गर्ने अभियान पर्छन्।
एनसेलको पुनर्ब्रान्डिङका क्रममा नेपालको इतिहासमै पहिलो पटक दैनिक पत्रिकाको मास्टहेड बैजनी रङमा प्रकाशन गरिएको थियो। उनले सिर्जना गरेका ‘मुटु चाहिन्छ मुटु’, ‘मुड चेन्ज तुरुन्तै’, ‘चिसो भनेकै कोका–कोला’ र ‘गरी खाना देऊ’ जस्ता नारा नेपाली उपभोक्तामाझ लोकप्रिय छन्।
उनका अन्तर्राष्ट्रिय उपलब्धिमध्ये सन् २००० मा जोन्सन एण्ड जोन्सनबाट प्राप्त बेल रिङ्गर अवार्ड, सन् २००७ मा एड क्लब मुम्बईबाट प्राप्त एबी अवार्ड तथा सन् २०२५ मा प्राप्त ब्रान्डलरिएट बेस्ट ब्रान्ड्स अवार्ड उल्लेखनीय छन्।
प्रिज्मा एड्भर्टाइजिङ उक्त अवार्ड प्राप्त गर्ने पहिलो नेपाली एजेन्सी हो।