एआईको प्रयोगले ऊर्जा र पानीको चरम संकट निम्त्याउन सक्ने सुरेन्द्र पाण्डेको चेतावनी

Jun 08, 2026 01:38 PM Merolagani



नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम संकट निम्त्याउनसक्ने चेतावनी दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले यसका विरुद्ध नीतिगत र नियमनको तयारी थाल्नुपर्ने बताए । पाण्डेले एआईको युगमा प्रवेश गरिसकेको वर्तमान समयमा यसका नकारात्मक वातावरणीय असरहरूलाई नजरअन्दाज गर्न नमिल्ने बताए । उनकाअनुसार एआईका ठूला डाटा सेन्टरहरू सञ्चालन गर्न अत्यधिक ऊर्जा र पानीको आवश्यकता पर्छ । यसले आउने दिनमा वातावरणीय संकट, जलवायु परिवर्तन र वनविनाश जस्ता गम्भीर समस्याहरूलाई थप भयावह बनाउन सक्छ ।

एआईको प्रयोग नेपाली किसान र कृषि क्षेत्रको आधुनिकीकरणका लागि अनिवार्य रहेको उल्लेख गर्दै उनले प्रविधिको आवश्यकता र यसले निम्त्याउने वातावरणीय क्षतिबीच सन्तुलित व्यवस्थापन खोज्नुपर्ने चुनौती रहेको औँल्याए । किसानलाई आवश्यक पर्ने डाटा र प्रविधिको लाभ सुरक्षित तवरले दिलाउनु नै आजको मुख्य आवश्यकता रहेको उनको तर्क थियो ।

पूर्वअर्थमन्त्री पाण्डेले भने,'अहिले हामी आर्टिफिसियल इन्टेलिजेन्सको युगमा छौँ र यसको प्रयोग दिनानुदिन तीव्र रूपमा बढिरहेको छ । यसको सीधा अर्थ के हो भने, आउने दिनहरूमा ऊर्जा र पानीको खपत एउटा गम्भीर समस्याको रूपमा देखा पर्नेछ । एआईका ठूला डाटा सेन्टरहरूका कारण वातावरणीय संकट, जलवायु परिवर्तन र वनविनाश जस्ता गम्भीर समस्याहरू अझ बढी भयावह बन्न सक्छन् । तर यसको अर्को पाटो पनि छ । एआईको प्रयोग हाम्रा किसानहरूका लागि उत्तिकै फाइदाजनक र आवश्यक पनि छ । अब चुनौती कहाँ छ भने, एउटा पक्षमा यसको अत्यधिक आवश्यकता छ भने अर्को पक्षमा यसले निम्त्याउने वातावरणीय क्षति र ऊर्जा संकट छ । यी दुवै पक्षलाई सँगै राखेर कसरी सन्तुलित व्यवस्थापन गर्ने ? किसानहरूलाई आवश्यक पर्ने डाटा र प्रविधिको लाभ कसरी दिलाउने ? यो आजको मुख्य आवश्यकता हो । यी सबै विषयहरूलाई ध्यानमा राख्दै हामीले सरकार र सरोकारवाला निकायहरूलाई बदलिँदो परिवेश अनुसार उपयुक्त कानुन, नियम र नियमनकारी संयन्त्र बनाउन दबाब दिनु आवश्यक छ । यसका लागि हाम्रो आफ्नै संस्थाको नीतिगत र नियमनकारी विभाग बलियो हुनुपर्छ, जसले सरकारलाई सही नीति बनाउन घच्घच्याउन सकोस् । यसका साथै, हामीले आफ्नै ज्ञान उत्पादन गर्ने प्रक्रियालाई पनि सशक्त बनाउनु पर्छ । समाजशास्त्री तथा अर्थशास्त्री इमानुएल वालरस्टिनको सिद्धान्तले भनेझैं—हामी दक्षिणका मुलुकहरूमा ज्ञान र कच्चा पदार्थ त पैदा गर्छौँ, तर त्यो उत्तरतर्फ स्थानान्तरण हुन्छ । पुँजीवादी देशहरूले तेस्रो विश्वबाट कच्चा पदार्थ र डाटा लैजान्छन्, त्यसलाई आफ्नो अनुकूल ज्ञानमा बदल्छन् र फेरि त्यही ज्ञान महँगोमा हामीलाई नै बेच्छन् । यो प्रक्रिया अहिले पनि चलिरहेको छ । यदि यो क्रम रोक्न सकिएन भने, आउने दिनहरूमा उत्तर र दक्षिण बीचको खाडल मात्र होइन, समाजमा किसान र अन्य वर्गबीचको असमानता अझै धेरै बढ्नेछ । त्यसैले, यो डिजिटल असमानतालाई कम गर्न र आफ्नै देशको हित रक्षा गर्न हामीले नीतिगत क्षेत्रमा आक्रामक रूपमा काम गर्नुपर्छ ।’

उपाध्यक्ष पाण्डेले समाजशास्त्री इमानुएल वालरस्टिनको सिद्धान्तलाई प्रस्तुत गर्दै ज्ञानको राजनीति र आर्थिक शोषणको नयाँ स्वरूपबारे सचेत गराए ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।