शेयर बजारको नयाँ नियम अनुसार दैनिक मूल्य उतारचढावको सीमा १५ प्रतिशत तोकिए पनि सोपानको शेयर मूल्य १० प्रतिशतको सकारात्मक सर्किटमा नै रोकिँदा लगानीकर्ताहरू अलमलमा परेका छन्।
सोपान फर्मास्युटिकल्सले आज स्पेशल प्रि-ओपन सेसनमा प्रतिकित्ता २७६ रुपैयाँ ५० पैसामा पहिलो कारोबार गरी दोस्रो बजारमा डेब्यु गरेको थियो। त्यसपछि सुरु भएको नियमित कारोबारमा कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत (२७ रुपैयाँ ६० पैसा) ले बढेर प्रतिकित्ता ३०४ रुपैयाँ १० पैसा पुगेको छ। नयाँ नियम अनुसार सोपानको शेयर मूल्य आज १५ प्रतिशत अर्थात् करिब ३१७ रुपैयाँ ९० पैसासम्म बढ्न पाउने सुविधा हुनुपर्ने थियो। तर, नियमित बजारमा यसको मूल्य ३०४ रुपैयाँ १० पैसा पुगेपछि सोभन्दा माथिको मूल्यमा खरिद आदेश राख्न नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) ले अस्वीकार गरेको लगानीकर्ताहरूले गुनासो गरेका छन्।
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत वैशाख ७ गतेदेखि लागू हुने गरी ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) नियमावली, २०८२’ कार्यान्वयनमा ल्याएका थिए। यस संशोधित नियमावलीको प्रमुख विशेषता नै सूचिकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा साबिकको १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउनु थियो। मूल्य निर्धारण प्रक्रियालाई थप वैज्ञानिक र यथार्थपरक बनाउन यो व्यवस्था गरिएको भनिए पनि व्यवहारमा भने नवसूचीकृत कम्पनीको हकमा पुरानै १० प्रतिशतको सीमा लागू हुँदा नेप्सेको प्रणालीगत तयारी र प्रविधिको कमजोरी उदाङ्गो भएको छ।
सोपान फर्मास्युटिकल्सले सर्वसाधारणका लागि जारी गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापकहरूको १ करोड २८ लाख ७० हजार कित्ता गरी कुल १ करोड ७१ लाख ६० हजार कित्ता शेयर गत जेठ २२ गते नेप्सेमा सूचीकृत गराएको थियो। पहिलो कारोबारका लागि नेप्सेले ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ५० पैसाको रेञ्ज तोकेकोमा आज स्पेशल प्रि-ओपन सेसनमा अधिकतम विन्दुमा पहिलो कारोबार भएको थियो। तर, नियमित सत्रमा माग अत्यधिक हुँदाहुँदै पनि टिएमएसले १५ प्रतिशतको नयाँ सीमा स्वीकार नगरेर १० प्रतिशतकै सकारात्मक सर्किटमा खरिद आदेश रोकिदिएपछि लगानीकर्ताहरूले आक्रोश व्यक्त गरेका छन्। नीतिगत रूपमा पूँजी बजारलाई आधुनिक र लचिलो बनाउने घोषणा गरिए पनि नेप्सेको टिएमएस प्रणाली समयसापेक्ष अपडेट नहुँदा यसले लगानीकर्ताको ढुक्कसँग कारोबार गर्न पाउने अधिकारमा अवरोध सिर्जना गरेको छ। लगानीकर्ताहरूले नेप्सेलाई तत्काल यो प्राविधिक समस्या समाधान गरी नयाँ नियम पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेका छन्