वार्षिकोत्सव समेत रोकेको भन्दै धितोपत्र बोर्ड कर्मचारी युनियन आक्रोशित, तत्काल अध्यक्ष नियुक्त गर्न सरकारसँग माग

Jun 08, 2026 02:03 PM Merolagani



नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) स्थापनाको ३३ वर्ष पूरा गरी ३४औँ वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा यस वर्ष वार्षिकोत्सव कार्यक्रम रोकेको भन्दै कर्मचारी युनियन आक्रोशित बनेको छ। 

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्थापन पक्षको संस्थाप्रतिको चरम उदासीनता, अनुत्तरदायी कार्यशैली र अपरिपक्व निर्णयका कारण इतिहासमै पहिलो पटक यो गरिमामय कार्यक्रम स्थगित भएको भन्दै घोर भर्त्सना र निन्दा गरेको हो।

कर्मचारी युनियनले जारी गरेको विज्ञप्तिमा स्थापनाकाल देखि नै जस्तोसुकै विषम र प्रतिकूल परिस्थितिमा पनि संस्थागत गरिमा र संस्कारलाई आत्मसात् गर्दै प्रत्येक वर्ष वार्षिकोत्सव भव्यताका साथ मनाउँदै आएको इतिहास रहेको स्मरण गराइएको छ। यस वर्ष पनि सम्पूर्ण कर्मचारीहरू आफ्नो संस्थाको गरिमामय उत्सवलाई विविध रचनात्मक कार्यक्रमसहित मनाउने व्यग्र प्रतिक्षामा रहे पनि कर्मचारी र सरोकारवालाहरूसँग कुनै परामर्श र पूर्वसल्लाह नै नगरी एकाएक कार्यक्रम नगर्ने एकपक्षीय र स्वेच्छाचारी निर्णय गरिएको युनियनको आरोप छ। यस अप्रत्याशित निर्णयले सम्पूर्ण कर्मचारीहरूको मनोबल निकै खस्किएको जनाइएको छ।

देशको अर्थतन्त्रको मेरुदण्ड र ऐनाका रूपमा रहेको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउने मुख्य जिम्मेवारी बोकेको नियामक निकायको भौतिक तथा व्यवस्थापकीय सुधारका लागि युनियनले हरबखत रचनात्मक सुझाव र दबाब दिँदै आएको स्पष्ट पारिएको छ। यद्यपि, वर्तमान उच्च व्यवस्थापकीय नेतृत्व (सञ्चालक बोर्डसहित) अनिर्णयको बन्दी बन्ने प्रवृत्तिका कारण संस्था दिन प्रतिदिन प्रशासनिक र व्यावसायिक रूपमा दिनानुदिन क्षयीकरण हुँदै गएको युनियनले अनुभूत गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

वार्षिकोत्सव केवल एउटा उत्सव मात्र नभई नियामक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता र आम लगानीकर्ता जस्ता बहुपक्षीय सरोकारवालाहरू भेला भई विगतको समीक्षा, वर्तमान चुनौतीको मूल्याङ्कन र आगामी रणनीतिक मार्गचित्र तय गर्ने एउटा महत्वपूर्ण मञ्च भएको युनियनको धारणा छ। यस्तो बृहत् र गरिमामय सभालाई निषेध गरेर संस्थाभित्र ‘कर्पोरेट कल्चर’ (संस्थागत संस्कृति) र आन्तरिक सुशासन कायम गर्न नसक्ने नेतृत्वले समग्र पूँजी बजारमा कायापलट र संरचनात्मक सुधार गर्छु भन्नु केवल दिवास्वप्न मात्र भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसै सन्दर्भमा, नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले वर्तमान अनिर्णित उच्च व्यवस्थापनलाई तत्काल आफ्नो पदीय दायित्व र जवाफदेहिता वहन गर्न, संस्थाको साख जोगाउन र समग्र पूँजी बजारको हितका लागि रोकिएका नीतिगत तथा प्रक्रियागत सम्पूर्ण निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान जोडदार माग गरेको छ। साथै, बोर्डको पूर्णकालीन अध्यक्षको पद करिब २ महिनादेखि रिक्त रहनु आफैँमा दुर्भाग्यपूर्ण रहेको औंल्याउँदै उक्त नियुक्ति प्रक्रिया अविलम्ब टुङ्गोमा पुर्‍याएर समग्र पूँजी बजारलाई गति प्रदान गर्न नेपाल सरकारसमक्ष जोडदार माग गरिएको छ। युनियनका सचिव अशोक कुमार विष्ट र अध्यक्ष राजु बहादुर जिसीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमार्फत पूँजी बजारको संवेदनशीलतालाई बुझ्न सरकारलाई विशेष आग्रह समेत गरिएको छ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।