धितोपत्र बोर्ड ३४औँ वर्षमा प्रवेश: पेन्सन कोष र गैरआवासीय नेपालीलाई शेयर बजारमा भित्र्याउने अध्यक्ष खत्रीको प्रतिबद्धता

Jun 08, 2026 02:21 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष उत्तरकुमार खत्रीले ऋण बजार, बण्ड बजार र पूर्वाधार बण्डको विकास गरी मुलुकमा दीर्घकालीन पूँजी निर्माण गर्ने तथा पेन्सन कोष र गैरआवासीय नेपालीहरू (एनआरएन) लाई शेयर बजारमा भित्र्याउने प्रतिबद्धता जनाएका छन्।

बोर्ड स्थापनाको ३३ वर्ष सफलतापूर्वक पूरा गरी ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा जेठ २५ गते एक औपचारिक प्रतिबद्धता पत्र जारी गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। अध्यक्ष खत्रीले आगामी दिनमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्ड र गैरआवासीय नेपालीहरूको शेयर बजारमा सहभागिता बढाउन आवश्यक पहल गरिने स्पष्ट पारेका छन्। यसका साथै, उनले बोर्डलाई हालको अवस्थासम्म पुर्‍याउन योगदान दिने लगानीकर्ता, सरोकारवाला निकाय र कर्मचारीहरूप्रति आभार समेत प्रकट गरेका छन्।

उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रहेर पूँजी बजारलाई थप भरपर्दो, विश्वसनीय र गतिशील बनाउन बोर्ड निरन्तर क्रियाशील रहने बताएका छन्। पूँजी बजारको विकास र सुधारका लागि विभिन्न समयमा गठित आयोग तथा कार्यदलहरूले दिएका महत्त्वपूर्ण सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने उनको प्रतिबद्धता छ। यसैगरी, धितोपत्र नियमन, नेप्से तथा सीडीएस एण्ड क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत सुधार अघि बढाउने उनले जनाएका छन्।

पछिल्लो नीतिगत सुधारको चर्चा गर्दै अध्यक्ष खत्रीले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत सूचीकृत कम्पनीहरूको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएसँगै शेयर बजार थप गतिशील हुने अपेक्षा राखेका छन्। बोर्डको आगामी प्राथमिक कार्यसूचीमा नियामकीय क्षमता तथा संस्थागत सुदृढीकरण, प्रविधिको अवलम्बन, लगानीकर्ताहरूको हकहित संरक्षण, सुशासन प्रवर्द्धन र बजारसम्बन्धी कसूरहरूको प्रभावकारी अनुसन्धान तथा कारबाही जस्ता संवेदनशील विषयहरू रहने उनले प्रतिबद्धता पत्रमा समेटेका छन्।

यसैगरी, सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीलाई थप स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आवश्यक कानुनी र संरचनागत सुधार गरिने खत्रीले उल्लेख गरेका छन्। साना तथा मझौला उद्यमहरूका लागि उपयोगी बन्ने 'एसएमई प्लेटफर्म' को स्थापना, वस्तु विनिमय बजार (कमोडिटी मार्केट) र यसका पूर्वाधारहरूलाई छिट्टै सञ्चालनमा ल्याउने कार्यलाई पनि प्राथमिकतामा राखिएको उनले जानकारी दिएका छन्। यसका साथै बजार सञ्चालकहरूको संरचनागत सुधार, बजार सहभागीहरूको व्यावसायिकता अभिवृद्धि र देशव्यापी रूपमा शेयर बजारसम्बन्धी शिक्षा तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिने उनको प्रतिबद्धता छ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलको नियमन प्रणाली स्थापनाका लागि अन्तर्राष्ट्रिय धितोपत्र बोर्ड संगठन (आईओएसको) द्वारा प्रतिपादित सिद्धान्त र अभ्यासहरूलाई अंगीकार गरिने खत्रीले स्पष्ट पारेका छन्। बोर्डको नियमन र सुपरीवेक्षण क्षमतालाई बलियो बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवी संस्थाहरूसँग समन्वय र सहकार्य गरिने प्रतिबद्धता जनाउँदै उनले सरकारले तय गरेका बजार विकासका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गरिने बताएका छन्। सरकारको आवधिक योजना, आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट अनुरूपका निर्धारित लक्ष्यहरू हासिल गर्न बोर्ड अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष खत्रीले यस सुधार यात्रामा सरकार, वित्तीय क्षेत्रका अन्य नियामक निकायहरू, अन्तर्राष्ट्रिय संघसंस्था र बजार सम्बद्ध सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा राखेका छन्।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।