महाधिवेशन प्रतिनिधिको अन्तिम सूची टुङ्ग्याउन समय लागेका कारण सोमबार बिहानैदेखि सुरु हुने भनिएको बन्दसत्र केही दिन ढिलो गरी सञ्चालन हुन लागेको हो।
महाधिवेशनमा देशभरबाट ४ हजार २०० प्रतिनिधि सहभागी छन्। प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गरिसकेपछि कार्यतालिका अनुसार बन्दसत्रका औपचारिका कार्यक्रमहरू अगाडि बढ्ने पार्टीले जनाएको छ। उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्रको आयोजना गरिएको छ।
यस्तो छ बन्दसत्रको कार्यतालिका र एजेन्डाहरू:
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस र छलफल हुनेछन्:
-
अनुशासन प्रतिवेदन: बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन् र त्यसमाथि छलफल हुनेछ।
-
आर्थिक प्रतिवेदन: त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफलका लागि पेस गर्नेछिन्।
-
संगठनात्मक प्रतिवेदन: आर्थिक प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।
-
विधान संशोधन: पार्टीका सहमहामन्त्रीले परिमार्जित विधानमाथि छलफल गराई त्यसलाई बन्दसत्रबाट अनुमोदन गराउनेछन्।
-
राजनीतिक प्रतिवेदन: विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्, जसमाथि व्यापक छलफल गरी अनुमोदन गरिनेछ।
नेतृत्व चयनको प्रक्रिया सुरु हुने
राजनीतिक प्रतिवेदन पारित भएपछि पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। त्यसलगत्तै वर्तमान आयोजक समितिले महाधिवेशनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यतालिका रहेको छ, जसले नयाँ नेतृत्व चयनको बाटो खोल्नेछ।
यसअघि गत आइतबार दिउँसो गेष्टहाउस चौरमा रास्वपाको प्रथम महाधिवेशनको भव्य उद्घाटन गरिएको थियो।