मंगलबार नेप्से परिसूचक २६.१६ अंक घटेर २६७४.४८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ७२ हजार ८५४ पटकको कारोबारमा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको बुंगल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन एपोलो हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३४ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोपान फर्मास्यूटिकल्सको करिब १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.९२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।