बजारमा तरलता सहज हुनु र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले 'मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२' मार्फत बाटो खुल्ला गरिदिएपछि ब्रोकरहरू बैंकबाट ऋण लिन क्रेडिट रेटिङ गराउने प्रतिस्पर्धामा उत्रिएका हुन्।
पूँजी बजारका अग्रणी ब्रोकर कम्पनीहरूले बैंकबाट ऋण लिनका लागि धमाधम क्रेडिट रेटिङ गराउन थालेका छन्। हालैको तथ्याङ्क अनुसार, नेपालको सबैभन्दा ठूलो ब्रोकरमध्येको एक नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) ले मार्जिन कारोबारकै लागि ३ अर्ब रुपैयाँ बराबरको बैंक ऋण तथा वित्तीय सुविधा लिने प्रक्रिया अघि बढाएको छ। केयर रेटिङ्स नेपालले नासालाई 'CARE-NP A-' रेटिङ दिएको छ, जसले कम्पनीको ऋण तिर्न सक्ने मजबुत क्षमतालाई दर्शाउँछ।
त्यस्तै, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) ले पनि १ अर्ब ५० करोड रुपैयाँको बैंक ऋण सीमा (Limit) स्वीकृत गराउन 'CARE-NP A2' रेटिङ प्राप्त गरेको छ। त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले १ अर्ब ५० करोडकै ऋणका लागि 'CARE-NP A3+' रेटिङ गराएको छ। यता, इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) ले पनि १ अर्ब रुपैयाँको ऋणका लागि क्रेडिट रेटिङको प्रक्रिया अगाडि बढाएको छ। यी चार ब्रोकर कम्पनीहरू त केवल प्रतिनिधि उदाहरण मात्र हुन्। हाल मार्जिन कारोबारको अनुमति पाएका ३१ वटा र आशय पत्र पाएका २४ वटा मध्ये धेरैजसो ब्रोकर कम्पनीहरू अहिले आफ्नो नेटवर्थको विश्लेषण गर्दै बैंक ऋणका लागि रेटिङ गराउने लाइनमा रहेका छन्। यी उदाहरणले के देखाउँछन् भने ब्रोकरहरू अब केवल 'एजेन्ट' मात्र नभई 'वित्तीय सहजकर्ता' का रूपमा आफूलाई उभ्याउन चाहन्छन्।
बैंकहरूले अहिले ब्रोकरलाई ऋण दिन निकै चासो देखाएका छन्। भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिम्सिनाका अनुसार, बैंकहरूले ब्रोकरलाई ‘रिसेभेबल फाइनान्सिङ मोडल’ बाट कर्जा दिइरहेका छन्। उनी भन्छन्, "ब्रोकरले आफ्ना ग्राहकलाई जुन मार्जिन कर्जा दिन्छन्, त्यसैलाई धितो (Receivables) मानेर बैंकले ऋण दिने व्यवस्था छ। यसका लागि कम्पनीको नेटवर्थ, संस्थागत ग्यारेन्टी र सञ्चालकहरूको व्यक्तिगत जमानीलाई मुख्य आधार मानिन्छ।"
पहिले बैंकहरूले शेयर धितो कर्जा सिधै लगानीकर्तालाई दिन्थे। तर, राष्ट्र बैंकको पछिल्लो नीति र जोखिम भारमा गरिएको परिमार्जनले ब्रोकरमार्फत यस्तो कर्जा प्रवाह हुनु बजारका लागि थप सुरक्षित र व्यवस्थित हुने देखिएको छ। सोही कारण बैंकहरू पनि ब्रोकरलाई अर्बौँको 'थोक ऋण' दिन उत्साहित भएका हुन्।
तिम्सिनाका अनुसार, ब्रोकरहरूले आफ्ना ग्राहकलाई दिने मार्जिन कर्जालाई नै बैंकमा धितोका रूपमा देखाइन्छ। यसका लागि ब्रोकरको संस्थागत ग्यारेन्टी, सञ्चालकहरूको व्यक्तिगत ग्यारेन्टी र कम्पनीको नेटवर्थको निश्चित गुणा (साधारणतया ४.५ गुणासम्म) सम्म बैंकले ऋण दिने व्यवस्था छ। सोही कारण अहिले ब्रोकर कम्पनीहरुले आफ्नो नेटवर्थको ४.५ गुणासम्म हुन आउने रकमको रेटीङ गराइरहेका हुन्। "५० करोड रुपैयाँभन्दा माथिको ऋण लिनका लागि क्रेडिट रेटिङ अनिवार्य गरिएको छ, त्यसैले ब्रोकरहरूले धमाधम रेटिङ गराइरहेका हुन्। यसले ब्रोकरको संस्थागत सुशासन र वित्तीय स्वास्थ्य कति बलियो छ भन्ने कुरा बैंक र लगानीकर्ता दुवैलाई प्रष्ट पार्छ।" उनले भने।
अहिलेसम्म ब्रोकरहरूको ९८ प्रतिशत आम्दानी शेयर खरिद-बिक्री बापतको कमिसनमा मात्र निर्भर थियो। बजार घट्दा वा कारोबार रकम कम हुँदा ब्रोकरको आम्दानी पनि ह्वात्तै घट्ने जोखिम थियो। तर, मार्जिन कारोबार सुरु भएपछि ब्रोकरले आफ्नै स्रोत वा बैंकबाट ऋण लिएर लगानीकर्तालाई कर्जा दिनेछन्। यसबाट उनीहरूले 'ब्याज आम्दानी' (Interest Income) प्राप्त गर्नेछन्, जसले उनीहरूको आम्दानीको स्रोतलाई विविधीकरण गर्नेछ।
ब्रोकरहरूसँग आफ्नै पूँजी सिमित हुने भएकाले हजारौँ लगानीकर्तालाई कर्जा दिन अर्बौँ रुपैयाँको आवश्यकता पर्छ। सोही नगद प्रवाह (Liquidity) सुनिश्चित गर्न बैंकबाट ऋण लिनु अनिवार्य छ। बैंकले सस्तो ब्याजदरमा ऋण दिँदा ब्रोकरले निश्चित प्रिमियम थपेर लगानीकर्तालाई मार्जिन कर्जा उपलब्ध गराउनेछन्।
यो व्यवस्थाले शेयर बजारका साना र ठूला दुवै लगानीकर्तालाई ठूलो राहत दिनेछ। बैंकबाट शेयर धितो कर्जा लिन झन्झटिलो कागजी प्रक्रिया र समय लाग्ने अवस्थामा अब ब्रोकरबाटै तत्काल कर्जा पाउन सकिनेछ। यसले बजारमा 'बाइङ प्रेसर' बढाउने र तरलता सहज बनाउने अपेक्षा गरिएको छ।
नेपालको पूँजी बजार अब एक नयाँ युगमा प्रवेश गर्दैछ। ब्रोकरहरूले बैंकबाट अर्बौँ ऋण लिएर मार्जिन सेवा सुरु गर्नुले बजार थप परिपक्व र व्यवस्थित हुँदै गएको संकेत गर्छ। यद्यपि, शेयर बजारको अस्थिरता र ब्याजदरको घटबढ ब्रोकर र लगानीकर्ता दुवैका लागि चुनौती हुन सक्छ। तर, क्रेडिट रेटिङ मार्फत संस्थागत सबलता पुष्टि गर्दै अघि बढेका ब्रोकरहरूले नेपाली शेयर बजारलाई थप चलायमान बनाउनेमा दुई मत छैन। आगामी साउनदेखि थप २५ भन्दा बढी ब्रोकरले यस्तो सेवा सुरु गर्ने भएपछि पूँजी बजारमा नयाँ उत्साह छाउने निश्चित छ।