गफ खर्बको, कारोबार अर्बकोः एसियाली बजारसँग नेपालको तुलना नै हास्यास्पद!

Jul 29, 2026 05:48 AM Merolagani



धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले नेपालको शेयर बजारलाई एसियाकै दोस्रो राम्रो र प्रतिस्पर्धी बजार बनाउने उद्घोषलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नजिकबाट हेरिरहेको बताएका छन्। 

नीतिगत सुधार, प्रविधिको विकास र पूर्वाधार निर्माणमा कछुवाको गतिमा रहेको नेपालको शेयर बजारलाई ह्वात्तै एसियाकै दोस्रो बनाउने नियमनकारी निकायको महत्वाकांक्षी दाबी सुन्दा जति आकर्षक लागे पनि यथार्थमा भने यो पूर्णतः हास्यास्पद र धरातलविहीन देखिन्छ। दैनिक अर्बको कारोबारमा खुम्चिएको र अत्याधुनिक वित्तीय औजारहरू बिना शिशु अवस्थामै छामछाम–छुमछुम गरिरहेको नेप्सेलाई खर्बाै डलरका एसियाली दिग्गज बजारहरूसँग दाँज्नु आफैँमा एउटा ठट्टाजस्तै बनेको छ।

एसिया महादेशमा विश्वकै शक्तिशाली, अत्याधुनिक र विशाल पुँजीकरण भएका बजारहरू सञ्चालनमा छन्। नेपालको धरातल बुझ्नका लागि एसियाका शीर्ष १० शेयर बजारहरूको स्थिति, तिनका सूचक र दैनिक कारोबारको दायरा विश्लेषण गर्नु आवश्यक हुन्छ।

एसियाका शीर्ष १० शेयर बजारहरू र तिनको दैनिक कारोबार

एसियाको सबैभन्दा ठूलो बजारका रूपमा चीनको सांघाई शेयर बजार अग्रस्थानमा आउँछ, जसको कुल बजार पुँजीकरण करिब १० ट्रिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा १ हजार ३ सय ५० खर्ब रुपैयाँभन्दा बढी छ। यस बजारको मुख्य सूचक सांघाई कम्पोजिट हो। सांघाईमा दैनिक औसत ६ अर्बदेखि ७ अर्ब ५० करोड अमेरिकी डलर अर्थात् ८ खर्बदेखि १० खर्ब नेपाली रुपैयाँ बराबरको विशाल शेयर कारोबार हुने गर्छ।

दोस्रो स्थानमा जापानको टोकियो शेयर बजार रहेको छ। करिब ८ ट्रिलियन अमेरिकी डलर अर्थात् १ हजार ८०खर्ब नेपाली रुपैयाँ पुँजीकरण भएको यो बजार विश्वकै सबैभन्दा सुरक्षित र प्रविधिमैत्री बजारमध्ये मानिन्छ। यसको प्रमुख सूचक निक्केई २२५ र टोपिक्स हुन्। टोकियो बजारमा दैनिक औसत ४ अर्ब ५० करोडदेखि ६ अर्ब अमेरिकी डलर अर्थात् ६ खर्बदेखि ८ खर्ब रुपैयाँसम्मको खरिदबिक्री हुने गर्छ।

तेस्रो स्थानमा भारतको नेशनल स्टक एक्सचेन्ज आउँछ। तीव्र गतिमा विस्तार भइरहेको भारतीय बजारको पुँजीकरण करिब ५ ट्रिलियन अमेरिकी डलर अर्थात् ६ सय ७५ खर्ब रुपैयाँभन्दा बढी छ। भारतमा बजारको दिशा मापन गर्न मुख्य रूपमा निफ्टी ५० सूचकको प्रयोग गरिन्छ। भारतको यस एक्सचेन्जमा दैनिक औसत १ अर्ब ८० करोडदेखि ३ अर्ब अमेरिकी डलर अर्थात् साढे २ खर्बदेखि ४ खर्ब रुपैयाँ बराबरको शेयर कारोबार हुने गर्छ।

चौथो ठूलो बजार चीनकै शेन्जेन शेयर बजार हो। मुख्यतः प्रविधि र नयाँ सम्भावना भएका कम्पनीहरू सूचीकृत हुने यस बजारको पुँजीकरण करिब ४ ट्रिलियन ५० अर्ब अमेरिकी डलर अर्थात् ६ सय खर्ब नेपाली रुपैयाँ छ। यसको मुख्य सूचक शेन्जेन कम्पोजिट हो भने यहाँ दैनिक औसत ५ अर्ब २० करोडदेखि ६ अर्ब ७० करोड अमेरिकी डलर अर्थात् ७ खर्बदेखि ९ खर्ब रुपैयाँसम्मको ठूलो कारोबार हुने गर्छ।

पाँचौँ स्थानमा हङकङ शेयर बजार रहेको छ। अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि प्रमुख केन्द्र मानिने यो बजारको पुँजीकरण करिब ४ ट्रिलियन अमेरिकी डलर अर्थात् ५ सय ४० खर्ब नेपाली रुपैयाँ छ। हङकङको बजारको अवस्था दर्शाउन ह्याङ सेङ सूचकको प्रयोग गरिन्छ र यहाँ दैनिक औसत १ अर्ब ५० करोडदेखि २ अर्ब २० करोड अमेरिकी डलर अर्थात् २ खर्बदेखि ३ खर्ब रुपैयाँ बराबरको शेयर कारोबार हुन्छ।

छैठौं स्थानमा भारतको बम्बे स्टक एक्सचेन्ज पर्दछ। एसियाकै सबैभन्दा पुरानो मानिने यस एक्सचेन्जको पुँजीकरण पनि भारतको समग्र बजार विकाससँगै करिब ४ ट्रिलियन ५० अर्ब अमेरिकी डलर अर्थात् ६ सय खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। यसको मुख्य र चर्चित सूचक सेन्सेक्स हो, जहाँ दैनिक औसत ६० करोडदेखि १ अर्ब १० करोड अमेरिकी डलर अर्थात् ८० अर्बदेखि १ खर्ब ५० अर्ब रुपैयाँसम्मको कारोबार हुने गर्छ।

सातौँ स्थानमा दक्षिण कोरियाको कोरिया एक्सचेन्ज रहेको छ। सामसुङ जस्ता विश्वविख्यात कम्पनीहरू सूचीकृत रहेको यस बजारको पुँजीकरण करिब २ ट्रिलियन २० अर्ब अमेरिकी डलर अर्थात् ३ सय खर्ब नेपाली रुपैयाँको हाराहारीमा छ। दक्षिण कोरियाको मुख्य शेयर सूचक कोस्पी हो भने यहाँ दैनिक औसत १ अर्ब १० करोडदेखि १ अर्ब ५० करोड अमेरिकी डलर अर्थात् १ खर्ब ५० अर्बदेखि २ खर्ब रुपैयाँसम्मको कारोबार हुने गर्छ।

आठौँ स्थानमा ताइवान शेयर बजार आउँछ। विशेष गरी सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स क्षेत्रका विशाल कम्पनीहरूको बाहुल्य रहेको यस बजारको पुँजीकरण करिब २ ट्रिलियन अमेरिकी डलर अर्थात् २ सय ७० खर्ब नेपाली रुपैयाँ छ। ताइवानको प्रमुख सूचक ताइपेक्स हो र यहाँ दैनिक औसत १ अर्ब १० करोडदेखि १ अर्ब ९० करोड अमेरिकी डलर अर्थात् १ खर्ब ५० अर्बदेखि २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको खरिदबिक्री हुन्छ।

नवौँ स्थानमा साउदी अरेबियाको साउदी स्टक एक्सचेन्ज (तदावुल) पर्दछ। खनिज तेल र उर्जा क्षेत्रका विशाल कम्पनीहरूका कारण यो मध्यपूर्वी र एसियाली क्षेत्रको प्रमुख बजार बनेको छ, जसको पुँजीकरण करिब २ ट्रिलियन ५० अर्ब अमेरिकी डलर छ। यसको मुख्य सूचक तादावुल अल सेयर इन्डेक्स हो भने यहाँ दैनिक औसत ३७ करोडदेखि ७५ करोड अमेरिकी डलर अर्थात् ५० अर्बदेखि १ खर्ब रुपैयाँसम्मको कारोबार हुने गर्छ।

दसौँ स्थानमा सिंगापुर शेयर बजार रहेको छ। आकारका हिसाबले अरूभन्दा केही सानो भए पनि अत्याधुनिक नियमन र अन्तर्राष्ट्रिय वित्तीय केन्द्रका रूपमा यो निकै प्रतिस्पर्धी मानिन्छ, जसको बजार पुँजीकरण करिब ६ सय अर्ब अमेरिकी डलर छ। यसको मुख्य सूचक स्ट्रेट्स टाइम्स इन्डेक्स हो र यहाँ दैनिक औसत २२ करोडदेखि ४५ करोड अमेरिकी डलर अर्थात् ३० अर्बदेखि ६० अर्ब रुपैयाँसम्मको शेयर कारोबार हुने गर्छ।

नेपालको बजार स्थिति र एसियाली स्तरमा पुग्ने चुनौती

यी शीर्ष विशाल बजारहरूको तुलनामा नेपालको शेयर बजारको आकार निकै नगण्य छ। हाल नेपाल स्टक एक्सचेन्जको कुल बजार पुँजीकरण करिब ४७ खर्ब रुपैयाँको हाराहारीमा मात्र सीमित छ। एसियाली राष्ट्रहरूको समग्र वरीयतामा हेर्ने हो भने नेपाल अग्रणी ३५ बजारभन्दा पनि पछाडि प्रारम्भिक र साना बजारहरूको श्रेणीमा थन्किएको छ।

कारोबार रकमका दृष्टिले पनि नेपाल निकै पछाडि छ। नेपालमा सामान्य दिनहरूमा दैनिक औसत ५ अर्बदेखि ८ अर्ब रुपैयाँसम्मको शेयर कारोबार हुने गर्छ भने बजार उच्च विन्दुमा पुग्दा अधिकतम ३० अर्ब रुपैयाँसम्मको कारोबार भएको इतिहास छ। अर्कोतर्फ, एसियाका शीर्ष तथा प्रतिस्पर्धी बजारहरूमा दैनिक रूपमा खर्बौँ रुपैयाँ बराबरको शेयर खरिदबिक्री हुने गर्छ। नेपालको बजारलाई एसियाली स्तरमा साँच्चिकै प्रतिस्पर्धी बनाउनका लागि दैनिक कारोबार रकम कम्तीमा पनि खर्बको हाराहारीमा पुग्नुपर्ने देखिन्छ।

नेपालको बजारमा मुख्य सूचकका रूपमा नेप्से सूचक रहेको छ। एसियाका विकसित बजारहरूमा अत्याधुनिक प्रविधि, गैर–आवासीय तथा विदेशी संस्थागत लगानीकर्ताको खुला प्रवेश, डेरिभेटिभ्स, शर्ट सेलिङ र विविध आधुनिक वित्तीय औजारहरू उपलब्ध छन्। केवल भाषण र प्रचारका लागि एसियाकै दोस्रो बजार बनाउने गफ हाँक्नुभन्दा नेपालले एसियाली स्तरको प्रतिस्पर्धात्मक क्षमता हासिल गर्न भौतिक पूर्वाधार, नीतिगत स्थायित्व, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिलाई व्यवहारमै भित्र्याउनु अपरिहार्य देखिन्छ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।