धितोपत्र बजारमा शर्ट सेलिङ र मार्जिन लेण्डिङ सुरु गर्ने बोर्डको तयारी; पहिलोपटक 'कन्सल्टेशन पेपर' सार्वजनिक

Jul 31, 2026 06:29 AM Merolagani



नेपाल धितोपत्र बोर्ड (SEBON) ले नेपाली पूँजी बजारमा नयाँ र अत्याधुनिक धितोपत्र वित्तीय सेवाहरू (Securities Financing Services) भित्र्याउने प्रक्रिया सुरु गरेको छ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै 'मार्जिन लेण्डिङ्ग', 'धितोपत्र उधारो तथा सापटी' (SLB) र 'शर्ट सेलिङ्ग' (Short Selling) सम्बन्धमा विस्तृत 'अवधारणापत्र' (Consultation Paper) सार्वजनिक गरेको हो।

बोर्डले बजारको तयारी (Market Readiness) बुझ्न र सरोकारवाला पक्षहरूको राय-सुझाव लिनका लागि पहिलोपटक यस्तो परामर्शपत्र सार्वजनिक गरेको जनाएको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उल्लेखित इन्ट्राडे ट्रेडिङ, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणहरू चरणबद्ध रूपमा सुरु गर्ने घोषणालाई कार्यान्वयन गर्न बोर्डले यो कदम चालेको हो।

बजारलाई प्रतिस्पर्धी र आधुनिक बनाउने लक्ष्य

विश्वव्यापी पूँजी बजारको अभ्यासअनुसार मार्जिन कारोबार, धितोपत्र सापटी र आवरणयुक्त शर्ट सेलिङ (Covered Short Selling) जस्ता सेवाले बजारलाई थप गहिरो, प्रतिस्पर्धी र दक्ष बनाउने बोर्डको विश्वास छ। "नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र लगानीकर्ताको सहभागिता विस्तार गर्न यी उपकरणहरू कोसेढुङ्गा सावित हुनेछन्," बोर्डले उल्लेख गरेको छ।

के छ अवधारणापत्रमा?

बोर्डले तयार पारेको अवधारणापत्रलाई चार मुख्य अध्यायमा विभाजन गरिएको छ:

१. नेपालको पूँजी बजारको वर्तमान अवस्था र सुधारको आवश्यकता।

२. अन्तर्राष्ट्रिय अनुभव, असल अभ्यास र नेपालका लागि सिकाइ।

३. नियामकीय प्रभाव विश्लेषण (Regulatory Impact Analysis)।

४. नेपालका लागि उपयुक्त मार्जिन लेण्डिङ, धितोपत्र उधारो तथा सापटी र शर्ट सेलिङको मोडल र विशिष्टीकृत नीति सिफारिस।

उक्त पत्रमा नेपाल धितोपत्र बोर्ड, नेप्से (NEPSE), सिडिएस एण्ड क्लियरिङ (CDSC), धितोपत्र दलाल, बैंक तथा वित्तीय संस्था र संस्थागत लगानीकर्ताहरूको भूमिका स्पष्टसँग किटान गरिएको छ। साथै, यसले कानुनी सुधार, सूचना प्रविधि आधुनिकीकरण र जोखिम व्यवस्थापनका उपायहरूलाई समेत समेटेको छ। सुझाव दिन आह्वान बोर्डले यस अवधारणापत्रमाथि सरोकारवालाहरूबाट रचनात्मक सुझावको अपेक्षा गरेको छ। प्राप्त सुझावहरूको अध्ययन गरी बोर्डले आगामी दिनमा 'मार्जिन लेण्डिङ्ग नियमावली', 'धितोपत्र उधारो तथा सापटी नियमावली' र 'आवरणयुक्त शर्ट सेलिङ्ग नियमावली' तर्जुमा गर्नेछ। इच्छुक महानुभाव तथा संस्थाहरूले बोर्डको ईमेल research@sebon.gov.np मा आफ्ना अमूल्य सुझावहरू पठाउन सक्नेछन्। यस नयाँ सेवाको कार्यान्वयनबाट बजारमा तरलता बढ्ने, स्थायित्व कायम हुने र निजी क्षेत्रको दीर्घकालीन पूँजी परिचालनमा ठूलो सहयोग पुग्ने बोर्डको विश्वास छ। विस्तृत अवधारणापत्र बोर्डको वेबसाइटमा उपलब्ध लिङ्क वा क्यूआर कोड स्क्यान गरेर हेर्न सकिनेछ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।