सोमबार नेप्से परिसूचक १.२० अंक घटेर २६८४.३३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४९ स्टकको ६३ हजार ६४८ पटकको कारोबारमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १९६ रुपैयाँ ३० पैसा बढेर १ हजार ५०५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ भने महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो भने बाँकी उपसमूहहरुको परिसूचक सामान्य घटेको हो।