युरोपदेखि दक्षिण–पूर्वी एसिया, मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिकासम्म चिनियाँ ब्रान्डको उपस्थितिले परम्परागत जापानी, युरोपेली र अमेरिकी कार निर्माता कम्पनीलाई निकै ठूलो चुनौति दिइरहेको छ ।
सबैभन्दा पछिल्लो तथ्यांकले यो विरोधाभास अझ स्पष्ट देखाउँछ । जुलाई २०२६ मा चीनको घरेलु कार बिक्री २१.१ प्रतिशतले घटेर १४ लाख ७० हजार युनिटमा झरेको छ। यो लगातार दशौँ महिना घरेलु बिक्री घटेको हो । तर यही अवधिमा चीनको कार निर्यात भने ८८.२ प्रतिशतले बढेर ९ लाख २३ हजार युनिट पुगेको छ। नयाँ विद्युतिय सवारीसाधन अर्थात् EV को निर्यात अझ तीव्र गतिमा बढेको छ।

चीनमा केही वर्षयता कार उत्पादन गर्ने कम्पनीको संख्या निकै बढेको छ। विशेषगरी विद्युतीय गाडीको क्षेत्रमा सरकारी प्रोत्साहन, ब्याट्री प्रविधिमा लगानी र ठूलो घरेलु बजारका कारण दर्जनौँ कम्पनीले उत्पादन क्षमता विस्तार गरे।
तर अहिले समस्या उल्टिएको छ—उत्पादन क्षमता ठूलो छ, ग्राहकको माग त्यति तीव्र छैन ।
त्यसमाथि चिनियाँ अटो बजारमा तीव्र ‘मूल्य युद्ध’ चलेको छ। कम्पनीहरूले ग्राहक तान्न मूल्य घटाउने, छुट दिने र थप सुविधा दिने प्रतिस्पर्धा गरिरहेका छन् । कमजोर उपभोक्ता माग र अत्यधिक उत्पादन क्षमताले कम्पनीहरूको नाफामा दबाब बढाएको छ ।
त्यसैले चिनियाँ कम्पनीका लागि विदेश बजार अब केवल अतिरिक्त बजार रहेन । उत्पादन कारखाना चलाइराख्न र बिक्री बढाउन विदेश बजार आवश्यक बन्दै गएको छ ।
चीनले गाडी कहाँ पठाइरहेको छ ?
चिनियाँ कम्पनीको पहिलो ठूलो अवसर दक्षिण–पूर्वी एसिया बनेको छ । IEA का अनुसार २०२५ मा दक्षिण–पूर्वी एसियामा बिक्री भएका विद्युतीय गाडीमध्ये आधाभन्दा बढी चिनियाँ ब्रान्डका थिए। चीनबाट हुने EV बिक्री दक्षिण–पूर्वी एसियामा एक वर्षमै करिब १३० प्रतिशत बढेको थियो। मध्यपूर्व र ल्याटिन अमेरिकामा पनि चिनियाँ EV बिक्री क्रमशः ६० र ५५ प्रतिशतले बढेको थियो।
युरोप पनि महत्त्वपूर्ण बजार बनेको छ। २०२६ को पहिलो पाँच महिनामा पश्चिमी युरोपमा बिक्री भएकामध्ये १४.२ प्रतिशत चिनियाँ EV थिए, जुन अघिल्लो वर्षको तुलनामा करिब पाँच प्रतिशत बिन्दुले बढी हो।
अर्थात् चिनियाँ कम्पनीले आफ्नो रणनीति परिवर्तन गरिरहेको छ—China for China बाट China for the World तर्फ। चिनियाँ कारको विदेश विस्तारको कारण केवल सस्तो मूल्य होइन।
BYD, Geely, SAIC, Chery, XPeng, Leapmotor लगायतका कम्पनीले ब्याट्री, software, driver-assistance system र connected-car technology मा ठूलो लगानी गरेका छन्।
विशेषगरी EV क्षेत्रमा चीनले ठूलो उत्पादन बनाइसकेको छ। चीनमै विकसित भएकाले कम्पनीहरूले तुलनात्मक रूपमा कम लागतमा नयाँ मोडल बजारमा ल्याउन सक्छन्। यही कारण चिनियाँ कम्पनीले एउटै प्लेटफर्मबाट विभिन्न देशका ग्राहकका लागि फरक–फरक मोडल र मूल्यका गाडी उत्पादन गर्न सक्छन्।
अब त गाडी बोक्ने जहाजसमेत कम हुन थाले
चीनबाट कार निर्यात यति तीव्र गतिमा बढेको छ कि विश्वको अटोमोबाइल शिपिंग उद्योग माथि समेत दबाब परेको छ।
विशेष कार बोक्ने जहाजको माग अत्यधिक बढेको छ र पानी जहाजका भाडा दर पनि २०२६ मा करिब ६५ प्रतिशत बढेको रिपोर्ट आएको छ। चीनले २०१९ मा ६ लाखभन्दा कम गाडी निर्यात गरेकोमा २०२६ मा करिब १ करोड वा त्योभन्दा बढी गाडी निर्यात गर्ने दिशामा अघि बढिरहेको अनुमान छ।
IEA का अनुसार चीनले २०२४ मै EU लाई उछिन्दै विश्वको सबैभन्दा ठूलो कार निर्यातकर्ता बनेको थियो। २०२५ मा चीनको कार निर्यातमध्ये ३५ प्रतिशतभन्दा बढी EV थिए।
चिनियाँ गाडीको बाढीले युरोप र अमेरिकाका पुराना गाडी उत्पादकहरुमाथि दबाब बढाएको छ।युरोपेली कम्पनीहरू विशेषगरी Volkswagen, Stellantis, Renault लगायतका कम्पनीले लागत घटाउन, EV विकास तीव्र बनाउन र चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।
युरोपेली संघले केही चिनियाँ EV माथि ३५.३ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाएको छ। अमेरिकाले त अझ कडा व्यापार अवरोध लगाएको छ। त्यसैले चिनियाँ कम्पनीहरू अमेरिका भन्दा युरोप, दक्षिण–पूर्वी एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकातर्फ बढी केन्द्रित भइरहेका छन्।
चीनको अर्को रणनीति, विदेशमै कारखाना
चिनियाँ कम्पनीले अब सबै गाडी चीनमै बनाएर विदेश पठाउने रणनीतिमा मात्र भर पर्न थालेका छैनन्। BYD, Chery, SAIC, Geely लगायतका कम्पनीले विभिन्न देशमा assembly तथा manufacturing क्षमता विकास गरिरहेका छन्।
यसका उद्देश्य दुईवटा छन्। पहिलो, स्थानीय बजारको माग नजिक पुग्नु। दोस्रो, आयात शुल्कबाट बच्नु। यो रणनीति पुराना जापानी कार कम्पनीहरूले दशकौँअघि अपनाएको मोडलसँग मिल्दोजुल्दो छ।
नेपालको बजारमा यसको अर्थ के ?
यो घटनाले नेपालका लागि पनि निकै महत्वपूर्ण संकेत दिन्छ। नेपालमा EV को बजार विस्तार भइरहेका बेला चीनका कम्पनीले दक्षिण एसियालाई पनि महत्त्वपूर्ण बजारका रूपमा हेर्ने सम्भावना छ। नेपालमा चिनियाँ EV को उपस्थिति बढ्नु उपभोक्ताका लागि मूल्य, सुविधा र प्रविधिको हिसाबले सकारात्मक हुन सक्छ ।
तर दीर्घकालीन रूपमा नेपालले केवल चिनियाँ गाडी आयात गर्ने बजार बन्ने कि EV ecosystem विकास गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।