नेप्सेमा ‘टाइम बम’: वित्तीय अवस्था खोक्रो, शेयर मूल्य आकाशमा, कहाँ जाँदैछ लगानीकर्ताको अर्बौं पूँजी?

Aug 19, 2026 06:07 AM Merolagani



उपेन्द्र पाठक

नेपाली शेयर बजार (नेप्से) मा पछिल्लो समय धेरै नयाँ कम्पनीहरूले प्राथमिक शेयर (आईपीओ) निष्काशन गरी सूचीकृत हुने अवसर पाए। नयाँ कम्पनीहरू बजारमा आउनु आफैमा पूँजी बजारको विविधीकरण र विकासका लागि सकारात्मक संकेत हो।

तर, पछिल्लो समय नेप्सेमा सूचीकृत भएका अधिकांश नयाँ कम्पनीहरूको वित्तीय प्रतिवेदन र बजारमा उनीहरूको शेयर मूल्यको प्रवृत्ति हेर्दा एउटा गम्भीर र डरलाग्दो चित्र देखा परेको छ। एकातिर कम्पनीहरूको खुद नाफा, प्रतिशेयर आम्दानी (ईपीएस) र नेटवर्थ जस्ता आधारभूत सूचकहरू एकदमै नाजुक र निराशाजनक छन्, भने अर्कोतिर बजारमा उनीहरूको शेयर मूल्य भने अस्वाभाविक रूपमा माथि पुगेको छ। वित्तीय रूपमा कमजोर कम्पनीहरूको मूल्य यसरी आकाशिनुले साधारण लगानीकर्ताहरूको अर्बौंको लगानीलाई उच्च जोखिमको भुमरीमा धकेलेको छ।

१. वित्तीय सूचक र बजार मूल्यबीचको गम्भीर खाडल

शेयर बजारको सर्वमान्य सिद्धान्त भन्छ ‘लामो समयमा शेयरको मूल्यले कम्पनीको वास्तविक वित्तीय क्षमता र नाफा कमाउने सरदर सामर्थ्यलाई पछ्याउँछ।’ तर, नेप्सेमा आएका केही हाइड्रोपावर, होटल तथा अन्य क्षेत्रका कम्पनीहरूको हकमा यो नियम पूर्णतः उल्टो साबित भएको छ।

वित्तीय प्रतिवेदनअनुसार धेरैजसो नयाँ सूचीकृत कम्पनीहरू या त घाटामा छन्, या उनीहरूको प्रतिशेयर आम्दानी एकल अंकमा वा ऋणात्मक छ। धेरैको प्रतिशेयर नेटवर्थ अंकित मूल्य (१०० रुपैयाँ) भन्दा पनि तल खस्किसकेको छ। विडम्बना, वित्तीय रूपमा यस्ता ‘कमजोर’ साबित भइसकेका कम्पनीहरूको शेयर मूल्य बजारमा ५०० रुपैयाँ देखि २ हजार रुपैयाँसम्म पुगेको देखिन्छ। वित्तीय आधार विना मूल्य मात्र माथि जानुले बजारमा ‘कृत्रिम पम्पिङ’ वा कर्नरिंग भइरहेको आशंकालाई बलियो बनाएको छ।

२. लाभांश क्षमता शून्यः लगानीकर्ताको हातमा ‘डिजिटल नम्बर मात्र’

कुनै पनि कम्पनीको शेयर खरिद गर्नुको मुख्य उद्देश्य भविष्यमा प्राप्त हुने लाभांश (नगद वा बोनस शेयर) हो। तर, वर्तमान बजारको तितो यथार्थ के हो भने, महँगो मूल्यमा किनिएका यी अधिकांश नयाँ कम्पनीहरूले निकट भविष्यमा लगानीकर्तालाई एक रुपैयाँ पनि लाभांश दिन सक्ने अवस्थामा छैनन्। कम्पनी ऐन र प्रचलित कानुनअनुसार कुनै पनि कम्पनीले लाभांश बाँड्नका लागि सञ्चित नाफा धनात्मक हुनुपर्छ र कम्पनी वास्तविक रूपमा नाफामा हुनुपर्छ।

तर, यहाँ त कम्पनीको सञ्चित नोक्सानी नै करोडौँ रुपैयाँ पुगिसकेको छ। जुन कम्पनीले आफ्नो सञ्चालन खर्च धान्न र बैंकको ब्याज तिर्न समेत नयाँ ऋण लिनुपर्ने अवस्था छ, त्यसले साधारण लगानीकर्तालाई प्रतिफल कसरी दिन्छ? धेरैजसो हाइड्रोपावर कम्पनीहरूको हकमा त आयोजनाको उत्पादन अवधि घटेर विद्युत् उत्पादन अनुमति पत्र (लाइसेन्स) को अवधि सकिन लाग्दा समेत लगानीकर्ताले लगानी गरेको सावाँ र प्रतिफल उठ्ने आधार देखिँदैन। वित्तीय रूपमा खोक्रो भइसकेका यस्ता कम्पनीको शेयरमा लगानी प्रतिफल नआउने एउटा ‘कागजी खोस्टो’ वा डिजिटल नम्बर मात्र खरिद गर्नु हो।

३. मूल्य अस्वाभाविक हुनुका मुख्य कारणहरू

नयाँ सूचीकृत कम्पनीहरूको मूल्य उच्च हुनुमा मुख्य रूपमा बजारको ‘कर्नरिङ खेल’ र आपूर्ति (सप्लाई) को कमीले काम गरेको देखिन्छ।

थोरै शेयर आपूर्ति (लो फ्लोट): नयाँ आईपीओ आएका कम्पनीहरूको थोरै कित्ता शेयर मात्र बजारमा कारोबारका लागि उपलब्ध हुन्छ।

बटको प्रयोग र पम्प एन्ड डम्पः पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै स्वचालित ‘बट’ (बट सिस्टम) मार्फत शेयर खरिद–बिक्रीका अस्वाभाविक अर्डरहरू राख्ने र कृत्रिम रूपमा माग सिर्जना गरी लगातार सर्किट लगाउने खेल भइरहेको छ। ठूला खेलाडीहरूले बट प्रयोग गरेर एकै सेकेन्डमा मूल्य माथि पुर्‍याउँछन्।

‘फोमो’ को शिकारः साधारण लगानीकर्ताहरू प्राविधिक विश्लेषण वा आधारभूत सूचक नहेरी, केवल ‘मूल्य बढिरहेको छ’ भन्ने ‘फोमो’ (‘फियर अफ मिसिङ्ग आउट’– छुट्ने डर) का कारण उक्त शेयर महँगो मूल्यमा किन्न तम्सिन्छन्।

जब ठूला खेलाडीहरूले उच्च मूल्यमा आफ्नो शेयर सर्वसाधारणलाई भिराएर (डम्प गरेर) बाहिरिन्छन्, तब शेयर मूल्यमा पहिरो जानु निश्चित हुन्छ।

४. साधारण लगानीकर्तामाथि मडारिएको उच्च जोखिम

लाभांश क्षमता शून्य भएका यस्ता सट्टेबाजी कम्पनीहरूले सबैभन्दा ठूलो मार सीधा र साना लगानीकर्तालाई पार्छन्।

जब बजारमा सुधार वा करेक्सन आउँछ, वित्तीय रूपमा बलिया कम्पनीहरू महिना–दुई महिनामा सम्हालिन्छन् र पुनः लाभांश दिएर लगानीकर्ताको घाटा पूर्ति गर्छन्। तर, लाभांश दिनै नसक्ने कम्पनीहरूको मूल्य जब एकपटक खस्न थाल्छ, त्यो फेरि पुरानो उचाइमा फर्कन वर्षौं लाग्न सक्छ वा कहिल्यै फर्कँदैन। विगतमा पनि कतिपय हाइड्रोपावर कम्पनीको मूल्य ८०० रुपैयाँबाट घटेर १५० रुपैयाँसम्म झरेको र लगानीकर्ताको ८० प्रतिशत पूँजी सखाप भएको इतिहास साक्षी छ।

५. नियामक निकायको शंकास्पद मौनता र चुनौती

यस्तो गम्भीर परिस्थिति सिर्जना हुनुमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्स) को फितलो नियमन र ‘रेटिङ’ प्रणाली मुख्य रूपमा जिम्मेवार छ।

सबैभन्दा गम्भीर कुरा त, बजारमा बटको प्रयोग गरेर कृत्रिम रूपमा शेयरको मूल्य बढाउने र कर्नरिङ गर्ने खेल खुल्ला रूपमा भइरहँदा समेत नियामक निकायहरू चुपचाप र मौन बस्नु आफैँमा अत्यन्तै शंकास्पद देखिन्छ।

नेटवर्थ ऋणात्मक भएका वा कमजोर साख भएका कम्पनीहरूलाई सहजै बजारमा आउन दिने र सूचीकृत भइसकेपछि हुने प्रविधिजन्य हेरफेर तथा शंकास्पद कारोबारलाई समयमै नरोक्नुले नियामककै भूमिकामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ। भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग) र अस्वाभाविक बजार खेल गर्नेहरूलाई तत्काल कडा कारबाही नहुँदासम्म पूँजी बजार सुरक्षित र मर्यादित बन्न सक्दैन।

निष्कर्ष तथा लगानीकर्तालाई सुझाव

नेप्सेमा हाल देखिएको यो प्रवृत्ति शेयर बजारका लागि एक ‘टाइम बम’ जस्तै हो, जो जुनसुकै बेला विस्फोट हुन सक्छ। त्यसैले, अहिलेको अवस्थामा अन्धधुन्ध कुद्ने शेयरको पछि लाग्नु आत्मघाती साबित हुन सक्छ।

लगानीकर्ताहरूले कुनै पनि नयाँ कम्पनीमा लगानी गर्नु अघि हल्ला वा कृत्रिम रूपमा बढाइएको मूल्यको पछि नलागी अनिवार्य रूपमाः

१. कम्पनीको त्रैमासिक प्रतिवेदन,

२. प्रतिशेयर आम्दानी, र

३. सबैभन्दा महत्त्वपूर्ण कुरा—कम्पनीको लाभांश वितरण गर्ने क्षमता छ कि छैन भनी जाँच्नुपर्छ।

मूल्य बढेको छ भन्दैमा प्रतिफल शून्य भएका कम्पनीको शेयर उच्च मूल्यमा किन्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो। बजारको चम्किलो भ्रमबाट बचौँ र आफ्नो मेहेनतको कमाइलाई सुरक्षित राख्न सचेत र अध्ययनशील लगानीकर्ता बनौँ।

 



हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।