बलियो अपट्रेण्डपछि प्रतिरोध क्षेत्र नजिक केही करेक्सन भएको साहस उर्जाको शेयरमूल्य अब के हुन्छ? हेरौँ कम्पनी विश्लेषण

Aug 23, 2026 05:48 PM Merolagani



गत साता जलविद्युत उपसमूहको परिसूचक ०.०५ प्रतिशत घटेको छ। अघिल्लो साता ३७२७.७२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १.७८ अंक घटेर ३७२५.९४ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो, साहस उर्जा लिमिटेड (SAHAS)।

गत साता सो कम्पनीको शेयरमूल्य १८ रुपैयाँ बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ६७७ रुपैयाँ रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, गत साता बढेर ६९५ रुपैयाँ कायम भएको छ।

बलियो बुलिश ट्रेण्ड र मुभिङ्ग एभरेजको साथ

कम्पनीको शेयरमूल्य पछिल्लो समय निरन्तर उकालो लागिरहेको थियो। हाल कम्पनीको मूल्य आफ्ना सबै मुभिङ्ग एभरेजहरु (१० दिने, २५ दिने, ५० दिने र १०० दिने) भन्दा माथि छ। मुभिङ्ग एभरेजहरुको यो क्रमबद्ध बनावटले दीर्घकालीन तथा मध्यकालीन रुपमा कम्पनीको शेयरमा बलियो बुलिश अलाइन्मेन्ट रहेको पुष्टि गर्दछ।

प्रतिरोध क्षेत्र नजिक प्रोफिट बुक

गत साता कम्पनीको शेयरमूल्य ७१५ देखि ७३५ को प्रतिरोध क्षेत्र नजिक पुग्दा अल्पकालीन लगानीकर्ताहरुले प्रोफिट बुक (नाफा सुरक्षित) गर्न खोजेको देखिन्छ। सोही कारण गत शुक्रबार ७१४ रुपैयाँ ७० पैसासम्म पुगेको कम्पनीको शेयरमूल्य, अन्त्यमा ६९५ रुपैयाँमा झरेको छ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा हालसम्म ११ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये ८ सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका छन् भने तीन सिग्नलमा स्टपलस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

गत साताको पाँचै कारोबार दिन कम्पनीको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा बढी रहेको छ। कम्पनीको शेयरमूल्य माथिल्लो विन्दुमा हुादा देखिएको उच्च भोल्यूमले एकातर्फ खरिदकर्ताहरुको तीव्र चासो देखाउँछ भने अर्कोतर्फ उच्च मूल्यमा नाफा बुक गर्ने बिक्रेताहरु पनि सक्रिय रहेको संकेत गर्दछ।

बुलिश मोमेन्टम कायम

पछिल्लो समय कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। यसका साथै यी दुबै रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्रमा रहेका छन्। यसले कम्पनीको शेयरमा बुलिश मोमेन्टम कायम रहेको संकेत गर्दछ।

प्रोफिट बुकिङ्गको उच्च सम्भावना

गत साता कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले अल्पकालीन रुपमा कम्पनीको शेयरमा प्रोफिट बुकिङ्गको सम्भावना उच्च रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको खुद नाफा (९० करोड २७ लाख रुपैयाँ) को तुलनामा ५०.५६ प्रतिशत बढी हो।

कम्पनीले गत आर्थिक वर्ष विद्युत बिक्री गरी २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ६४ करोड रुपैयाँ थियो। प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछिको कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च घटाई सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय खर्च (ब्याज दायित्व) अघिल्लो वर्षको तुलनामा घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जसले नाफा बढाउन मुख्य भूमिका खेलेको छ।

कम्पनीले आफ्नो वित्तीय आधार र सञ्चित कोषलाई थप मजबुत बनाएको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोष अघिल्लो आर्थिक वर्ष ३ अर्ब १७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

कम्पनीमाथि रहेको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्तिको आकार १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम भएको छ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बुकभ्यालु १८० रुपैयाँ ५८ पैसा रहेको छ। गत साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात २३.३८ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ३.८५ गुणा रहेको छ।

आधारभुत अवस्था

हाल नेप्सेमा कम्पनीको ४ करोड ५७ लाख ३८ हजार कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य ६४२ रुपैयाँ २ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ७१६ रुपैयाँ ६० पैसा रहेको छ भने न्यून मूल्य ५३५ रुपैयाँ ३० पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण ३१ अर्ब ७८ करोड ७९ लाख १० हजार रुपैयाँ छ।

कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको र नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी आम्दानी गरिरहेको छ। कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेड मार्फत ३४१ मेगावाटको ‘बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना’ अगाडि बढाएको छ। यसका लागि कम्पनीले हकप्रद जारी गर्ने प्रस्तावसहित आवश्यक कार्य अगाडि बढाएको छ।

ब्रोकर ५३ बाट सर्वाधिक खरिद

गत साता ब्रोकर नम्बर ५३ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले गत साता कम्पनीको १ लाख २ हजार २१२ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, गत साता कम्पनीको शेयर सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर ५९ रहेको छ। सो ब्रोकरले गत साता कम्पनीको १ लाख ४ हजार ३५४ कित्ता शेयर बिक्री गरेको छ। गत साता ब्रोकर ४९ ले कम्पनीको ६० हजार ३६६ कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर ६५ ले ८१ हजार ३८६ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।