अपर त्रिशूली–१ मा ६ दिनदेखि थुनिएकाहरूको उद्धारका लागि आफन्तसहित हेलिकप्टरमा प्रस्थान

Aug 31, 2026 03:23 PM Merolagani



६ दिनदेखि अपर त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को निर्माणस्थलमा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि आफन्तसहितको टोली हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेको छ।

आयोजना स्थलमा प्राविधिक, कर्मचारी र मजदुरहरू लामो समयदेखि अलपत्र परेको भन्दै परिवारजनले थापाथलीस्थित प्रवर्द्धक कम्पनी ‘नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी’ (एनडब्लूईडीसी) को कार्यालयमा निरन्तर दबाब दिएपछि आज हेलिकप्टर पठाइएको हो। कम्पनी र पीडितका आफन्तबीच भएको छलफलपछि कम्पनीकै खर्चमा सरकारसँग समन्वय गरी उद्धार टोली र आफन्तलाई कार्यस्थल पठाइएको हो।

हेलिकप्टरमा आयोजनाका प्रतिनिधि र बेपत्ताका आफन्तहरू सहभागी छन्। टोलीले त्यहाँ भइरहेको खोज–उद्धार कार्यको अनुगमन गर्नुका साथै वास्तविक अवस्थाबारे जानकारी लिनेछ। बेपत्ता इन्जिनियर सचिन गौतमकी बहिनी अनुपा सापकोटाले भाइ र अन्य सहकर्मीहरूको स्थिति बुझ्न आफूहरू त्यता जान लागेको बताइन्।

आयोजनाका अनुसार हालसम्म आयोजनास्थल र आसपासका क्षेत्रबाट २५४ जनाको सकुशल उद्धार गरिएको छ। तर,अझै पनि ५७६ जनाभन्दा बढी व्यक्तिहरू सम्पर्कविहीन रहेको तथ्याङ्कले स्थिति निकै गम्भीर देखाएको छ।

६ दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन नसकेको भन्दै आफन्तहरू आक्रोशित छन्।

भीर र सुरुङभित्र फसेकाहरूले खाना र पानीसमेत नपाएको हुनसक्ने र उनीहरूको ज्यान जोखिममा रहेको भन्दै परिवारजनले तत्काल सबैको उद्धार गर्न माग गरेका छन्। सडक मार्ग पूर्ण रूपमा अवरुद्ध रहेकाले हवाई उद्धार नै अहिलेको एकमात्र विकल्प बनेको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।