'चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छ'

Sep 13, 2026 11:45 AM Merolagani



वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्युनिकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन् ।

चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उनले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिए ।

काठमाडौं महानगर प्रहरी बलको आईतवार आयोजित ३४ औँ वार्षिकोत्सवमा धारणा राख्दै श्रेष्ठले काठमाडौंमा विभिन्न दिशाबाट आउने पानी एउटै निकासमार्फत चोभारतर्फ जाने भएकाले त्यसको क्षमता बढाउनुपर्ने बताए। उनले चोभारको निकासको चौडाई र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने बताए । काठमाडौंको बाढी जोखिम कम गर्न अहिले निर्माण भइरहेका लामो सुरुङलाई वैकल्पिक पानी निकासका रूपमा प्रयोग गर्न सकिने उनको सुझाव छ ।

एउटा छुट्टै सुरुङ निर्माण गरेर पानीलाई अर्को दिशातर्फ निकास दिन सकिने सम्भावनातर्फ पनि महानगरपालिकाले ध्यान दिनुपर्ने उनले बताए । श्रेष्ठले पछिल्ला बाढीपहिरोका घटनालाई जलवायु परिवर्तनसँग जोड्दै नेपालले यसको असर गम्भीर रूपमा भोगिरहेको बताए । विकास आवश्यक भएपनि वातावरणीय प्रभावलाई बेवास्ता गरेर हुने अव्यवस्थित विकासले समस्या थपिएको उनको भनाइ छ । रसुवा भोटेकोशी, सोलुखुम्बुको थामेमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै उनले त्यहाँ बस्ती र होटलसहितको क्षेत्र नै बगाएको घटनाले भविष्यमा हिमताल फुट्ने जोखिमप्रति शतर्क हुनुपर्ने देखाएको बताए । हिमालमा रहेका हिमतालहरू फुट्ने सम्भावना रहेकाले नेपालका हिमाली तथा पहाडी क्षेत्रमा रहेका शहर र बस्तीको सुरक्षाबारे गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ छ । उनले विश्वव्यापी औद्योगिकीकरण र त्यसबाट बढेको ग्लोवल वार्मिङको असर नेपालजस्ता मुलुकले भोग्नुपरेको बताए । भारत, चीन र अमेरिकालगायतका मुलुकमा बढेको औद्योगिक गतिविधिले विश्वव्यापी तापक्रम वृद्धिमा योगदान पुर्याएको र त्यसको असर नेपालीले समेत भोग्नुपरेको उनको भनाइ छ ।

उनले भने, ‘कानूनी राज्य बन्नुपर्छ र कानूनको पालना हुनुपर्छ । त्यसका लागि यहाँहरूले सही काम गर्नुभएको छ, त्यसमा कुनै पश्चात्ताप गर्नुपर्दैन । बाढीपहिरोपछि एउटा कुरा मनमा आयो। सोलुखुम्बुको थामेमा आएको बाढीले त्यहाँको बस्ती नै बगायो । म पनि त्यहाँ गएको छु । होटलहरू र मानिसहरूको बाक्लो बस्ती भएको ठाउँ एकैछिनमा तहसनहस भएको दृश्य कल्पना गर्न पनि गाह्रो हुन्छ । जलवायु परिवर्तन र ग्लोबल वार्मिङको असर संसारभरि देखिन थालेको छ । विकास आवश्यक छ, तर त्यो व्यवस्थित र वातावरणमैत्री हुनुपर्छ। अत्यधिक औद्योगिकीकरण र वातावरण विनाशको असर अन्ततः नेपालजस्ता देशले पनि भोग्नुपरेको छ । नेपालमा हिमताल फुट्ने जोखिम पनि छ । त्यसैले भविष्यमा आउन सक्ने विपद्बाट जोगिन हामी अहिले नै सतर्क र पूर्वतयारी अवस्थामा रहनुपर्छ । काठमाडौं उपत्यका पनि जोखिममुक्त छैन । यहाँ ठूलो जनघनत्व छ र धेरै ठाउँबाट पानी आएर अन्ततः चोभारतर्फ निकास हुन्छ । चोभारको निकास क्षमता पर्याप्त नभए ठूलो विपद् निम्तिन सक्छ । त्यसैले महानगरपालिकालाई एउटा सुझाव दिन चाहन्छु–चोभारको जोखिम कम गर्न वैकल्पिक पानी निकासका लागि सुरुङ निर्माणको सम्भावनाबारे पनि अध्ययन गरौँ । अहिले विभिन्न ठाउँमा लामो सुरुङहरू निर्माण भइरहेका छन् । त्यस्तै कुनै वैकल्पिक निकासको व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा पनि ध्यान दिन आवश्यक छ । चोभारमा मात्रै निर्भर हुँदा भविष्यमा समस्या आउन सक्छ । त्यसैले सम्भावित विपद् आउनुअघि नै वैकल्पिक उपाय खोज्नु बुद्धिमानी हुन्छ ।’

श्रेष्ठले कानूनी राज्यको आवश्यकतामा पनि जोड दिए । कानूनको पालना गराउने क्रममा महानगर प्रहरीले सही काम गरेको भन्दै उनले त्यसका लागि पश्चात्ताप गर्नुपर्ने अवस्था नरहेको बताए ।