‘तिनीहरू’ ओस्कारका लागि नेपालको आधिकारिक प्रवेश, प्रधानमन्त्री शाहद्वारा बधाई

Sep 13, 2026 02:29 PM Merolagani



अबिनाश विक्रम शाह निर्देशित नेपाली चलचित्र ‘तिनीहरू ‘एलिफेन्ट इन द फग’ ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार) का लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ।

चलचित्र ओस्कारका लागि छनोट भएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत चलचित्रका निर्देशकसहित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न लागेको चलचित्रले नेपाली सिनेमाको पहिचानलाई विश्वस्तरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

उनले चलचित्रको आगामी ओस्कार यात्राका लागि शुभकामना दिँदै अहिले ‘तिनीहरू’ देशभर दोस्रो सातामा प्रदर्शनरत रहेको समेत उल्लेख गरेका छन्।

ओस्कारको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्ने गरी छनोट भएको ‘तिनीहरू’ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ थप चिनाउने अपेक्षा गरिएको छ।