चिनीको अभाव नरहेको र प्रतिकेजी ११० रुपैयाँमै खरिद गर्न सकिने सरकारको दाबी

Sep 16, 2026 05:36 PM Merolagani



सरकारले बजारमा चिनीको अभाव नरहेको जनाएको छ ।

बाढीपहिरो, पृथ्वी राजमार्ग अवरुद्ध तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको कारण चाडपर्वमा चिनीको अभाव हुने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा पर्याप्त चिनी उपलब्ध रहेको जनाएको हो ।

विभागले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी सर्वसुलभ रूपमा बिक्री–वितरण भइरहेको उल्लेख छ । विभागका अनुसार उपभोक्ताले आवश्यकताअनुसार सहज रूपमा चिनी खरिद गर्न सक्ने अवस्था रहेको छ ।

विभागका अनुसार बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कुरिनटार खण्डमा पहिरो गई सडक अवरुद्ध भएको तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएका कारण चाडपर्वका बेला बढी खपत हुने अत्यावश्यक खाद्य वस्तु चिनीको अभाव हुने भन्दै विभिन्न सञ्चारमाध्यमबाट समाचार तथा सूचना सार्वजनिक भएका थिए ।

त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीको अध्यक्षतामा २०८३ असार ३० गते सरोकारवालासँग बैठक बसेको विभागले जनाएको छ । बैठकमा चिनीको आपूर्ति, बजारको अवस्था तथा सम्भावित अभावबारे छलफल गरिएको थियो ।

बैठकपछि गरिएको बजार अनुगमन तथा आपूर्ति अवस्थाको अध्ययनका आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट चिनी बिक्री भइरहेको विभागले जनाएको छ । ती बिक्री केन्द्रमा प्रतिकेजी ११० रुपैयाँका दरले चिनी बिक्री–वितरण भइरहेको विभागको दाबी छ ।

विभागले चिनीको आपूर्ति सहज र पर्याप्त रहेको अवस्थामा उपभोक्ताले अनावश्यक रूपमा चिनी सञ्चय गर्न आवश्यक नरहेको जनाएको छ । चाडपर्वलाई लक्षित गरी उपभोक्ताले आवश्यकता भन्दा बढी चिनी खरिद गर्दा कृत्रिम अभाव तथा बजारमा मूल्य बढ्ने अवस्था सिर्जना हुन सक्ने भएकाले विभागले संयम अपनाउन आग्रह गरेको छ ।

सरकारले बजारमा चिनीको आपूर्ति तथा मूल्य अवस्थालाई नजिकबाट नियमन गरिरहेको पनि विभागले जनाएको छ । चिनीको बिक्री–वितरणमा अस्वाभाविक मूल्य वृद्धि, कृत्रिम अभाव वा कालोबजारी भएको पाइएमा सम्बन्धित निकायले अनुगमन तथा कारबाही गर्ने जनाएको छ ।

विशेषगरी चाडपर्व नजिकिँदै गर्दा चिनी, खाने तेल, दाल, चामललगायत अत्यावश्यक खाद्य वस्तुको माग बढ्ने गर्छ । यही समयमा आपूर्ति प्रणालीमा अवरोध आएर अभाव हुन सक्ने भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला विभागले भने हालको अवस्थालाई आपूर्ति पर्याप्त रहेको भन्दै स्पष्ट पारेको हो ।

विभागले उपभोक्तालाई बजारमा चिनी सहज रूपमा उपलब्ध रहेकाले अनावश्यक सञ्चय नगर्न अनुरोध गरेको छ । साथै, व्यवसायीलाई पनि तोकिएको मूल्य तथा प्रचलित कानुनअनुसार चिनी बिक्री–वितरण गर्न आग्रह गरेको छ ।

विभागको पछिल्लो स्पष्टोक्तिअनुसार काठमाडौं उपत्यकामा अहिले चिनीको आपूर्ति सहज रहेको र प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको छ । विभागले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।