पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। एप सञ्चालनमा आएसँगै उपत्यकाका नागरिकले संघीय सडकअन्तर्गत पर्ने बिग्रिएका सडक, सडकको अवस्था तथा मर्मतसम्बन्धी समस्या र सुझाव मोबाइल एपमार्फत सम्बन्धित निकायमा पठाउन सक्ने भएका छन्।
एपमा दर्ता गरिएको गुनासोको अवस्था तथा समाधान प्रक्रियासमेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। सम्बन्धित निकायबाट गुनासो सम्बोधन भएपछि त्यसको जानकारी पनि एपमार्फत नै उपलब्ध हुनेछ।
हाल ‘सडक सुझाव एप’मार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करिब ४७२ किलोमिटर सडकसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिने सडक डिभिजन काठमाडौंले जनाएको छ।
संघीय सडकको क्षेत्राधिकारमा नपर्ने सडकका सम्बन्धमा समेत एपले नागरिकलाई जानकारी दिने व्यवस्था गरिएको छ। त्यस्ता सडक कुन निकायको जिम्मेवारीमा पर्छन् भन्ने विवरणसमेत एपमार्फत उपलब्ध गराइनेछ।
सडक मर्मतसम्बन्धी गुनासो दर्ता गर्ने र त्यसको प्रगति जानकारी लिन सहज हुने भएकाले एपले सडक व्यवस्थापनमा नागरिकको प्रत्यक्ष सहभागिता बढाउने अपेक्षा गरिएको छ।
एपको सेवा काठमाडौंमा मात्रै सीमित नराखी क्रमशः उपत्यकाका अन्य जिल्लामा विस्तार गर्ने तयारी गरिएको छ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेत एपमा समावेश गर्ने योजना रहेको छ।
त्यसपछि एपलाई क्रमशः देशभर विस्तार गरी संघीय सडकसँग सम्बन्धित गुनासो तथा सुझाव व्यवस्थापनका लागि देशव्यापी डिजिटल प्रणालीका रूपमा विकास गर्ने तयारी गरिएको छ।