भारतका बैंकमा सीईओको खडेरी

Sep 17, 2026 04:15 PM Merolagani



भारत विश्वलाई ठूलो संख्यामा दक्ष बैंक तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता उपलब्ध गराउने देशका रूपमा चिनिन्छ।

विश्वका ठूला वित्तीय संस्थाहरूमा भारतीय मूलका व्यक्तिहरू नेतृत्वमा पुगेका छन्। तर अहिले भारतकै ठूला निजी बैंकहरूमा भने योग्य प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोज्न कठिन हुन थालेको छ।

यो विरोधाभास अहिले भारतीय बैंकिङ क्षेत्रमा चर्चाको विषय बनेको छ। ब्लुमबर्गको पछिल्लो विश्लेषणअनुसार भारतका बैंकहरूमा सामान्य बैंकिङ प्रतिभाको अभाव छैन, तर अर्बौं डलरको सम्पत्ति र ठूलो संस्थागत संरचना सञ्चालन गर्न सक्ने “समग्र नेतृत्वकर्ता” को समूह भने साँघुरो भएको छ । विशेषगरी एचडीएफसी बैंक र कोटक महिन्द्रा बैंकको पछिल्लो नेतृत्व परिवर्तनले यो समस्या सतहमा ल्याएको छ। 

१७ बैंक तथा वित्तीय संस्थामा सीईओ परिवर्तन

यो समस्या कति गम्भीर छ भन्ने बुझ्न एउटा तथ्य महत्त्वपूर्ण छ।  स्पेन्सर स्टुअर्टको अध्ययनअनुसार जुन २०२६ सम्मको ३० महिनामा भारतका ३० प्रमुख निजी बैंक तथा गैरबैंकिङ वित्तीय संस्थामध्ये १७ वटाले सीईओ परिवर्तन गरेका छन्।

अझ रोचक कुरा, ती नियुक्तिमध्ये करिब ६० प्रतिशत बाहिरबाट ल्याइएका व्यक्ति थिए। अर्थात् बैंकभित्रै अर्को पुस्ताको नेतृत्व तयार पार्ने प्रक्रिया पर्याप्त बलियो नभएको संकेत यसले दिन्छ।  यसले भारतको बैंकिङ क्षेत्रमा एउटा गम्भीर प्रश्न जन्माएको छ—यति धेरै प्रतिभाशाली बैंक कर्मचारी हुँदाहुँदै आफ्नै संस्थाबाट अर्को सीईओ किन तयार हुन सकेनन्  ? 

एचडीएफसी र कोटक महिन्द्रा बैंकमा बैंकको घटनाले समस्या छर्लङ्ग पार्‍यो

भारतको सबैभन्दा ठूलो निजी बैंक एचडीएफसी बैंक अहिले नयाँ सीईओ खोजिरहेको छ। तीन दशकभन्दा बढी समय बैंकमा बिताएका शशिधर जगदीशनले अगस्ट २९ मा आफ्नो कार्यकाल सकिएपछि पुनःनियुक्ति नलिने घोषणा गरे। त्यसपछि बैंकले नयाँ नेतृत्व खोज्ने प्रक्रिया तीव्र बनाएको छ।

भारतीय रिजर्भ बैंकको नियमअनुसार बैंकले सीईओ नियुक्ति वा पुनर्नियुक्तिका लागि उम्मेदवारको नाम कार्यकाल सकिनुभन्दा कम्तीमा छ महिना अगाडि पेश गर्नुपर्ने हुन्छ। एचडीएफसी बैंकको पछिल्लो आकस्मिक परिस्थितिले यो प्रक्रियामा दबाब सिर्जना गर्‍यो।

एचडीएफसी मात्र होइन, कोटक महिन्द्रा बैंक पनि नेतृत्व परिवर्तनको प्रक्रियामा छ। वर्तमान सीईओ अशोक वासवानीले डिसेम्बरमा पद छाड्ने घोषणा गरेका छन् । उनी आफैं भारतबाट नभई विश्वव्यापी वित्तीय क्षेत्रमा लामो अनुभव बोकेर आएका व्यक्ति हुन् ।

यसअघि बैंकका संस्थापक उदय कोटकले नेतृत्व छाडेपछि वासवानीलाई बाहिरबाट ल्याइएको थियो । अब फेरि बैंकले नयाँ नेतृत्व खोज्नुपरेको छ। यसरी भारतका ठूला निजी बैंकमा लगातार नेतृत्व परिवर्तन हुन थालेपछि प्रश्न केवल नयाँ सीईओ को ?  भन्नेमा सीमित छैन।

प्रश्न हो—अर्को पुस्ताको सीईओ किन बैंकभित्रैबाट तयार भएन ?

भारतसँग बैंकिङ प्रतिभाको कमी छैन। तर समस्या यस्तो देखिन्छ— प्रतिभा धेरै छ, तर ठूलो बैंकको सम्पूर्ण जिम्मेवारी सम्हाल्न तयार पारिएको नेतृत्वको संख्या कम छ।

एक बैंकमा ऋण विभाग राम्रोसँग चलाउनु र १०० अर्ब डलरभन्दा बढी मूल्यको बैंकको सम्पूर्ण व्यवसाय, जोखिम, प्रविधि, नियमन, मानव संसाधन र रणनीति सम्हाल्नु फरक कुरा हो।

समस्या “विशेषज्ञ” धेरै, “समग्र नेता” कम

भारतीय कर्पोरेट सल्लाहकार श्रीनाथ श्रीधरनले भारतमा दक्ष बैंकर्सको संख्या प्रशस्त भए पनि सम्पूर्ण संस्था सञ्चालन गर्न तयार पारिएका नेतृत्वकर्ता कम भएको बताएका छन्। उनको विश्लेषणअनुसार बैंकहरूले उत्कृष्ट विशेषज्ञहरू त तयार गरेका छन्, तर सम्पूर्ण संस्थाको नेतृत्व गर्ने क्षमताको विकासलाई संस्थागत रूपमा निरन्तर अघि बढाउने अभ्यास तुलनात्मक रूपमा कमजोर रह्यो। 

पुरानो पुस्ताका बैंक प्रमुख धेरै लामो

भारतीय रिजर्भ बैंकले बैंकका सीईओका लागि ७० वर्षको अधिकतम उमेर र १५ वर्षसम्मको अधिकतम कार्यकालसम्बन्धी सीमा राखेको छ। यसको उद्देश्य एउटै व्यक्तिको हातमा बैंकको नेतृत्व अत्यधिक लामो समय केन्द्रित हुन नदिनु र संस्थागत सुशासन बलियो बनाउनु हो।

जब सीईओले १५–२० वर्षसम्म नेतृत्व गरिरहन्छन्, उनीभन्दा तलका वरिष्ठ अधिकारीलाई शीर्ष पदमा पुग्ने अवसर ढिलो हुन सक्छ। कुनै प्रतिभाशाली कार्यकारी ४० वर्षको उमेरमा सीईओ बन्ने सम्भावना देख्दैन भने ऊ अर्को कम्पनी वा अर्को क्षेत्रमा जान सक्छ। यही कारण अहिलेको नेतृत्व अभावको एउटा जड लामो समयसम्म नेतृत्वको शीर्ष तहमा सीमित अवसर रहनु पनि भएको उद्योगका जानकारहरूको भनाइ छ। 

प्रतिभा बैंक छाडेर फिनटेक र गैरबैंकिङ क्षेत्रमा गयो

भारतको वित्तीय क्षेत्र अहिले बैंकमा मात्र सीमित छैन । फिनटेक कम्पनी, गैरबैंकिङ वित्तीय कम्पनी, सम्पत्ति व्यवस्थापन कम्पनी, निजी लगानी कम्पनी र डिजिटल वित्तीय सेवाले पनि उच्च दक्ष कर्मचारीलाई आकर्षित गरिरहेका छन् । यसले बैंकका लागि प्रतिस्पर्धा बढाएको छ। अर्थात् २० वर्षअघि उत्कृष्ट बैंक कर्मचारीसँग विकल्प सीमित थिए । अहिले विकल्प धेरै छन् ।

अब अर्को रोचक कारण आउँछ—सीईओको पारिश्रमिक।

भारतीय निजी बैंकका प्रमुख कार्यकारीको पारिश्रमिक अन्य वित्तीय क्षेत्रमा काम गर्ने समान तहका अधिकारीको तुलनामा नियमनबाट बढी प्रभावित हुन्छ। भारतीय रिजर्भ बैंकले बैंकका उच्च अधिकारीको पारिश्रमिक र प्रोत्साहनमा कडा नियम राखेको छ।  तर गैरबैंकिङ वित्तीय संस्था, निजी लगानी कम्पनी वा केही फिनटेकमा त्यस्तो सीमा तुलनात्मक रूपमा फरक हुन सक्छ। त्यसैले उत्कृष्ट नेतृत्वकर्ताका लागि प्रश्न उठ्छ—बैंकमै बसेर शीर्ष पदको सीमित पारिश्रमिक लिने कि अन्य वित्तीय क्षेत्रमा बढी आर्थिक अवसर खोज्ने ?

थोरै व्यक्ति तानातानमा

भारतमा सीईओ खोज्ने अवस्था कति साँघुरिएको छ भन्ने देखाउने अर्को तथ्य पनि सार्वजनिक भएको छ। उद्योग स्रोतका अनुसार गत वर्ष दुईवटा निजी बैंक एउटै उम्मेदवारलाई सीईओ बनाउन खोजिरहेका थिए। अर्थात् बजारमा हजारौँ दक्ष बैंक कर्मचारी भए पनि शीर्ष तहमा पुग्न सक्ने अनुभव, नियामकीय स्वीकृति र ठूलो संस्था सञ्चालन गरेको प्रमाण भएका व्यक्तिको संख्या निकै कम छ।

 

 

 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।