प्रतिनिधिसभाको अर्थ समितिमा धारणा राख्दै नेप्से नेतृत्वले बजारको पुनर्संरचना तथा प्रविधि सुधारलाई प्राथमिकतामा राखिएको जनाएको हो।
नेप्सेका अनुसार धितोपत्र बजारको फ्रन्टलाइन रेगुलेटर तथा ट्रेडिङ प्लेटफर्म सञ्चालकका रूपमा नेप्सेले आफ्ना काम नियमित र प्रतिबद्धतापूर्वक अघि बढाइरहेको छ। हाल इक्विटी, म्युचुअल फन्ड, डिबेन्चर, ओटीसी मार्केट, मार्जिन कारोबार तथा ‘आफ्टर मार्केट अर्डर’ लगायतका सुविधा सञ्चालनमा छन्।
नेप्सेको अनलाइन प्रणालीको स्वामित्व नेप्सेकै
नेप्से नेतृत्वले अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) को पूर्ण स्वामित्व नेप्सेकै रहेको स्पष्ट पारेको छ। सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पूरा गरी खरिद गरिएको यसको सोर्स कोड तथा सञ्चालनसम्बन्धी अधिकार नेप्सेको सम्पत्तिका रूपमा रहेको बताइएको छ।
ब्रोकरहरूलाई प्रणालीमा जोडिन आवश्यक लगइन र पासवर्ड उपलब्ध गराइने भएकाले ट्रेड म्यानेजमेन्ट सिस्टम सञ्चालन तथा त्यससँग सम्बन्धित पूर्वाधार व्यवस्थापनको मुख्य जिम्मेवारी ब्रोकरकै हुने नेप्सेले जनाएको छ।
पछिल्लो समय एक दिन कारोबार रोकिएको घटनाबारे पनि नेप्सेले स्पष्टीकरण दिएको छ। उक्त समस्या नेप्से वा एनओटीएसको प्रणालीगत समस्या नभई एक ब्रोकरको डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण कारोबार प्रभावित भएको नेप्से नेतृत्वले जनाएको छ।
यस्ता समस्या आगामी दिनमा दोहोरिन नदिन ब्रोकरहरूसँग छलफल भइरहेको र डेटा सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगरिने प्रतिबद्धता पनि नेप्सेले जनाएको छ।
एआईबाट बजार निगरानी गर्ने तयारी
नेप्सेले बजार निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको जनाएको छ। हाल नेप्सेले नियमित रूपमा अनसाइट तथा अफसाइट सर्भिलेन्स गर्दै आएको र प्रत्येक त्रैमासमा त्यसको प्रतिवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाउने गरेको बताइएको छ।
लगानीकर्ता वा क्लाइन्टलाई प्रत्यक्ष कारबाही गर्ने कानुनी अधिकार नेप्सेसँग नभएकाले सर्भिलेन्सका क्रममा देखिएका विषय आवश्यक कारबाहीका लागि सेबोनमा पठाउने गरिएको नेप्से नेतृत्वले स्पष्ट पारेको छ।
प्रविधि र बजार निगरानी प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सूचना प्रविधि जनशक्ति थप्ने प्रक्रिया पनि अघि बढाइएको छ। त्यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सुरु भइसकेको नेप्सेले जनाएको छ।
मंसिरभित्र फ्लोट सेयरमा आधारित सूचकांक
अर्थ मन्त्रालय र सेबोनको निर्देशनअनुसार मंसिर मसान्तभित्र फ्लोट सेयरका आधारमा बेन्चमार्क इन्डेक्स गणना गर्ने काम सम्पन्न गरिने नेप्सेले जनाएको छ।
धितोपत्र बजारमा नयाँ वित्तीय उपकरण तथा इन्स्ट्रुमेन्ट ल्याउने विषय नीतिगत व्यवस्थासँग जोडिएकाले सेबोन र अर्थ मन्त्रालयबाट तय गरिएका नीति तथा निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न नेप्से प्रतिबद्ध रहेको नेतृत्वले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेप्से पुनर्संरचना गर्ने तयारी
नेप्सेको पुनर्संरचनाका विषयमा विगतमा पटक–पटक अध्ययन तथा प्रतिवेदन बने पनि त्यसअनुसार व्यावहारिक काम अघि बढ्न नसकेको नेप्से नेतृत्वले स्वीकार गरेको छ।
अब भने नेप्सेको पुनर्संरचना तत्काल अघि बढ्ने र त्यसबाट संस्थाको कार्यविधि थप व्यवस्थित तथा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। पुनर्संरचनापछि नेप्सेको प्रणाली तथा कार्यप्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको दाँजोमा पुर्याउन सकिने नेतृत्वको भनाइ छ।
नेप्सेले लगानीकर्तालाई आफ्नो लगइन तथा पासवर्ड सुरक्षित राख्न र ब्रोकरहरूलाई समेत आफ्नो प्राविधिक तथा डेटा पूर्वाधार थप सुदृढ बनाउन आग्रह गरेको छ।