होर्मुज संकटबीच भारतको तेल आयात रणनीति बदलियो, जोखिम अरूलाई होइन, अब रिफाइनरी आफैंले उठाउने

Oct 01, 2026 05:26 PM Merolagani



विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलमार्गमा लामो समयदेखि जारी संकटपछि भारतका ठूला तेल प्रशोधक कम्पनीहरूले अहिले आफ्नो खरिद रणनीति फेरि परिवर्तन गरेका छन् । 

उनीहरू फारसको खाडीबाट कच्चा तेल ल्याउन आफैं जहाज तथा ट्यांकर भाडामा लिन थालेका छन् । यसअघि जोखिमपूर्ण होर्मुज मार्गमा आफ्ना जहाज पठाउन हिचकिचाएका भारतीय रिफाइनरीहरूले अहिले परिस्थितिमा केही सुधार आएपछि ढुवानीको जिम्मेवारी आफैं लिन थालेका हुन् ।

भारतीय तेल निगम, रिलायन्स इन्डस्ट्रिज, भारत पेट्रोलियम र एचपीसीएल–मित्तल इनर्जीले इराकी कच्चा तेल ‘जहाजसहितको खरिद’ होइन, ‘खरिदकर्ताले आफैं जहाजको व्यवस्था गर्ने’ ढाँचामा लिन थालेका छन्। यसको अर्थ कच्चा तेलको मूल्य मात्र होइन, जहाज, बीमा, ढुवानी र जोखिमको व्यवस्थापन पनि अब खरिदकर्ताले आफैं सम्हाल्नेछ । यही परिवर्तनलाई भारतको पछिल्लो ऊर्जा रणनीतिको महत्त्वपूर्ण मोडका रूपमा हेर्न सकिन्छ।

भारत विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा उपभोक्ता हो । उसको अर्थतन्त्र उद्योग, यातायात, कृषि, हवाई सेवा र दैनिक उपभोगका लागि आयातित इन्धनमा ठूलो मात्रामा निर्भर छ ।समस्या के हो भने भारतले आयात गर्ने कच्चा तेलको ठूलो हिस्सा मध्यपूर्वबाट आउँछ र होर्मुज जलमार्ग मध्ये त्यसको प्रमुख ढुवानी मार्ग हो । एस एन्ड पी ग्लोबलका अनुसार होर्मुज संकट सुरु हुँदा भारतको आधाभन्दा बढी कच्चा तेल आयात यही मार्गसँग प्रत्यक्ष रूपमा जोडिएको थियो । संकटपछि भारतीय रिफाइनरीहरूले मध्यपूर्वबाट आउने तेल घट्दा रातारात आफ्नो खरिदको ढाँचा परिवर्तन गर्नुपरेको थियो । त्यसैले होर्मुज भारतका लागि केवल एउटा भौगोलिक जलमार्ग होइन। यो भारतको अर्थतन्त्रको ऊर्जा धमनी हो। यसमा समस्या आएपछि त्यसको असर पेट्रोल पम्पदेखि हवाई इन्धन, डिजेल, ग्यास र उद्योगसम्म पुग्न सक्छ।

भारतले पहिलोपटक के गर्यो ?

संकट सुरु भएपछि भारतीय रिफाइनरीहरूले एउटै स्रोतमा निर्भर रहने जोखिम घटाउन थाले। रुसबाट कच्चा तेलको खरिद बढ्यो। ल्याटिन अमेरिका, ब्राजिल, भेनेजुएला र अंगोलाबाट पनि कच्चा तेल ल्याउने प्रयास भयो। मध्यपूर्वबाट आउने तेल घट्दा वैकल्पिक स्रोतले खाली ठाउँ भर्न थाले।

अप्रिलदेखि जुन २०२६ सम्म भारतको मध्यपूर्वबाट हुने कच्चा तेल आयात करिब २७ प्रतिशत घटेर दैनिक १५ लाख ५० हजार ब्यारेलमा झरेको थियो। त्यही अवधिमा रुस तथा अन्य स्वतन्त्र राष्ट्र समूहबाट आउने आयात दैनिक २२ लाख ६० हजार ब्यारेल पुगेको थियो।

जुन महिनामा भारतको रुसी तेल आयात दैनिक २६ लाख ४० हजार ब्यारेल पुगेको थियो, जुन उसको कुल कच्चा तेल आयातको करिब आधा थियो। अर्थात् संकटले भारतलाई एउटा कुरा सिकाय—सस्तो तेल कहाँ पाइन्छ भन्ने मात्र होइन, संकटमा तेलको स्रोत कति छिटो बदल्न सकिन्छ भन्ने कुरा पनि ऊर्जा सुरक्षाको हिस्सा हो।

होर्मुज हुँदै तेलको प्रवाह पछिल्ला महिनामा केही सुधार भएको छ । साउदी अरबको पूर्व–पश्चिम पाइपलाइन पनि सञ्चालनमा आएको छ। जेपी मोर्गनको पछिल्लो आकलन उद्धृत गर्दै टाइम्स अफ इन्डियाले मध्यपूर्वबाट हुने कच्चा तेल ढुवानी युद्धअघिको स्तरको करिब ९८ प्रतिशतसम्म फर्किएको जनाएको छ। यसले भारतीय रिफाइनरीलाई फेरि मध्यपूर्वको कच्चा तेलतर्फ आकर्षित गरेको छ। तर यसपटक उनीहरूको रणनीति पहिलेको जस्तो छैन। पहिले तेल बेच्ने पक्ष वा अन्तर्राष्ट्रिय व्यापारिक कम्पनीले जहाजको व्यवस्था गथ्र्यो। अहिले भारतीय खरिदकर्ता आफैं जहाज खोज्दैछन्।

यसलाई सामान्य व्यापारिक निर्णयजस्तो देखिए पनि यसको अर्थ ठूलो छ। तेलको अन्तिम लागतमा कच्चा तेलको मूल्यसँगै ढुवानी, बीमा, जोखिम र जहाजको भाडा जोडिन्छ। खरिदकर्ताले आफैं जहाजको व्यवस्था गर्न सकेमा यी लागतमा प्रत्यक्ष नियन्त्रण बढ्छ। अझ महत्त्वपूर्ण कुरा—संकटमा आपूर्ति शृंखलामाथिको नियन्त्रण पनि बढ्छ।

इराकी तेलमा किन विशेष ध्यान ?

भारतीय रिफाइनरीहरूको पछिल्लो रणनीतिमा इराकी तेल विशेष रूपमा देखिएको छ। इराकको सरकारी तेल बिक्री कम्पनीले अक्टोबरका लागि केही अनुबन्धित आपूर्तिमा क्षेत्रीय मूल्य सूचकको तुलनामा प्रतिब्यारेल ३७ डलरसम्म छुट दिएको विवरण छ। यही मूल्य अन्तरले भारतीय रिफाइनरीलाई जोखिम लिएर पनि कच्चा तेल उठाउनेतर्फ आकर्षित गरेको हुन सक्छ। होर्मुज संकट सुरु हुँदा भारतको तेल आपूर्ति प्रणालीमाथि ठूलो दबाब परेको थियो। तर भारतले वैकल्पिक आपूर्तिकर्ता खोजेर आफ्नो जोखिम घटायो।

भारतीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीकाअनुसार भारत अहिले ४१ भन्दा बढी देशबाट कच्चा तेल आयात गरिरहेको छ, जबकि संकटअघि यस्तो स्रोतको संख्या करिब २७ थियो। भारतले आफ्नो घरेलु प्रशोधन क्षमता पनि बढाउँदै लगेको छ । आफ्नै प्रशोधन क्षमता विस्तार गर्दैछ। वैकल्पिक समुद्री मार्ग खोजिरहेको छ। रणनीतिक भण्डारणको आवश्यकता महसुस गरिरहेको छ। र अहिले त आफ्नै जहाजमार्फत तेल उठाउने व्यापारिक क्षमता पनि विस्तार गर्दैछ।

यसलाई भारतको ऊर्जा सुरक्षाको महत्वपूर्ण रणनीति मान्न सकिन्छ। किनभने एउटा देशबाट तेल नआए अर्को देश, एउटा समुद्री मार्ग बन्द भए अर्को मार्ग, एउटा आपूर्तिकर्ताले मूल्य बढाए अर्को आपूर्तिकर्ता। संकटको समयमा विकल्प नै शक्ति हो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।