विस्तारै बढ्दै लगानीकर्ताको आत्मविश्वास

Oct 14, 2026 05:35 AM Merolagani



लामो समयदेखि साइडवेजमा रहेको शेयर बजारले विस्तारै सकारात्मक गति समात्न थालेको छ। पछिल्ला कारोबार दिनमा नेप्से परिसूचकमा सामान्य सुधार देखिन थालेको हो।

बजारले ठूलो अंकको उछाल लिन नसके पनि लगातारको झिनो वृद्धिले लगानीकर्तामा आशा जगाउन थालेको छ। यद्यपि, नेप्से परिसूचक २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल रहेकाले बजारमा अझै स्पष्ट सुधारको संकेत भने देखिएको छैन।

पछिल्ला चार कारोबार दिनको प्रवृत्ति हेर्दा बजारमा सामान्य सुधार देखिएको हो। गत बिहीबार नेप्से परिसूचक २.३१ अंकले बढेको थियो। त्यसपछि शुक्रबार बजार १७.१५ अंकले उकालो लाग्यो। सोमबार परिसूचकमा चार अंक र मंगलबारको बजारमा पनि बजार ४.१२ अंकले बढेर बन्द भएको छ। यसले खरिदकर्ताको उपस्थिति विस्तारै बढ्न थालेको संकेत गरेपनि ठूलो अंकको वृद्धिका लागि बलियो माग बजारमा अझै आउन सकेको छैन।

 

 

लामो समयसम्म बजार एउटै सीमाभित्र घुमिरहनु, लगानीकर्ताको कमजोर मनोबल र चाडपर्व नजिकिँदै जानुले कारोबारमा अपेक्षित उत्साह आउन नसकेको लगानीकर्ताहरूको बुझाइ छ। बजारमा लगानीकर्ताको सहभागिता बढ्न नसक्दा खरिदबिक्रीमा ठूलो चाप सिर्जना हुन सकेको छैन। त्यसैले परिसूचकमा सामान्य उतारचढाव देखिए पनि बजारले बलियो दिशा लिन नसकेको हो।

पछिल्लो समय बजारमा देखिएको मनोवैज्ञानिक दबाब विस्तारै कम हुन थालेको छ। नेपाल धितोपत्र बोर्डले शेयर बिक्री गर्नुअघि आधारभूत शेयरधनीले १५ दिनअघि सूचना दिनुपर्ने व्यवस्थामा संशोधन गरेपछि बजारको मनोभावनामा केही सुधार हुन सुरु भएको लगानीकर्ता विनय भट्टराईले बताए। बजारमा सुधारका लागि आवश्यक नीतिगत आधार तयार हुँदै गएको छ।

बजारमा सुधारका लागि नीतिगत वातावरणसँगै वित्तीय स्रोतको बन्दै जानेमा लगानीकर्ताहरुले विश्वास गरेका छन्। अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र ब्रोकर कम्पनीमार्फत मार्जिन कारोबार सुविधा उपलब्ध हुन थालेको छ। मार्जिन कारोबार सुविधाले योग्य लगानीकर्तालाई शेयर धितोमा राखेर थप लगानी गर्ने अवसर दिएको हुन्छ।

भट्टराईका अनुसार बजारमा अहिले देखिएको झिनो सुधारले लगानीकर्ताको मनोबल विस्तारै बढाउन सक्छ। लगातारको गिरावटपछि बजारमा प्रवेश गर्न हिचकिचाइरहेका लगानीकर्ताले परिसूचकमा सुधार देखिन थालेपछि पुनः खरिदबिक्रीमा रुचि देखाउने उनकाे भनाइ छ। अहिले धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ। त्यसैले पनि बजारले स्पष्ट दिशा लिन नसकेको उनको बुझाई छ।

तर पछिल्ला कारोबार दिनमा लगानीकर्ताको ध्यान कम मूल्यमा उपलब्ध आधारभूत रूपमा बलिया कम्पनीतर्फ केन्द्रित हुन थालेको छ। बजारमा ठूलो अंकको वृद्धि नभए पनि मूल्य घटेका कम्पनीको शेयर खरिद गर्ने अवसर सिर्जना भएको लगानीकर्ताहरूको बुझाइ छ। तर शेयरको मूल्य घट्दैमा कम्पनी सस्तो वा आकर्षक हुन्छ भन्ने निश्चित हुँदैन। तर कम्पनीको वित्तीय अवस्था र प्रतिफल वितरणको अवस्थालाई मध्यनजर गरेर लगानी गर्ने लगानीकर्ता पछुताउनु नपर्ने भट्टराईको भनाइछ।

पछिल्ला दिनमा विशेषगरी बैंकिङ, जीवन बीमा र केही जलविद्युत् कम्पनीका शेयरमा विस्तारै सुधार देखिन थालेको छ। यी क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दै जानुले बजारमा क्षेत्रगत रूपमा खरिद चाप सिर्जना हुन थालेको भट्टराईकाे भनाइ छ। लाभांश दिने सम्भावना भएका कम्पनीतर्फ पनि लगानीकर्ताको आकर्षण बढेको छ। दशैंअघिका कारोबार दिनमा बजार सुस्त रहेपनि चाडपर्वपछि बजारले थप गति लिन सक्ने सम्भावना छ।

नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि नीतिगत व्यवस्था परिमार्जन गर्ने क्रमलाई पनि लगानीकर्ताले महत्वका साथ हेरेका छन्। नेप्से परिसूचक २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल रहनु र कारोबारमा ठूलो उत्साह नदेखिनुले बजारको सुधार अझै दवावबाट उठ्न सकेको देखिदैन ।




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।