पश्चिमी वायुको प्रभावका कारण हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Nov 13, 2026 12:37 PM merolagani



नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ ।

तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आज शुक्रबार पनि हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । तराईका अधिकांश स्थानमा भने घाम लाग्ने र मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी, आज देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा मौसममा सामान्य परिवर्तन देखिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।